गैंडा मारेर खाग तस्करी गर्ने गिरोह पक्राउ, दाजुभाइदेखि नातेदारसम्म संलग्न – Nepal Press

गैंडा मारेर खाग तस्करी गर्ने गिरोह पक्राउ, दाजुभाइदेखि नातेदारसम्म संलग्न

९ जना अझै फरार

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडाको शिकारी र खाग तस्करीमा संलग्न आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकै घरका दाजुभाइ र नजिकका नातेदारहरु छन् ।

चारवटा गैंडा मार्ने कार्यमा संलग्न १७ जनामध्ये अझै नौ जना फरार रहेको प्रहरीले जनाएको छ । निकुञ्जको आइल्याण्ड क्षेत्रमा गत वर्ष भदौमा मेघौली क्षेत्रबाट प्रवेश गरी गैंडा मारिएको थियो । त्यसमा संलग्न ६ जनामध्ये दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी बुलिङटार-१ कोटेथरका स्थायी ठेगाना भई हाल गैडाकोट-१ धारापानी बस्ने ३२ वर्षिय चतुरे भनिने गोपाल सारु र धादिङका बेनिबाट रोराङ-१ का ३५ वर्षिय कवि भनिने रामकुमार श्रेष्ठ छन् ।

लायन्सचोकमा बस्दै आएका रामकुमार दुईपटक अदालतबाट धरौटीमा छुटेका व्यक्ति हुन् । काठमाडौंमा चारवटा खाग लगेर बेचेको उनले स्वीकारेका छन् । आर्थिक प्रलोभन देखाएर गैंडा मार्न लगाउने र खाग काठमाडौंमा लगेर बेच्ने कार्यमा उनी संलग्न रहेको निकुञ्जले जनाएको छ । उनले नजिकका नातेदारलाई आर्थिक प्रलोभन देखाएर गैंडा तस्करीमा लगाउँदै आएका थिए ।
२०७६ कात्तिकमा सौराहा पारीको बहपुर खोला नजिकै गैंडा मार्ने ६ जनामध्ये दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी-४ मसिने टोंग्राङका विजय, कान्छा भनिने ३० वर्षिय जयबहादुर प्रजा, दिलिप भनिने ३६ वर्षिय दिलबहादुर प्रजा छन् । उनीहरु दुबै दाजुभाई हुन् । उनका अर्का भाई बाबु भनिने २७ वर्षिय सरोज मुक्तान गत वर्ष असोजमा घाँघर क्षेत्रको बाटुलेचौरको खोल्सीमा गैंडा मारेको अभियोगमा पक्राउ परेका थिए । सरोज फोक्सोको जटिल बिरामी रहेकाले हाल घरमै छन् ।

उनीसँगै मकवानपुर सरिखेत-९ का करण मुक्तान भनिने करण प्रजा पक्राउ परेका छन् । उनका बुबा वृन्दासिंह प्रजा तनहुँबाट पक्राउ परेका छन् । करण विदेश जाने क्रममा मकवानपुरबाट अर्कै बुबाको नाम राखेर मुक्तान थरबाट नागरिकता निकालेका थिए । करण र वृन्दासिंह दुवै फरार अभियुक्त हुन् । उनीहरु विरुद्ध २०६७ सालमा दायर भएको मुद्धाको २०७२ असारमा १५ वर्ष कैद सजाय हुने गरी निकुञ्जले फैसला गरेको थियो ।

वृन्दासिंह यसअघि १० वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन् । मसिने टोग्राङकै सुरेश प्रजा पनि पक्राउ परेका छन् । गत असोजमा गैंडा मार्ने कार्यमा संलग्न १० जनामध्ये ७ जना अझै फरार छन् ।

घाँघरपोष्ट नजिकै ढड्डाघारीमा गत वर्ष जेठमा गैंडा मार्ने कार्यमा संलग्न ६ जनामध्ये एक जना पक्राउ परेका छन् । माडी– ७ देवेन्द्रपुरका याद भनिने राजन गुरुङ प्रहरीको फन्दामा परेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले खाग बेच्ने कार्यमा संलग्न भेटिएपछि अनुसन्धानका क्रममा गैंडा मारेको तथ्य खुलेको बताए ।

‘पछिल्लोपटक मारिएका चार गैंडामध्ये दईवटााको स–सना अस्थिपञ्जरमात्रै भेटेका थियौँ, अनुसन्धानका क्रममा गैंडा मारेको पाइयो,’ उनले भने, ‘अन्य दुई गैंडा मरेकै अवस्थामा फेला परेपछि अनुसन्धान गरेका थियौँ ।’

यो वर्षमात्रै गैंडा मुद्धाका १४ जना पक्राउ परेको उनले बताए । गत आर्थिक वर्ष २०७७/७८ मा २८ जना पक्राउ परेका थिए ।
‘गैडा मार्ने कार्यमा एकै परिवार र नातेदार नै संलग्न भएको पाइयो’, बरालले भने, ’फरार व्यक्तिलाई पनि छिट्टै कानुनी दायरामा ल्याइने छ ।’

सहायक संरक्षण अधिकृत सरोजमणी पौडेलले धरौटी वा सजाय तोकिएका व्यक्ति नै फेरि गैंडा मार्ने कार्यमा संलग्न रहेको बताए ।
‘सजाय तोकिएलगत्तै फरार हुने, नाम-ठेगाना नै फेरेर बस्ने गरेको पायौँ,’ उनले भने, ‘गैंडा तस्करको जालो तोड्न अनुसन्धान तीव्र पारेका छौँ ।’

निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले २०७६ कात्तिकदेखि २०७७ असोजसम्मको अवधिमा १२ गैंडा मारेको घटनामा संलग्न केही व्यक्ति पक्राउ गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर