काठमाडौं महानगरमा डेढ दशकपछि कांग्रेसकाे चुनाव, सभापतिमा नीलकाजी कि प्रगति ? – Nepal Press

काठमाडौं महानगरमा डेढ दशकपछि कांग्रेसकाे चुनाव, सभापतिमा नीलकाजी कि प्रगति ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरपालिकाको सभापति पदका लागि दुईपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । लामो समयदेखि कांग्रेसको काठमाडौं महानगर समिति रिक्त रहँदै आएको थियो । यतिबेला संस्थापन र संस्थापइतर समूहका नेताहरू महानगर समितिको नेतृत्वका लागि आन्तरिक तयारीमा छन् ।

संस्थापनबाट प्रगतिमान रञ्जित र संस्थापनइतर समूहबाट नीलकाजी शाक्य चुनावी प्रतिस्पर्धा गर्दैछन् । कांग्रेसको काठमाडौं महानगर समितिको अधिवेशन नभएको १५ वर्ष पुगिसकेको छ । ११औं महाधिवेशनबाट निर्वाचित महानगर सभापति देवरत्न डंगोलको कार्यकाल सकिएपछि बाह्रौं र तेह्रौं महाधिवेशनका बेला काठमाडौं महानगरको अधिवेशन नभएको हो । लामो समयपछि अधिवेशन हुन लागेकोले पनि काठमाडौं महानगरको कांग्रेस नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ ।

काठमाडौंमा संस्थापन समूहको अगुवाइ सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू ध्यानगोविन्द रञ्जित, अम्बिका बस्नेतलगायतले गर्दै आएका छन् । संस्थापन पक्षका उम्मेदवार रञ्जितलाई काठमाडौं जिल्ला सभापतिका दाबेदार उपेन्द्र कार्कीको समेत समर्थन छ । काठमाडौंमा कृष्णप्रसाद सिटौला समूहका नेता भीमसेनदास प्रधानको समर्थनसमेत रञ्जितलाई रहने बताइएको छ ।

अर्कोतिर संस्थापनइतर समूहको अगुवाइ पूर्वमहामन्त्री प्रकाशमान सिंहले गरेका छन् । महानगर सभापतिका दाबेदार शाक्यलाई महामन्त्री सिंह, काठमाडौं जिल्ला सभापति सबुज कृष्ण बानियाँ, महानगर मेयरका प्रत्याशी राजुराज जोशी, क्षेत्र नम्बर ७ का सभापति मुकुन्द रिजाललगायतको समर्थन छ ।

नीलकाजीको एजेण्डा : महानगरमा सशक्त कांग्रेस

काठमाडौं महानगरको २५ नम्बर वडाका निर्वाचित अध्यक्ष नीलकाजी शाक्य स्थानीय निर्वाचनमा कांग्रेसले आफ्नो क्षमताअनुसार जित हासिल गर्न नसकेको बताउँछन् । काठमाडौं महानगरको नेतृत्वसहित बहुमत वडामा कांग्रेस जिताउने एजेण्डा बोकेका शाक्य पार्टीलाई एकताबद्ध बनाउन आफू सक्रिय रहने बताए ।

‘देशकै राजधानी र ठूलो सहर भएकोले काठमाडौं महानगरको कांग्रेस सभापतिको जिम्मेवारी धेरै हुन्छ । यो महानगरमा बलियो कांग्रेस बनाएर देशैभरी ऊर्जा भर्ने काम गर्छु’, शाक्यले नेपाल प्रेससँग भने ।

२०३६ सालको विद्यार्थी आन्दोलनदेखि सक्रिय राजनीतिमा जोडिएका शाक्य २०४४ सालमा पब्लिक युथ क्याम्पसको स्ववियू सभापति निर्वाचित भएका थिए । नेपाल तरुण दलको संस्थापक केन्द्रीय सदस्य रहेका शाक्य पार्टीको नयाँ र पुरानो दुवै पुस्ताको भावना समेटेर आफू महानगर नेतृत्वको प्रत्याशी बनेको बताउँछन् ।

प्रगतिमानको एजेण्डा : कांग्रेस-कांग्रेसबीचको दूरी घटाउँछु

डेढ दशकपछि अधिवेशनबाट काठमाडौं महानगरको पार्टी नेतृत्व छानिन लागेकोले पुराना र नयाँ कांग्रेस कार्यकर्ताबीच ‘ग्याप’ बढेको महानगर सभापतिका प्रत्याशी प्रगतिमान रञ्जितको बुझाइ छ । आफ्नो उम्मेदवारी कांग्रेसमा बढेको ‘ग्याप’ घटाउनका लागि भएको उनी बताउँछन् ।

‘लामो समयदेखि महानगरमा समिति नहुँदा कांग्रेसको क्रियाशील घटेको छ । नयाँ र पुराना नेता कार्यकर्ताबीच दूरी बढेको छ । त्यसलाई अन्त्य गरेर काठमाडौंमा बलियो कांग्रेस बनाउने उद्देश्यसहित म उम्मेदवार बनेको हुँ’, रञ्जितले नेपाल प्रेससँग भने ।

नेपाल तरुण दलको काठमाडौं महानगरको संस्थापक सभापति रहेका रञ्जित पार्टीको क्षेत्र नम्बर ६ को पूर्वसचिवसमेत हुन् । पार्टीको काठमाडौं जिल्ला कार्यसमितिको आमन्त्रित सदस्य रहीसकेका रञ्जित महानगर सभापति बनेपछि सबै वडा र नगरकार्यपालिकामा कांग्रेस जिताउने आफ्नो लक्ष्य रहेको बताउँछन् ।

२०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरमा कांग्रेस एमालेसँग १९ हजार बढी मतले पराजित भएको थियो । कांग्रेसले उपमेयरसहित १४ वटा वडामा अध्यक्ष जितेको थियो । कांग्रेसको महानगर समितिको सभापतिका दुवै प्रत्याशीले आउने निर्वाचनमा मेयरसहित बहुमत वडा कांग्रेसलाई जिताउने दावी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर