किन अचेल मर्ने कुरा मात्रै गर्छन् प्रचण्ड ? – Nepal Press
ब्लग

किन अचेल मर्ने कुरा मात्रै गर्छन् प्रचण्ड ?

बिहीबार काठमाडौंमा अखिल क्रान्तिकारीको सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भावुक एवम् पीडित मुद्रामा भने– अब आत्महत्या गर्ने कि फेरि उठ्ने भन्ने दोसाँधमा पुगेको छु ।

उनी भावुक मात्रै भएनन्, भाषणका क्रममा पटक-पटक उत्तेजित र आक्रोशित पनि भए ।

केही साताअघि अर्को एक कार्यक्रममा उनले चिन्ता व्यक्त गरेका थिए– माओको जस्तै मर्नेबेलामा आफूसँग कोही नहुने पो हुन् कि !

यो मात्रै होइन, उनका पछिल्ला भाषण कि त अतिउत्तेजित कि अतिभावुक हुने गरेका छन् । कुनैबेलामा क्रान्तिकारी नेतामा आएको यो अस्थिर मनस्थिति स्वभाविक होइन ।

प्रगतिशील पत्रकार दीपेन्द्र रोकायाले आफ्नो पुस्तक ‘नाफाको जीवन’मा प्रचण्डका सम्भावित चार अवसानबारे विश्लेषणसहित अनुमान गरेका छन् । जहाँ उनले प्रचण्डले आत्महत्या गर्नसक्ने सम्भाबना प्रबल भएको लेखेका छन् ।

माओवादी सशस्त्र द्वन्द्वमा प्रत्यक्ष सहभागी भएका पत्रकार रोकायाले पुस्तकमा लेखेका छन्– प्रचण्डका चार विकल्प छन् जस्तो लाग्छ । एक, उनी संसदीय नेतामात्र हुन्छन् । दुई, हेग पुर्याइने डरले बौद्ध भिक्षु बन्न सक्छन् । तीन, आफ्नो काममा आत्मग्लानि भएर स्वयं आत्महत्या गर्न सक्छन् । चार, क्रान्तिकारी कार्यकर्ता वा जनताको हातबाट मारिन सक्छन् ।’

रोकायाले त्यतिकै यस्तो आँकलन गरेनन् । प्रचण्डसँग प्रत्यक्ष सम्बन्ध र उठबस भएका उनले बुझबुझपूर्ण ढंगमै पुस्तकमा प्रचण्डको अवसानबारे लेखेका होलान् । रोकायाले त्यस्तो लेख्नु र प्रचण्डले अचेल निरन्तर ‘मृत्यु चिन्तन’ गर्नु संयोग मात्रै नहुन सक्छ ।

एमालेभित्र छिरेर ठूलै भाग खान खोजेका प्रचण्डको सपना पूरा भएन । ठूलै भाग लुछेर निस्कने महत्वकांक्षा पूरा नभएपछि उनी नराम्ररी पीडामा परे ।

प्रष्टै छ कि, प्रचण्ड एक अतिमहत्वाकांक्षी नेता हुन् । शिक्षण छाडेर देशको व्यवस्था परिवर्तन गर्ने हिम्मतका साथ युद्धमा होमिनु र नेतृत्व गर्नु चानचुने कुरा थिएन ।

‘बन्दुकको नालबाट सत्ता कब्जा गर्ने’ चरम महत्वकांक्षा बोकेका प्रचण्डले युद्धको नाममा धेरैलाई बलि चढाए । अर्बौंको विकासे संरचना ध्वस्त बनाए । बन्दुकको नालबाट सत्ता कब्जा सम्भव नभएपछि सम्झौतामार्फत् शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्डले संसदलाई हतियार बनाउने चाल चाले । उनी भन्थे– क्रान्तिको स्वरुप मात्रै परिवर्तन भएको हो, सत्ता कब्जाको नीति उहीं छ ।

उनको लहैलहैमा धेरै समयसम्म नेता–कार्यकर्ता लागिरहे । २०६४ सालको संविधानसभा निर्वाचनमा उनको दल सबैभन्दा ठूलो भयो । त्यसपछि उनको महत्वाकांक्षा झन् बढ्यो । भन्थे– अब १० वर्ष कसैले पनि माओवादीलाई नचिहाए हुन्छ । तर, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी नराम्ररी खुम्चियो । त्यसले प्रचण्डलाई ठूलै धक्का दियो ।

त्यसपछि माओवादी कमजोर हुने क्रम झन् बढ्यो । युद्धका सारथि मोहन वैद्य, बाबुराम भट्टराई लगायतका प्रभावशाली नेता माओवादीमा रहन सकेनन् । कुरा समाजवादी गरे पनि तानाशाही स्वभावका प्रचण्डले आफ्नै सहयोद्धालाई टिकाउन नसक्नुको एउटै कारण हो– जहाँ पनि आफैं हाबी हुने, अरुलाई नगन्ने !

२०७४ सालको चुनावमा एमाले र माओवादी गठबन्धन भएपछि धेरै ठाउँमा माओवादीका उम्मेदवारले चुनाव जिते । नत्र, माओवादीले चुनाव जित्ने सुनिश्चित निर्वाचन क्षेत्र नै थिएन भन्दा पनि हुन्छ ।

गठबन्धनबाट धेरै सिट जितेपछि हौसिएका प्रचण्डले एमालेसँग पार्टी एकता नै गरे । कतिले माओवादीलाई एमालेमा मिसाएको भनेर आलोचना गरे । सारमा त्यहीं भए पनि प्राविधिक रुपमा त्यस्तो थिएन । तर, एमालेसँगको एकता प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्तास्वार्थबाट नै प्रेरित थियो । त्यहाँ कुनै विचार, सिद्दान्तको कुरा थिएन ।

एमालेभित्र छिरेर ठूलै भाग खान खोजेका प्रचण्डको सपना पूरा भएन । ठूलै भाग लुछेर निस्कने महत्वकांक्षा पूरा नभएपछि उनी नराम्ररी पीडामा परे ।

यसरी सबैले साथ छाड्दै जाँदा अन्तिममा आफू एक्लै परिने पो हो कि भन्ने चिन्ता प्रचण्डलाई हुनु नौलो होइन ।

माधव नेपालहरुलाई माओवादीमा ल्याउने उद्देश्य त पूरा भएन, भएन– माओवादीका बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट जस्ता नेताले पनि उनको साथ छाडे । अहिले गाउँगाउँमा माओवादीका कार्यकर्ता एकपछि अर्को गर्दै एमालेतिर लागिरहेका छन् ।

यसरी सबैले साथ छाड्दै जाँदा अन्तिममा आफू एक्लै परिने पो हो कि भन्ने चिन्ता प्रचण्डलाई हुनु नौलो होइन ।

परिवारिक रुपमा पनि उनको स्थिति गतिलो छैन । श्रीमती सीताको स्वास्थ्यस्थिति जटिल छ । अल्पायूमै छोराको मृत्यु भयो । न घर–परिवार स्वस्थ्य, न राजनीतिमा सहयोद्धाहरुको साथ ! उनमा दिक्कपना बढ्नु स्वभाविकै हो ।

अतिमहत्वाकांक्षा राखेर, त्यो पूरा नभएपछि मानिसमा निराशा जाग्ने कुरा चिकित्सकहरुले पनि बताउँदै आएका छन् ।

निरन्तर असफल भएको मानसिकताले मनस्थिति अस्थिर बनाउँछ, र चिडचिडाहट बढाउँछ भन्ने गरिन्छ । त्यसैले प्रचण्ड उत्तोजित र भावुक हुनुभन्दा संयमित हुन बढी आवश्यक छ ।

प्रतिक्रिया

3 thoughts on “किन अचेल मर्ने कुरा मात्रै गर्छन् प्रचण्ड ?

  1. यस्तो नेता मर्नु पर्छ यो प्रचण्ड भन्ने ब्यक्ति परिवार वाद हो अहिले मर्नी कुरा पार्टी सानो खुम्चिनु भन्ने हैन उस्को पिडा भनेको कालो धन कसरी सेतो बनाउनी भन्नेमा दिमाग घुमाई राखेको छ अनि बेलाबेलामा भाबुक बन्ने सिकिमको लेण्डुप दोर्जे लाई हेर्नू लेण्डुप दोर्जे ले पनि सिकिम भारत सग मिसाउनी बेला हरेक नाटक गरेको थियो र पुलिस लाई आदेश देको थियो रोटमा कोहि जनता आय भने सजाय दिनु भनेर भने पछि जनता ले धेरै सास्ती भोगनु परेको थियो अहिले प्रचण्ड ले तेस्तै गरि राखेको छ म के बोल्दै छु के बोल्न नहुने हो त्यो उसैलाई थाहा छैन कसरि कालो धन सेतो बनाउ भन्नेमा पागल भयो प्रचण्ड

Leave a Reply to Sushil Cancel reply

Your email address will not be published. Required fields are marked *