कांग्रेस अधिवेशन : ललितपुरका ६ मध्ये ४ पालिकामा संस्थापन पक्षको नेतृत्व – Nepal Press

कांग्रेस अधिवेशन : ललितपुरका ६ मध्ये ४ पालिकामा संस्थापन पक्षको नेतृत्व

ललितपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत ललितपुरका ६ वटै स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । १ महानगरपालिका, २ नगरपालिका र ३ गाउँपालिका रहेको ललितपुरका पालिकास्तरका कार्यसमितिमा मिश्रित नतिजा आएको छ ।

पालिकाको नेतृत्वमा भने सभापति शेरबहादुर देउवानिकट संस्थापन पक्षले अग्रता लिएको छ । संस्थापन पक्षले ललितपुर महानगरपालिकासहित ४ पालिकामा नेतृत्व पाएको छ । संस्थापनइतर समूहबाट २ गाउँपालिकामा नगर सभापति निर्वाचित भएका छन् ।

ललितपुरमा अधिकांश पालिकामा संस्थापन पक्षकै उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा भएको थियो । जिल्ला सभापति मदनबहादुर अमात्यको समर्थन रहेका शुभानन् धाख्वा ललितपुर महानगरपालिकाको सभापतिमा निर्वाचित भएका छन् । उनले संस्थापनइतर समूहका गणेशभक्त श्रेष्ठलाई पराजित गरे । धाख्वाले २ सय ८२ मत प्राप्त गर्दा श्रेष्ठले २ सय २१ मत ल्याएका थिए ।

संस्थापन पक्षबाट गोदावरी नगरपालिका सभापतिमा प्रदीप जोशी, बागमती गाउँपालिका सभापतिमा वीरबहादुर लोप्चन र महाकांल गाउँपालिका सभापतिमा खोमप्रसाद दाहाल सभापति निर्वाचित भएका छन् ।

संस्थापनइतर समूहबाट महालक्ष्मी नगरपालिकाको सभापतिमा दिवाकर सिलवाल र कोञ्ज्योस्योम गाउँपालिकाको सभापतिमा सरोज घलान निर्वाचित भएका छन् । ललितपुरमा संस्थापन पक्षका नेताहरू मदनबहादुर अमात्य, उदयशमशेर राणा र रामकृष्ण चित्रकारका उम्मेदवारबीच नै कतिपय पालिकामा प्रतिस्पर्धा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर