नेपाल मामिला हेर्ने भारतीय विदेश मन्त्रालयका अधिकारी काठमाडौं आइपुगे – Nepal Press

नेपाल मामिला हेर्ने भारतीय विदेश मन्त्रालयका अधिकारी काठमाडौं आइपुगे

काठमाडौंमा रहँदा सरकारी अधिकारीलाई भेट्ने

काठमाडौं । नेपाल मामिला हेर्ने भारतीय विदेश मन्त्रालयका अधिकारी अनुराग श्रीवास्तव आज काठमाडौंमा आइपुगेका छन् ।

न्यूयोर्कमा नेपाली परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको दुई दिनपछि श्रीवास्तव काठमाडौं उत्रिएका हुन् ।

भारतीय विदेश मन्त्रालयका पूर्वप्रवक्ता समेत रहेका उनले नेपाल र भुटान मामिला हेर्छन् । स्रोतका अनुसार नेपाल र भारतका संयुक्त परियोजनाहरुको अध्ययन र अनुगमन समितिको बैठकमा भाग लिन उनी काठमाडौं आइपुगेका हुन् ।

काठमाडौंमा रहँदा उनले अर्थ सचिव मधु मरासिनी, वाणिज्य सचिव दिनेश भट्टराई, कार्यवाहक परराष्ट्र सचिव प्रकाश सुवेदी लगायतलाई भेट्ने कार्यक्रम छ ।

दुई दिनअघि राष्ट्रसंघीय महासभाको साइडलाइनमा दुई मुलुकका विदेशमन्त्रीको भेटवार्तामा आपसी सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको थियो ।

जयवीरसिंह धामी तुइनबाट महाकालीमा खसेको घटना र हेलिकोप्टर प्रकरणमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको तर जवाफ नआएको पृष्ठभूमिमा श्रीवास्तवको भ्रमण भएको हो ।

साथै, नेपालले नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न भारतले अवरोध गरेको पृष्ठभूमिमा उनको भ्रमण भएको हो । देउवा सत्तामा आएपछि भारतीय सत्तारुढ दल बीजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र बीजेपीका पूर्व महासचिव काठमाडौं आइपुगेका छन् ।

देउवा सरकार बनेपछि नेपाल भ्रमणमा आउने अनुराग भारतीय सरकारका उच्च अधिकारी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर