कन्हैया कुमार भारतीय कांग्रेस प्रवेश, सत्तारुढ बीजेपीले देश बिगारेको आरोप – Nepal Press

कन्हैया कुमार भारतीय कांग्रेस प्रवेश, सत्तारुढ बीजेपीले देश बिगारेको आरोप

दिल्ली । जेएनयु विद्यार्थी युनियनका अध्यक्ष कन्हैया कुमार औपचारिकरुपमा भारतीय कांग्रेस दल प्रवेश गरेका छन् । दिल्लीस्थित कांग्रेस पार्टी मुख्यालयमा नेता राहुल गान्धीले कुमारलाई पार्टी प्रवेश गराए ।

कांग्रेस आइले ट्वीटमार्फत युवामाझ चर्चित विद्यार्थी नेतालाई पार्टी प्रवेश गराएकोबारे जानकारी दिएको छ । नेता गान्धीले पनि कन्हैया कुमारलाई पार्टी स्वागत गरेको भन्दै ट्वीट गरेका छन् ।

गुजरात विधान सभाका सदस्य जिंगेश मेवानी पनि कांग्रेस प्रवेश गरेका छन् । दुबै जनाको पार्टी प्रवेशले भारतीय संविधान र लोकतन्त्रको सुरक्षा हुने भन्दै कांग्रेस महासचिव गान्धीले पार्टीमा स्वागत गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा कन्हैया कुमारले सत्तारुढ बीजेपीप्रति आक्रामक सुनिए । बीजेपीको नाम नलिएपनि बीजेपीले सत्ता कब्जा गरेको र देशको इतिहास, वर्तमान र भविष्यलाई खराब बनाउन प्रयास गरिरहेको आरोप लगाए ।

राष्ट्रविरोधी गतिविधि गरेको भन्दै सन् २०१६ मा कन्हैया कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । मुम्बई विस्फोटका एक दोषी अफजल गुरुलाई फाँसी दिइएको दोस्रो वार्षिकी मनाउन जेएनयुमा आयोजित कार्यक्रममा पनि उनले भाग लिएका थिए ।

त्यसयता सत्तारुढ बीजेपी र भारतीय प्रहरीले उनलाई तारो बनाइरहेको छ । तर, कन्हैया कुमार यी आरोपलाई मान्न तयार छैनन् । सन् २०१९ मा कुमारले बिहार राज्यबाट लोकसभाको सिटमा चुनाब लडेपनि उनी पराजित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *