लुम्बिनीमा पर्यटकका लागि विशेष प्याकेज, पिकअपदेखि लजिङ-फुडिङमा भारी छुट – Nepal Press

लुम्बिनीमा पर्यटकका लागि विशेष प्याकेज, पिकअपदेखि लजिङ-फुडिङमा भारी छुट

कोरोनाका कारण थलिएको व्यवसाय उकास्न व्यवसायीको विशेष पहल

रुपन्देही । कोरोना संक्रमणदर कम भएसँगै पर्यटकीय स्थल लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र पर्यटक बसाई लम्ब्याउन व्यवसायीहरुले अग्रसरता देखाएका छन् । पर्यटन व्यवसायी तथा यस क्षेत्रका सरोकारवालाले सरकार तथा लुम्बिनी विकास कोषलाई यसतर्फ ध्यानाकर्षणसमेत गराएका छन् ।

कोरोना महामारीमा पनि आन्तरिक पर्यटक आइरहेको लुम्बिनीमा विस्तारै सबै क्षेत्र खुल्न थालेपछि पर्यटक बढ्न थालेका छन् । पर्यटक आगमन बढाउन पर्यटन व्यवसायीले बिशेष प्याकेजहरु घोषणा गर्न र लुम्बिनी विकास कोषले पनि विभिन्न रचनात्मक क्रियाकलाप गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

कोरोना संक्रमणको त्रासका कारण लुम्बिनीमा पर्यटकको आगमन कम भएको हुँदा यसको वृद्धिको लागि सरकार र सम्वद्ध संस्थाहरुले प्याकेजको घोषणा गर्नुपर्ने र विकास कोषले यसको अगुवाइ गर्नुपर्ने स्थानीय सरोकारवालाको माग छ ।

महामारीका कारण लुम्बिनीमा हुने मोलामा पूजा, त्रिपिटक च्यान्टिङ, फुल मून डे, महायान र थेरावाद समुदायका विभिन्न क्रियकलापहरु कम हुँदै आएको थियो । अब तत्काल त्यसलाई अगाडि बढाउन सके पर्यटकको चासो बढ्ने पर्यटन व्यवसायीहरुको धारणा छ ।

लुम्बिनीमा विभिन्न धार्मिक क्रियाकलापसँगै आध्यात्मिक कार्यक्रमलाई बढाउन सके आन्तरिक र बाह्य पर्यटकको आगमनमा वृद्धि हुने र उनीहरुको बसाई अवधिसमेत लम्ब्याउन सकिने व्यवसायीको धारणा छ ।

होटल संघको आकर्षक प्याकेज

लुम्बिनीमा पर्यटक भित्र्याउन यहाँका होटल व्यवसायीहरूले सस्तो प्याकेज कार्यक्रम सार्वजनिक गरेका छन् । लुम्बिनीको पर्यटन पुनरुत्थानका लागि पर्यटन व्यवसायीहरूले सस्तो प्याकेज सार्वजनिक गरेपछि आन्तरिक पर्यटक बढ्ने अपेक्षा व्यवसायीको छ ।

तत्कालका लागि लुम्बिनी होटेल संघले एक रात र दुई दिनको भ्रमण प्याकेज सार्वजनिक गरेको छ । असोज १५ देखि लागू हुने गरी दुई हजार १९९ रुपैयाँमा लुम्बिनीको गाइडेड प्याकेज टूर कार्यक्रम घोषणा भएको संघका महासचिव लीलामणि शर्माले जानकारी दिएका छन् ।

लुम्बिनी होटल एशोसियशनले आवासमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको होटल एशोसिएशन लुम्बिनीका अध्यक्ष मिथुन श्रेष्ठले जानकारी दिए ।

कोभिडका कारण कमजोर अवस्थामा पुगेको पर्यटन बजारलाई सहयोग पुग्ने उद्देश्यका साथ अफर ल्याइएको हो । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायीले यो अफर सार्वजनिक गरेपछि पर्यटक आउने अपेक्षा गरिएको छ ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा करिब १८ महिनाअघिदेखि विदेशी पर्यटकको आगमन लुम्बिनीमा शून्य छ । धार्मिक पर्यटकको रूपमा भारतबाट आउने पर्यटकसमेत नाका बन्दका कारण आउन नसकिरहेको अवस्थामा व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी सस्तो प्याकेज घोषणा गरेका हुन् ।

होटल बन्द अवस्थामा रहे पनि सफा गर्नुपर्ने, बिजुली, पानी तथा केही कर्मचारी राख्नुपर्ने, घरभाडा तिर्नुपर्नुे बाध्यता रहेकाले यो अफरले केही सहयोग पुग्ने व्यवसायीको विश्वास छ । यो अफरपछि लुम्बिनीमा केही पर्यटक आउने क्रम शुरु भएकोे विकास कोषको भनाइ छ । महामानव गौतमबुद्धको जन्मस्थान लुम्बिनी आउने बौद्धमार्गीलाई समेत यो अफरले सहयोग पुग्ने पर्यटन व्यवसायीले बताउने गरेका छन् ।

यसरी प्रयोग गर्न सकिन्छ प्याकेज कार्यक्रम

संघका अध्यक्ष मिथुन श्रेष्ठका अनुसार प्याकेजको पहिलो दिन पर्यटकलाई बसपार्कबाट पिकअप गरी होटेलमा स्वागत गरिने छ । सोही दिन लुम्बिनीबारे जानकारी दिई केहीबेरको विश्रामपछि साँझ लुम्बिनी तथा बुद्धग्राम रोबोटिक थिएटर भ्रमण गराई रात्रिभोजन गराई विश्राम दिइने छ ।

प्याकेजको दोस्रो दिनमा बिहानको खाजादेखि मायादेवी मन्दिर र गुम्बा भ्रमण, अन्तर्राष्ट्रिय बिहार क्षेत्र भ्रमण, दिउँसोको खाना तथा विश्राम र बिदाइ रहेका छन् । उक्त प्याकेजमा दुई बेड भएको कोठा, साँझको खाना, बिहान ब्रेकफास्ट, धूपबत्ती, गाइड, बुद्धग्राम रोबोटिक थिएटर टिकट, लन्च, मायादेवी मन्दिर प्रवेश टिकट र अन्तर्राष्ट्रिय बिहार क्षेत्र भ्रमणका लागि यातायातको व्यवस्था गरिएको संघका महासचिव लिलामणि शर्माले जानकारी दिए ।

पर्यटन व्यवसायीले मायादेवी मन्दिर अलि ढिलो समयसम्म खोल्न आग्रह गरेका छन् । मायादेवी मन्दिरलाई रातीको ११ बजेसम्म खोल्न पर्यटन व्यवसायीले माग राखेका छन् । यसले लुम्बिनीमा पर्यटकको बसाई अवधि लम्ब्याउन सकिने उनीहरुको तर्क रहेको छ ।

पर्यटन पत्रकार चेतन पन्तले थला परेको पर्यटन पेशाको पुर्नजागरणको लागि सीमा क्षेत्रलाई सुचारु गर्न सुझाव दिन्छन् ।

लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले यहाँ आउने पर्यटकले सौहार्दता खोज्ने भएकाले व्यवसायीले त्यसमा ध्यान दिनुपर्ने बताउँछन् । महामारीपछि लुम्बिनीमा आध्यात्मिक पर्यटक उतार्न लुम्बिनी बिकास कोषले पनि पहल गरिरहेको उनको भनाइ छ ।

लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले विभिन्न क्षेत्रमा लुम्बिनीको प्रवद्र्धन गरिरहेको बताउँछन् । यसको साथै पर्यटकको बसाई अवधि लम्ब्याउन गुरुयोजनालाई अन्तिम रुप दिन लागिपरेको बताए ।

लुम्बिनीका होटलमा मात्रै २५ अर्ब लगानी

पर्यटन व्यवसायीका अनुसार रूपन्देहीका होटलमा मात्र झण्डै २५ अर्बको लगानी छ । साना ठूला गरी दुई हजार ५०० होटल छन् । त्यसमध्ये १५० भन्दा बढी स्तरीय होटल सञ्चालनमा रहेको होटल व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामप्रसाद गौतम बताउँछन् । कोरोना महामारीका कारण पर्यटन क्षेत्र सुस्ताएपनि पर्यटन व्यवसायीले लगानी गर्नेक्रम रोकेका छैनन् ।

भैरहवामा निर्माणसम्पन्न हुन लागेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनपछि पर्यटन व्यवसाय फस्टाउने अपेक्षाले यो क्षेत्र लगानीकर्ताका लागि आकर्षणको केन्द्र बनेको व्यवसायीको भनाइ छ ।

संघका जिल्ला अध्यक्ष गौतमका अनुसार महामारी शुरु भएपछि एक सय ठूला होटल थपिएका छन् तर कोरोना भाइरस महामारीका कारण सञ्चालनमा रहेका पर्यटन व्यवसाय भने धरासायी बन्दै गएको छ र लगानीको प्रतिफल कसरी आउने भन्ने चिन्तामा व्यवसायी छन् ।

होटलको चर्को ब्याज तथा कर्मचारीलाई पारिश्रमिक दिन समस्या भएपछि केही सञ्चालक होटल छाडेरसमेत हिँडेका छन् । पर्यटनसँग जोडिएका होटल, ट्राभल एजेन्सी तथा अन्य साना व्यवसायसमेत प्रभावित भएका छन् । लुम्बिनी क्षेत्रमा सम्पन्न भएका र अन्तिम चरणमा रहेका केही ठूला पूर्वाधारका कारण पर्यटनको अपार सम्भावना देखेर हौसिएका लगानीकर्ता यतिखेर निराश छन् । केही विदेशी र अधिकांश ठूला स्वदेशी लगानीकर्ताले निर्माण गरेका तारे होटल पनि अहिले खाली छन् ।

बुद्ध जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिकामा मात्रै साना ठूला गरी १२४ होटल तथा रेष्टुरेण्ट छन् । तीनवटा होटल निर्माणाधीन अवस्थामा छन् । कोरोनाको असरले लामो समय बन्द गर्नुपरेपछि कतिपय व्यवसायीले होटल बिक्री गरेका छन् ।

कोरोना महामारीका कारण लामो समय बन्द भएका होटल पहिलेकै अवस्थामा सञ्चालन गर्ने अवस्था छैन । कोरोना भाइरस संक्रमण पछिको अवस्थामा होटल स्यानिटाइजेसन, शुद्ध र शक्तिबद्र्धक खानाको छनोट जस्ता विषयमा पर्यटन व्यवसायी र कर्मचारीलाई प्रशिक्षण आवश्यक छ ।

लुम्बिनी होटल संघका महासचिव लीलामणि शर्माले यस्ता विषयमा ध्यान पु¥याएर आतिथ्य दिँदा पर्यटकमा सकारात्मक सन्देश जाने भएकाले सरकारले प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्न सुझाव दिन्छन् ।

महामारी कम हुन थालेपछि आन्तरिक पर्यटक बिस्तारै बढ्न थालेका छन् । अहिले दैनिक एक हजारको हाराहारीमा पर्यटक लुम्बिनी घुम्न आए पनि दिनभर घुमेर रात नबिताइ फर्किंदा पर्यटन व्यवसायीले लाभ लिन नसकेको लुम्बिनी होटल व्यवसायी संघका महासचिव शर्मा बताउँछन् ।

कोरोना संक्रमणका कारण आन्तरिक पर्यटकले रात बिताउँँदैनन्, विदेशी पर्यटक आउन चाहेर पनि पाएका छैनन् । शर्मा भन्छन्– ‘बुद्ध धर्म मान्ने धेरै देशहरुसँगै पोल्यान्ड, फ्रान्स, जर्मनी, इटलीलगयतका देशका पर्यटक बुद्धजन्मस्थल आउन इच्छुक छन्, फोन गरेरै अन्तर्राष्ट्रिय उडान खुल्ने वित्तिकै आउँछौँ भनेका छन् तर महामारी नहटेसम्म आउने अवस्था छैन, यसको मार व्यसायीले नै बोक्नुपरेको छ ।’

सरकारले पर्यटकीय गन्तव्यका सडक चार लेनमा विस्तार गर्ने, चीनको रेल केरुङबाट काठमाडौं, पोखराहुँदै लुम्बिनी ल्याउने, भारतबाट काठमाडौंसम्म रेल ल्याउने, थप तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नेलगायत महत्वाकांक्षी योजना सार्वजनिक गरेपछि मुलुकमा पर्यटनको लहर आउने विश्वासले पनि लगानीकर्तालाई होटल व्यवसायमा आकर्षित गरिदियो तर लगानी उठाउन सक्ने अवस्था नहुँदा व्यवसायी निराश छन् ।

पर्यटन नीतिमा पर्यटन उद्योगको क्षेत्रमा उत्पन्न हुने विषम तथा असहज परिस्थितिमा पर्यटन उद्योगलाई व्यावसायिक रूपमा सञ्चालन गर्न विशेष सहुलियतसहितको राहत प्याकेज कार्यक्रम लागू गरिने भनिए पनि अहिलेसम्म केही नपाएको व्यवसायी गुनासो गर्छन् ।

यो क्षेत्रमा लगानी गर्नका लागि गौतमबुद्ध विमानस्थलसँगै बुटवल–भैरहवा तथा भैरहवा–लुम्बिनी–तौलिहवा चार लेन सडक, बेथरी–वेलवास चार लेन सडक र निर्माणाधीन बुटवल–नारायणगढ ६ लेन सडक, बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सभाहल र प्रदर्शनी केन्द्र, लुम्बिनीमा पाँच हजार क्षमताको सभाहललगायतका ठूला पूर्वाधारले लगानीकर्ताको ध्यान तानिएको हो ।

लुम्बिनीमै डेढ अर्बभन्दा बढी लगानीमा पाँचतारेस्तरको बुद्धमाया र जापानी नागरिक नोबुओ कासाईको करिब डेढ अर्ब बढी लगानीमा अर्को पाँचतारे होटल कासाई सञ्चालनमा छ ।

भैरहवादेखि सात किलोमिटर उत्तर चिल्हियामा पाँच अर्बभन्दा बढी लगानीमा टाइगर प्यालेस पाँचतारे होटल सञ्चालनमा छ । कोरोना महामारीका कारण लामो समय बन्द अवस्थामा रहे पनि यो होटल यस क्षेत्रको ठूलो होटलका रूपमा रहेको छ । व्यवसायी पवन हलुवाईसहितको तीन अर्ब लगानीमा लुम्बिनीमा अर्को पाँचतारे पवन प्यालेस इन्टरनेसनल होटल सञ्चालनमा छ ।

त्यसैगरी लुम्बिनीमै एक अर्बभन्दा बढी लगानी रहेको होटल होक्के, लुम्बिनी गार्डेन र न्यु क्रिस्टल होटल पनि सञ्चालनमा छन् । भैरहवा परासी सडकखण्डको वसन्तपुरमा रहेको बोधी रेडसन होटलमा पनि एक अर्बभन्दा बढी लगानी रहेको छ । मणिग्राममा एक अर्बभन्दा बढी लगानीमा ड्रिम ल्यान्ड गोल्ड रिसोर्ट सञ्चालनमा छ ।

यसैगरी लुम्बिनीमै होटल जाम्बला, बुद्धमाया प्यालेस, ब्याम्बो रिसोर्टजस्ता ५० करोडभन्दा बढी लगानीका सुविधासम्पन्न होटल सञ्चालनमा छन् । लुम्बिनीमै आनन्द ईन, लिटल बुद्ध, पिस ल्यान्ड, लुम्बिनी गेस्ट हाउस, मायादेवी गेस्ट हाउस, सिद्धार्थ गेस्ट हाउस, होटल अशोकाइन, आकाश इन्टरनेसनल, स्तुप, शाक्य गेस्ट हाउस, होली बर्थ, मिराजइन, आदर्शइन, हाम्रो गेस्ट हाउस, लुम्बिनी ग्रिन भ्यु, सेभेनस्टप गेस्ट हाउस, बेबिलोन, सुरम्मा, बुद्ध इन्टरनेसनल, बुद्ध प्यालेस, सनफ्लावर, बुद्ध रेजेन्सी, जयबुद्धजस्ता ७० भन्दा बढी पर्यटकीय होटल सञ्चालनमा छन् ।

लुम्बिनीका होटलमा मात्रै एक रातमा १० हजार बढी पर्यटकलाई राख्न सकिने क्षमता छ । पछिल्लो समय करिब एक अर्ब लगानीमा छपियामा होटल लुम्बिनी पिस प्यालेस र ५० करोडभन्दा बढी लगानीमा बुटवलमा होटल फ्लामिङ्गो सञ्चालनमा आएका छन् । यी दुवै होटल कोरोना महामारीकैबीच सञ्चालनमा आएका हुन् ।

त्यसैगरी ५० करोड हाराहारी लगानीमा भैरहवाको होटल नान्स, होटल निर्वाणा, बुटवलमा पाँच करोडभन्दा बढी लगानीका आरम्भ रिसोर्ट, सिद्धार्थ कटेज, लक्ष्मी होटल, दरबार होटल, न्यु इरा, सिन्दूर, एसियन, आम्रपाली कटेज, दियालो, मिराज, बृन्दाबन छन् ।

त्यसैगरी बुटवलमा ४० करोड बढी लगानीका क्लब डेनोभो, होटल एभिन्यु, डारसिस, टुलिप, महाराजा, दरबार लन्जलगायतका होटल सञ्चालनमा छन् । भैरहवामा पाँच करोडभन्दा माथि लगानी गरिएका होटल यती, अशोका, पौवा, क्यासल, ह्वाइट लोटस, सिटी म्याक्स, सिटी सेन्टर, लाकौल इन, होटल लाकौल, एसआर, प्रकाश एण्ड प्रकाश, पटवा बैंकक्वेट, जोशी, सिटी सेन्टर, माउन्ट एभरेस्ट, मानसरोवर, ममता, कोटिहवाको यती पार्टी प्यालेस, पवन इन्टरनेसनल र मणिग्राममा होटल मदानी सञ्चालनमा छन् ।

छपियामा एक जना कृषकले २० करोडको लागतमा फिस रिसोर्ट सञ्चालन गरेका छन् । टेकनाथ बस्यालले डाइभरटोलमा ८५ फिट अग्लो १५ करोडको लागतमा निर्माण भएको शङ्कर टावरमा होटल एसआर सञ्चालन गरिरहेका छन् ।

अजय चौधरीले कानपारामा करोडौंँ रुपैयाँको लगानीमा एग्रो रिसोर्ट सञ्चालन गरिरहेका छन् । बर्सेनि झण्डै १६ लाख पर्यटकले भ्रमण गर्ने लुम्बिनीमा दुई वर्षदेखि विदेशी पर्यटकको संख्या शून्य सरह छ ।

सबैभन्दा धेरै पर्यटक भित्रिने श्रीलङ्का, थाइल्याण्ड, म्यानमार र चीनबाट पर्यटक आउन चाहेर पनि पाएनन् । कोरोना महामारीका बाबजुद छिमेकीमूलुक भारत हुँदै श्रीलंकाबाट तीन जना म्यानमारबाट एक जना र चीनबाट ३२ जना पर्यटक लुम्बिनी आए ।

बुद्धको जन्मस्थल भएका कारण आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने अपेक्षाले लगानी गर्न लगानीकर्ता हौसिन्छन् तर लगानीकर्ताको लगानी गर्दाको उत्साह पर्यटक आगमन कम भएपछि निराशामा परिणत भइदिन्छ । जग्गा किनेर होटल बनाएकाको छोड्ने अवस्था छैन तर भाडामा लिएका कतिपयले भने किनबेच गरिहेका छन् ।

अहिले व्यवसायीले बैंकको ब्याज तिर्न सक्ने अवस्था नभएकाले बैंकको ब्याजमा सहुलियत दिनुपर्ने र पुनःकर्जाको व्यवस्था गरिदिनुपर्ने पर्यटन व्यवसायीको भनाइ छ । कोभिडले पारेको प्रभावको राहतका लागि प्रभावितहरु संगठित भएर एकै स्वरमा आवाज बुलन्द गर्न जरुरी रहेको होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले बताए ।

होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधवप्रसाद नेपालले सरकार जिम्मेवार नहुँदा पर्यटन व्यवसायीहरु मर्कामा परेकाले थप पीडित भएको बताउँदै विशेष प्याकेजका कार्यक्रमबाट मात्र व्यवसायीले राहत प्राप्त गर्न सक्ने बताए ।

व्यवसायीहरुले प्याकेज घोषणा गरी आन्त्तरिक पर्यटकलाई आकर्षक गर्ने कार्यक्रम ल्याउन माग गरेको होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर