माओवादी छाडेको ४ वर्षमा कांग्रेसको गाउँपालिका सभापतिमा सर्वसम्मत ! – Nepal Press

माओवादी छाडेको ४ वर्षमा कांग्रेसको गाउँपालिका सभापतिमा सर्वसम्मत !

काठमाडौं । कुनैबेला नेपाली कांग्रेसलाई ‘वर्गशत्रु’ मान्ने माओवादी नेतृत्वको आन्दोलनमा होमिइरहँदा धादिङका ठाकुर गुरुङले सायदै सोचेका थिए, भविष्यमा उनी कांग्रेस पार्टीको स्थानीय नेतृत्व हाँक्न पुग्नेछन् । तर, राजनीतिको बाटो सँधै सीधारेखामा हिँड्दैन ।

माओवादी छोडेको चार वर्षमै गुरुङ नेपाली कांग्रेसको नेत्रावती गाउँपालिकाको सभापति बनेका छन् । त्यो पनि सर्वसम्मतरूपमा ।

सशस्त्र युद्धका समयमा तत्कालीन मार्पाक गाविसमा माओवादीले प्रभाव विस्तार गर्दै जाँदा स्थानीय निरञ्जना माविमा अध्ययनरत उनी पनि माओवादीमा आकर्षित भए । माओवादीका नियमित कार्यक्रम र प्रशिक्षणमा सहभागी हुँदा गाउँका सामन्त र भ्रष्टलाई तह लगाउने शक्ति माओवादी नै हो भन्ने उनलाई लाग्यो । त्यसैले ७ कक्षा पढ्दा नै उनी अनेरास्ववियू क्रान्तिकारीमा आबद्ध भए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी जिताउन इलाका सचिवालय सदस्यको भूमिकामा काम गरेका गुरुङ पार्टीको काम, अध्ययन र जागिर एकैसाथ अगाडि बढाउँदै थिए । जनमुक्ति मार्ग साप्ताहिकमा ‘हकर’ को काम गर्दै अध्ययनलाई निरन्तरता दिएका उनी क्रमशः पत्रकारितामा आकर्षित भए । स्थानीय रेडियोमा लामो समय काम गरे । त्यतिञ्जेल माओवादीका तर्फबाट जिल्ला जनजाति समन्वय समितिको उपाध्यक्ष पनि भइसकेका थिए ।

पत्रकारिता र पार्टीकारितासँगै अगाडि बढाएका गुरुङ २०७४ सालको स्थानीय निर्वाचनमा नेत्रावती गाउँपालिकाको अध्यक्षमा माओवादीका तर्फबाट उम्मेदवार भए । अन्तरघात कारण १ सय ३६ मतले पराजित हुनुपरेपछि उनलाई माओवादी मन पर्न छाड्यो । माओवादी निकट प्रेस सेन्टरको धादिङ जिल्ला कार्यवाहक अध्यक्षसमेत रहेका गुरुङ २०७४ साल मंसिर ८ गते कांग्रेसनिकट नेपाल प्रेस युनियनमा प्रवेश गरे ।

‘हिजो वर्गसंघर्ष र मुक्तिको कुरा गरियो तर खुला राजनीतिमा आएपछि माओवादी बिग्रियो । पार्टीभित्रै अन्तरघातको शिकार भएपछि मैले मेरा बाउबाजेको पार्टी सम्झिएँ,’ गुरुङले भने । उनको परिवारका अधिकांश सदस्य नेपाली कांग्रेसमा आवद्ध थिए । उनका हजुरबुबा बहादुर घले कांग्रेसका प्रजातन्त्र सेनानी नै थिए ।

‘जनयुद्धका नारा माओवादीले कार्यान्वयन गर्न सक्दैन भन्ने लागेपछि म देशकै पुरानो, आफ्ना बाउबाजेले मानेको पार्टीमा प्रवेश गरेँ,’ गुरुङ भन्छन् ।

नेपाली कांग्रेस नेत्रावती डबजोङ गाउँपालिकाको अधिवेशनमा गुरुङसहित ५ जना प्रत्यासी थिए । उनीभन्दा अनुभवी र पुरानो नेता पनि प्रत्याशी थिए । तर अन्तिममा सबैले उनको नाममा सहमति जनाए । प्रारम्भमा माओवादीबाट आएको भनेर ‘वेवास्ता’ गरेपनि अन्ततः सबैलाई रिझाएर उनी पालिका सभापति भएका छन् ।

‘हिजो माओवादी पृष्ठभूमिका कारण सुरूसुरूमा कांग्रेसमा गाह्रो परेको थियो,’ उनी भन्छन्, ‘अब त्यस्तो छैन, सबैले विश्वास गरेर जिम्मेवारी दिनुभएको छ । पार्टीलाई राम्रो हुने काम गर्छु ।’

आगामी निर्वाचनमा सो गाउँपालिका र धादिङ जिल्लामा कांग्रेस जिताउनु आफ्नो मुख्य योजना रहेको उनी बताउँछन् ।

‘म माओवादीमा हुँदै अन्तरघात भोगेको मान्छे हुँ । अब कांग्रेसमा अन्तर्घात हुन दिन्न । सबैलाई मिलाएर काम गर्छु’, उनी भन्छन् ।


प्रतिक्रिया

2 thoughts on “माओवादी छाडेको ४ वर्षमा कांग्रेसको गाउँपालिका सभापतिमा सर्वसम्मत !

  1. हार्दिक बधाई तथा सफल र उत्कृष्ट कार्यकालको शुभकामना ।
    जय नेपाल !

Leave a Reply to Ganga Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर