एम्बाप्पेको पासमा मेस्सीको गोल, सिटीमाथि पीएसजीको विजय – Nepal Press

एम्बाप्पेको पासमा मेस्सीको गोल, सिटीमाथि पीएसजीको विजय

च्याम्पियन्स लिगको डेब्यू टिमसँग हार्‍यो रियल मड्रिड

एजेन्सी । लियोनल मेस्सीले डेब्यू गोल गर्दा युरोपेली च्याम्पियन्स लिगको समूह चरणमा फ्रान्सेली महारथी टोली पीएसजीले इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

मेस्सीले पीएसजीका लागि चौथो खेलमा पहिलो गोल गरेका हुन् । मेस्सीले मैदानको बीच भागबाट फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पेसँग वान टू वान पास मिलाउँदै ७४औं मिनेटमा २० यार्डबाट शानदार गोल गरेका हुन् ।

मेस्सीको डेब्यू गोलपछि पेरस डेस प्रिन्सेस रंगशालामा उपलस्थित उल्लेख्य घरेलु समर्थकले लामो समयसम्म खुसियाली मनाएका थिए । मेस्सी चोटबाट फर्किएका हुन् । २० वषै बार्सिलोनामा रहेर ६७२ गोल गरेका मेस्सीले च्याम्पियन्स लिगको खेलदेखि पीएसजीमा गोल गर्न सुरु गरेका छन् ।

मेस्सीको यो १ सय २१ औं च्याम्पियन्स लिग गोलसमेत हो । त्यसअघि पहिलो हाफ सुरु भएलगत्तै इद्रिसा गुयेले गोल गरे पीएसजीलाई घरेलु मैदानमा अग्रता दिलाइसकेका थिए ।

पीएसजीको पहिलो र दोस्रो गोलको बीचमा सिटीले पनि गोलका थुप्रै अवसर खेर फालेको थियो । रहिम स्टलिङको हेडर बारमा लागेर फर्किएको थियो भने बर्नान्डो शिल्भाको प्रयासले पनि सार्थकता पाएको थिएन ।

मेस्सीसँगै पीएसजीबाट च्याम्पियन्स लिग डेब्यू गरेका इटलीका गोलरक्षक जियानलुगी डोन्नारुमाले सिटीको सातवटा प्रहारको सामना गरेका थिए । सबैमा उनी सफल रहे ।

च्याम्पियन्स लिगको डेब्यू टिमसँग हार्‍यो रियल मड्रिड

यसै सिजन युरोपेली च्याम्पियन्स लिगमा डेब्यू गरेको माल्दोभाको सेरिफ टिरास्पोलले १३ पल्ट च्याम्पियन्स लिग उपाधि जितेको रियल मड्रिडलाई उसकै मैदान सान्टियागो बर्नबेउमा २–१ गोलअन्तरले पराजित गरेको छ ।

सेबास्टियान थिलले खेलको अन्तिम मिनेटमा गोल गरेपछि सेरिफका समर्थकले मनाएको खुसीयाली हेर्नलायक थियो ।

पहिलो हाफमा जासुर्वेक याक्सीबोभले गोल गरेपछि सेरिफले अग्रता बनाएको थियो । तर करिम बेन्जेमाले पेनाल्टीमा गोल गरी खेल बराबरीमा ल्याएका थिए ।
तर थिलले अन्तिम मिनेटमा गरेको हाफ भली प्रहारले घरेलु समर्थकलाई निराश पार्दै गोलमा परिणत भयो ।

अर्काे खेलमा रोवर्टो फिर्मिनो, मोहम्मद सलाह र साडियो मानेले गोल गर्दा लिभरपुलले पनि च्याम्पियन्स लिगको समूह चरणमा पोर्चुगिज प्रतिस्पर्धी पोर्टोमागि ५–१ गोलअन्तरको सहज जित हासिल गरेको छ ।

त्यसै गरी लुइस स्वारेजले इन्जूरी समयको अन्तिम मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि एट्लेटिको मड्रिडले एसी मिलानलाई उसकै मैदानमा २–१ गोलअन्तरले पराजित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *