ज्योतिनगरको पहिरो व्यवस्थापनमा लुम्बिनी सरकारको चासो, तीन चरणका कार्ययोजना बनाइने – Nepal Press

ज्योतिनगरको पहिरो व्यवस्थापनमा लुम्बिनी सरकारको चासो, तीन चरणका कार्ययोजना बनाइने

रूपन्देही । बुटवलको ज्योतिनगरमा पहिरो व्यवस्थापन तथा पीडितको उद्दार गर्न लुम्बिनी प्रदेश सरकारले प्रतिवद्वता जनाएको छ ।

बुटवलको ज्योतिनगर पहिरो तथा तिनाउ नदी कटान पीडितहरुका लागि उद्दार, राहत तथा पुनःस्थापनका लागि ३ चरणका कार्ययोजनाको बनाउने भएको मुख्यमन्त्री कुलप्रसाद केसीले बताएका छन् । एक महिनाअघि गएको पहिरो नजिकै प्रदेश सरकारका सबै कार्यालय भएपनि वास्ता नगरेको भन्दै सरकारको आलोचना बढेको थियो ।

मुख्यमन्त्री कुलप्रसाद केसीले तत्काल राहत तथा पुनःस्थापनका लागि जिल्ला प्रशासन कार्यालयले तथ्याङ्क संकलनका लागि निर्देशन गरिएको बताए ।

नेपाली कांग्रेस बुटवल नगरसमितिले सोमबार यो विषयमा ध्यानाकर्षण पत्र बुझाएपछि उनले आवश्यक तयारीका लागि छिट्टै बैठक बसेर अघि बढ्ने योजनामा रहेको बताए ।

गएको भदौ १३ गते झरेको पहिरोले बुटवल–३ ज्योतिनगरका दर्जनौं घरपरिवार विस्थापित भएका छन् । यसैगरी भदौ ११ गते आएको वर्षाले बुटवल–११, बुद्धनगरका आधा दर्जन बढी घर९परिवार घरबारविहीन बनेका छन् ।

बाढीपहिरो तथा डुबानले विस्थापित हुँदा समेत प्रदेश सरकारले समयमै चासो नदिएको भन्दै आलोचना भएको छ । घटना भएको एक महिना बितिसक्दा पनि सरकारले प्रभावितहरुको तथ्याङ्कनको कामसमेत गर्न नसकेको भन्दै तीव्र आलोचना भएको हो ।

यसैगरी बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ६ लेन सडक विस्तार, कालिकापथ सडक विस्तार तथा बेलबास बेथरी सडक विस्तारलाई समेत तीव्रता दिन आवश्यक निर्देशन गरिने मुख्यमन्त्री केसीले आश्वासन दिएका छन् । सोमबार कांग्रेस नगरसभापति खेलराज पाण्डेसहितको टोलीले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

ज्योतिनगर पहिरो तथा तिनाउ नदी करिडोरका बाढी पीडितहरुलाई राहत, उद्धार र पुनःस्थापनाका लागि सभापति पाण्डेले ध्यानाकर्षण गराएका थिए ।

यसैगरी चौराह–गोलपार्क सडक विस्तारको काममा ढिलासुस्ती हुनुका साथै शहरको मुख्य सडक नै धुलाम्य र वर्षामा हिलाम्य हुँदा यात्रु तथा सहरबासीको स्वास्थ्यमा असर गर्नुका साथै दुर्घटनाको जोखिम भएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

कांग्रेसले बेलबास–बेथरी सडक विस्तार र कालिकानगर बाइपास सडक विस्तारको कामलाई समेत समयमै पूरा गर्नका लागि ध्यानाकर्षण गराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर