दुर्व्यवहारले निम्त्याएको दुखान्त: छिटो न्याय नपाउँदा १२ वर्षकी बालिकाले गरिन् आत्महत्या – Nepal Press

दुर्व्यवहारले निम्त्याएको दुखान्त: छिटो न्याय नपाउँदा १२ वर्षकी बालिकाले गरिन् आत्महत्या

जनकपुरधाम । गत भदौ २३ गते ट्यूसन पढेर घर फर्किँदै थिइन् १२ वर्षिया बालिका ममता कामत । बाटोमा उनलाई केही युवकहरुले अश्लील शब्दसमेत प्रयोग गर्दै जिस्क्याए ।

समाज जति शिक्षित र आधुनिक बने पनि बाटोमा एक्लै हिँडिरहेकी किशोरी/युवतीले सडकमा आवारा केटाहरुबाट दुर्व्यवहार भोग्नुपर्ने समस्या आज पनि उस्तै छ । त्यसमाथि मानसिकरुपमा परिपक्व नभइसकेकी बालिका थिइन् ममता । उनको कलिलो मस्तिष्कले यो दुर्व्यवहारलाई थेग्न सकेन । प्रहरी र समाजबाट समेत छिटो न्याय नमिलेपछि उनले आत्महत्या रोजेकी छन् ।

धनुषाको जनकनन्दनी गाउँपालिका–४ का सुरेश कामतकी छोरी ममताले हिजो राति विष सेवन गरेको परिवारले जनाएको छ । गहुँमा प्रयोग गरिने विषादी सेवन गरेकी उनको जनकपुरस्थित हेल्थ केयर सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

गाउँकै एक विद्यालयमा ७ कक्षामा अध्ययनरत ममतालाई ट्यूसन पढेर फर्कदैँ गर्दा स्थानीय २२ वर्षीय संजय दास, २० वर्षीय कलेश्वर दास र १९ वर्षीय भिलबा दासलगायतले दुर्व्यवहार गरेका हुन् । उनीहरुले मोबाइल नम्बर लेखिएको एउटा चिर्कटो जबरजस्ती ममतालाई थमाएका थिए ।

केटाहरुले ‘नबोले बेइज्जत गरिदिने’ धम्की दिएपछि ममता भागेर घर गएकी थिइन् । घरमा पुगेर उनले बुवा–आमालाई घटनाबारे सुनाइन् । छोरीको कुरा सुनेपछि ममताका बुवा सुरेशले समाज डाके । समाज बसेकै बेला ममताका दाइ नातापर्ने बलिराम कामतले जबरजस्ती थमाइएको नम्बरमा फोन गरेर सम्झाउने प्रयास गरे । तर, फोन गरेको २४ घण्टा नबित्दै एक समूहले बलिराममाथि नै कुटपिट गर्यो ।

त्यसपछि पीडित परिवार उजुरी दिन ईलाका प्रहरी कार्यालय खजुरीमा पुगे । तर प्रहरीले उजुरी दर्ता नमानेको ममताका बुवा सुरेशले बताए । प्रहरीले गाउँमै मिलापत्र गर्न दबाब दिएको उनको भनाइ छ ।

प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि सुरेशले वडाध्यक्ष हरिचन्द्र कामतलाई गुहारे । भदौ २५ गते वडा कार्यालयमा छलफल भयो । वडाध्यक्षले दुवै पक्षलाई बोलाए । तर छलफल भइरहेका बेला जिस्काउने पक्षका रामउदगार दासले होहल्ला मच्चाए ।

‘रामउदगार दासले होहल्ला गरेपछि छलफल हुन सकेन’, वडाध्यक्ष कामत भन्छन्, ‘दुई पक्षबीच झडप नै भयो । एक जना घाइते पनि भए । त्यसपछि हामीले पीडित परिवारलाई प्रहरी कार्यालयमै पठाइदियौं ।’

घटनाको छानबिन गरी संलग्नहरुमाथि कारबाही हुनुपर्ने उनको भनाइ छ ।

ममताले आत्महत्या गर्नुमा प्रहरी दोषी भएको स्थानीय एवम् ममताका परिवारको बुझाइ छ । नातामा ममताका बाजे पर्ने धुपु कापर भन्छन्, ‘मृत्यु भएको बचिया (बालिका) मेरो नातिनी हो । उनलाई तीन जना दास थरका केटाहरु जिस्काएका थिए । तर प्रहरीले कारबाही गर्न कुनै चासो देखाएनन् । अहिलेसम्म मुद्दा पनि दर्ता प्रहरीले गरेका छैन । बयानका लागि थानामा बोलाउँदा उनले विष सेवन गरिन् ।’

प्रहरीले उजुरी दर्ता गरेर अपराधीलाई कानूनी दायरामा नल्याउँदा दुर्घटना भएको उनको भनाइ छ । अपराधीहरुलाई बचाउँन नेताहरु लागिपरेको उनको आरोप छ ।

बालिका बयानका लागि नआएपछि समस्या भयोः प्रहरी

‘जिस्क्याएको आरोप लगाउने बालिकाको बुवाले उजुरी दिनुभयो । तर बालिकालाई बयानका लागि ल्याउनु भएन’, ईलाका प्रहरी कार्यालय खजुरीका इन्सपेक्टर रवि मैनाली भन्छन्, ‘त्यसैले उजुरी दर्ता भएको छैन ।’

उनले उजुरी परेपछि आरोपित तीनैजना केटालाई बोलाएर बयान लिएको बताए । ‘बयानका क्रममा दोषी नदेखिएकोले आरोप लगाएकी बालिकालाई बयानका लागि बोलाएका थियौं’, उनले भने, ‘तर बयान दिन नआएपछि कसरी उजुरी दर्ता हुन्छ ?’

इन्सपेक्टर मैनालीले आर्थिक चलखेलमा परेर अपराधी बचाउन खोजेको पीडित पक्षको आरोप छ ।


प्रतिक्रिया

One thought on “दुर्व्यवहारले निम्त्याएको दुखान्त: छिटो न्याय नपाउँदा १२ वर्षकी बालिकाले गरिन् आत्महत्या

  1. शक्तिशाली को? गुण्डा कि जनता? जवाफ दे प्रहरी ! कमजोर, निमुखाहरूले उजुरी दिन आउँदा कारवाहीको लागि तदारुकता नदेखाउने प्रहरी जनताको पक्षमा सेवामा छैन ! अब आरोपितलाई मात्रै होइन, त्यहाँको प्रहरीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ र यसरीमात्रै देशमा फौजदारी अपराधका घटनामा कमी आउने छ । #jpn #PaM

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर