ओली सरकारले गरेका नियुक्ति हटाउन सरकार आक्रामक, तीनजनासँग सोधियो स्पष्टीकरण – Nepal Press

ओली सरकारले गरेका नियुक्ति हटाउन सरकार आक्रामक, तीनजनासँग सोधियो स्पष्टीकरण

काठमाडौं । गठबन्धन सरकारले केपी ओली ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने प्रक्रियालाई तीव्रता दिएको छ ।

भूमि आयोग खारेजीबाट शुरु भएको प्रक्रिया नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेजीसम्म आइपुग्दा सरकारले कतिपय समिति नै खारेजी र कतिपय व्यक्ति हटाउने दुवै नीति अख्तियार गरेको छ ।

यसैबीच सरकारले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोकालाई हटाउने प्रक्रिया थालेको छ ।

युवा तथा खेलकुद मन्त्रालय स्रोतका अनुसार उनीहरुलाई हटाउन कानूनी प्रक्रिया पूरा गर्न लागिएको छ । स्पष्टीकरण सोधेर सफाइको मौका नदिई हटाउँदा अदालतबाट पुनर्वहाली भएर आउने भएकाले तीनै जनालाई स्पष्टीकरण सोधिएको छ ।

मन्त्रालयबाट उठाइएको फाइल मन्त्रिपरिषद बैठक हुँदै फेरि मन्त्रालयमा फर्किएको छ । तीनै जनासँग काम चित्त बुझ्दो नभएको, सरकारको नीति निर्देशन नमानेको लगायतका कारण देखाउँदै लिखित स्पष्टीकरण मागिएको स्रोतले जनाएको छ ।

सफाइको मौका दिने ऐनको प्राबधानको प्रक्रिया टुंगो लगाएर अर्को मन्त्रिपरिषद बैठकबाट तीनै जनालाई हटाउने गरि प्रस्ताव उठाउन लागिएको छ । मन्त्रिपरिषदको निर्णयबाट नियुक्त भएकाले उनीहरुसँग स्पष्टीकरण पनि मन्त्रिपरिषदबाटै सोधिएको छ ।

तीनैजनाले स्पष्टीकरणको पत्र भने बुझिसकेका छैनन् । युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल एमाले केन्द्रीय सदस्य समेत हुन् । उनी दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए ।

त्यस्तै खेलकुद परिषदका सदस्य सचिव सिलवाल पनि दोस्रोपटक नियुक्त भएका हुन् । तीनैजनाको नियुक्ति प्रतिस्पर्धाको प्रक्रिया अपनाएर गरिएकाले हटाउँदा अदालतबाट पुनर्वहाली हुने सम्भावना बढी देखिएकाले सरकारले सबै कानूनी प्राबधान पूरा गर्न खोजेको मन्त्रालयका उच्च अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर