प्राविधिकतर्फ सचिव बढुवाका लागि सहसचिव सिग्देलको नाम सिफारिस – Nepal Press

प्राविधिकतर्फ सचिव बढुवाका लागि सहसचिव सिग्देलको नाम सिफारिस

सचिव न्यौपाने अनिवार्य अवकाशमा, युवा मन्त्रालय पनि सचिव विहिन

काठमाडौं । प्राविधिकतर्फ रिक्त रहेको एक सचिव बढुवाका लागि सहसचिव गोपाल सिग्देलको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिले सिग्देलको नाम बढुवाका लागि सिफारिस गरेको हो ।

कार्यसम्पादन र मुल्यांकनका अधारमा एक सचिव बढुवाका लागि ३ जना सहसचिवको नाम बढुवा सिफारिस समितिले सिफारिस गर्ने भएपछि यस पटक भने जेष्ठताका आधारमा सिग्देलको नाम मात्रै सिफारिस भएको बढुवा समितिले जनाएको छ । बिहिबार दिउसो नै मन्त्रिपरिषद् बैठक बोलाइएकाले उक्त बैठकले सिग्देललाई सचिवमा बढुवा गर्नेछ । सिग्देल कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव हुन् ।

सिग्देलको यस अघि ३ पटक सचिव बढुवाका लागि सचिव बढुवा सिफारिस समितिले नाम सिफारिस गरिसकेको छ । सहसचिवबाट सचिवमा बढुवा गर्दा तेस्रो पटकमा सचिवमा बढुवा हुने गरेको भए पनि २ महिना अघिको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले दोस्रो नम्बरमा सिफारिस भएका राजेन्द्रप्रसाद खनाललाई सचिवमा बढुवा गरेको थियो ।

खनाललाई त्यतिबेला सचिवमा बढुवा नगर्दा उनी सहसचिवबाटै अनविार्य अवकाशमा जाने भएकाले उनलाई मानवियताका दृष्टिकोणले दोस्रो नम्बरमा सिफारिस भएका खनाललाई सचिवमा बढुवा भएको थियो ।

खनाल सचिव बढुवा भएको २ महिनापछि गत शुक्रबार अनिवार्य अवकाशमा गइसकेका छन् । बढुवापछि खनाल पदस्थापन भएको नेपाल ट्रष्टको कार्यालय करिव १ सातादेखि कार्यकारी सचिव विहिन भएको छ । सम्भव बिहिबार मन्त्रिपरिषद् बैठकबाट सचिवमा बढुवा हुने सिग्देलको नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन हुने अनुमान गरिएको छ ।

सचिव न्यौपाने अनिवार्य अवकाशमा, युवा मन्त्रालय पनि सचिव विहिन
युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले पनि मंगलबारदेखि अनिवार्य अवकाश पाएका छन् । न्यौपानेले अनिवार्य अवकाश पाएसँग युवा तथा खेलकुद मन्त्रालय पनि सचिव विहिन भएको छ । मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेका सहसचिव कमलप्रसाद पोख्रेलले नै निमित्त सचिवको जिम्मेवारी सम्हालिरहेका छन् ।

सचिव बढुवाका लागि प्रशासनतर्फ तीनजना वरिष्ठ सहसचिव प्रतिस्पर्धामा छन् । जसमा एक नम्बरमा रविलाल पन्थ, दुई नम्बरमा रामेश्वर दंगाल र तीन नम्बरमा मुकुन्दप्रसाद निरौला रहेका छन् । तर, यसपटक प्राविधिक जस्तै जेष्ठताका आधारमा पन्थको नाम सिफारिस हुने संभावना पनि धेरै छ ।

पन्थ लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव, दंगाल अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख र निरौला वातावरण विभागको महानिर्देशको जिम्मेवारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *