विभिन्न माग राख्दै अनेरास्ववियूले बुझायो गृहमन्त्रीलाई ज्ञापन पत्र – Nepal Press

विभिन्न माग राख्दै अनेरास्ववियूले बुझायो गृहमन्त्रीलाई ज्ञापन पत्र

दार्चुला घटनामा आफ्नो पुत्ला दहन गरेकोप्रति गृहमन्त्री खाणद्धारा असन्तुष्टि व्यक्त

काठमाठौं । दार्चुलाको मालघाटमा जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएको घटनाका सम्बन्धमा नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा गएको टोलीले मंगलबार गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझएको हो ।

ज्ञापनपत्रमा जनतालाई चाडपर्वको बेलामा राहत दिने निर्णय गर्न, सार्वजनिक सवारी साधनमा अघिल्लो सरकारले बढाएको २८ प्रतिशत भाडा घटाउन, विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत दिने व्यवस्थालाई निरन्तरता दिन, मूल्यवृद्धि रोक्न माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै गृहमन्त्री खाणले ज्ञापन पत्रमा समेटिएका माग सम्बोधन गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

सत्तारुढ गठबन्धन दलका विद्यार्थीले नै आफ्नो पुत्ला जलाएको घटनाप्रति आपत्ति जनाएका छन् । घटनाको सम्बन्धमा छानबिन समितिले अहिलेसम्मकै राम्रो प्रतिवेदन बुझाएको र उक्त प्रतिवेदन आफूले परराष्ट्र मन्त्रालयमार्फत भारतमा पठाए पनि सत्तारुढ दलकै विद्यार्थी संगठनले आफ्नो पुत्ला जलाएकोमा आपत्ति जनाएका हुन् ।

मन्त्री खाणले असन्तुष्टि व्यक्त गर्दै भने, ‘१५ साउनमा जयसिंह धामी तुइन तर्दा भएको प्रकरणमा हामीले मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएर स्थलगत अध्ययनपछि राम्रै प्रतिवेदन तयार भएको छ । उक्त प्रतिवेदन गृहबाट परराष्ट्र हुँदै कुटनीतिक नोटमार्फत भारतसम्म पुगिसकेको छ । मलाई लाग्छ प्रतिवेदनमा जे उल्लेख हुन पर्ने हो त्यो सबै विषयबस्तु उल्लेख भएको छ ।’

तर सत्तारुढ दलकै विद्यार्थीले सम्पर्क र समन्वयबिना पुत्ला जलाएकोप्रति मन्त्री खाणले दुख व्यक्त गरे । उनले भने, ‘यस्ता विषयमा मसँग सम्पर्क र समन्वय गर्दा उपयुक्त हुन्थ्यो के भएको हो जानकारी मैले दिइहाल्थे ।’ उहाँले यस्ता विषयमा आफूलाई जतिबेला पनि सम्पर्क गरेर जानकारी लिन सकिने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर