सेयर बजारमा सुनामीः ३९ दिनमा नेप्से ५१३ अंक घट्यो, लगानीकर्ता आतंकित – Nepal Press

सेयर बजारमा सुनामीः ३९ दिनमा नेप्से ५१३ अंक घट्यो, लगानीकर्ता आतंकित

काठमाडौं । नेपालको सेयर बजार पछिल्लो समय फेरि धराशयी बनेको छ । ३९ दिनको अन्तरालमा नेप्सेमा ५१३ अंकको पहिरो गएपछि लगानीकर्ता आत्तिएका छन् ।

गत साउन २९ गते मौद्रिक नीति सार्वजनिक भएसँगै नेप्सेमा त्यसको नकारात्मक असर देखिन थालेको थियो । त्यसयता आक्कलझुक्कल बढे पनि अधिकांस दिन ओरालो नै लागेको छ । यो साताको पहिलो दुई दिनमा नै १३४ अंकको गिरावट देखिन्छ । आइतबार ६१ अंकले गिरेको नेप्सेमा सोमबार ७३ अंकको क्षति भएको थियो ।

नेप्सेमा सूचिकृत भएका कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्ने बेलामा नेप्से घटेको हो । गत साउन २९ गते गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा १२ करोडको थे्रसहोल्ड लगाएका थिए । त्यसको बाबजुद पाँच दिनपछि भदौ २ गते नेप्से अहिलेसम्मकै उच्च ३१९८.६० विन्दुमा पुग्यो । त्यस दिन कारोबार रकम पनि २१ अर्ब रुपैयाँ बराबरको भयो । तर, त्यसयताका ३९ दिन तीव्र उतारचढावयुक्त रहे ।

आक्कलझुक्कल उच्च अंकले बढ्ने र फेरि पहिरो जाने सिलसिला चलिरहेको छ । भदौ २० गते अहिलेसम्मकै उच्च १४७ अंकले नेप्से घट्यो जुन ५.०३ प्रतिशतको गिरावट हो । त्यसपछि नकारात्मक सर्किट लाग्दै बजार ४० मिनेटमै बन्द गरिएको थियो । अन्तमा त्यसदिन १०८ अंकले नेप्से घट्दै बजार बन्द भयो । त्यसैको भोलीपल्ट बजार पुन नाटकीय रुपमा १६१.९४ अंकले वृद्धि हुन पुग्यो ।

यी दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ चन्द्र साउदले आफूखुसी पदबाट राजिनामा दिए । साथै, शेयर बजारलाई नियमन गर्ने संस्था धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना पनि यसै समयमा निलम्बनमा परे । शेयर बजारको नियमन गर्ने संस्थाका उच्च अधिकारीले राजिनामा दिनु र निलम्बनमा पर्नुको कारण चाहिँ संस्थाको नियमविपरीत इन्साइडर ट्रेडिङलाई सघाउनुका साथै सर्वोत्तम सिमेन्टको सेयर आफन्तका नामा खरिद गर्नु रहेको थियो ।

उनीहरुले पदीय दुरुपयोग गरी शेयर खरिद गरेको देखिएको भन्दै कारबाहीको माग भएपश्चात अर्थमन्त्रालयले बनाएको छानविन समितिले प्रतिवेदन बुझाइसकेको छ ।

यही बीचमा लगानीकर्ता, राष्ट्रबैंक तथा अर्थमन्त्रालयबीच निक्कै घम्साघम्सी भयो । लगानीकर्ताले मौद्रिक नीतिमार्फत १२ करोडको शेयर धितो कर्जा सीमा खारेजी तथा गभर्नरको राजिनामा माग गर्दै आमरण अनसनको समेत घोषणा गरे ।

यसैबीचमा शेरबाहदुर देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारप्रति उदासिन रहेको र लगानीकर्ताको माग नसुनको भन्दै उनको तीब्र आलोचना भएयो । अर्थमन्त्री शर्माले शेयर बजारमा अर्थमन्त्रीले केही बोल्दैमा शेयर बजार घट्ने–बढ्ने नहुने भन्दै बचाउ गरे । धितोपत्र बोर्डले पनि लगानीकर्ताको मागलाई सम्वोधन गर्छौ भन्दै लगानीकर्ताको आन्दोलनमा उत्रिएका लगानीकर्तालाई मत्थर पा¥यो ।

अर्कोतिर बैंक तथा वित्तीय संस्थाले तरलताको अभाव भएको भन्दै कर्जा व्याजदर समेत बढाए । यसको पनि नकारात्मक प्रभाव बजारमा परेको छ ।

यसरी आफ्नै लयमा हिँडिरहेको शेयर बजारलाई नियामक निकायदेखि राष्ट्रबैंकले तारो बनाएपछि अहिले शेयर बजार तल्लो विन्दुमा झरेको छ । नेप्सेमा सूचिकृत कम्पनीले धमाधम लाभांस वितरणको समयमा नेप्से लगातार घटेपछि साना तथा भर्खरै शेयर बजारमा प्रवेश गरेकाहरु अत्तिएका छन् । केही लगानीकर्ता त योबीचमा नै पलायन भइसकेका पनि छन् । अझै नेप्से कता जाने हो भन्न सकिने अवस्था छैन ।

सेयर विश्लेषक मुक्ती अर्याल भने अहिले लगानीकर्ता अत्तिइहाल्नुनपर्ने बताउँछन् । विभिन्न कारणले नेप्सेमा ठूलो पहिरो गएकाले यो तङ्ग्रिन केही हप्ता वा महिना लाग्ने उनको भनाइ छ । अहिले बजार करेक्सन भएकाले लगानीकर्ताले केही समय धैर्य गर्न उनले सुझाव दिए ।

‘नेप्सेले जति उत्तरचढाब बेहोर्नु प¥यो त्यो बेहोरिसकेकाले अब विस्तारै नेप्से बढ्ने छ,’ उनले भने ।

नेप्सेको उचाइ यति नै पुग्छ वा यसै हुन्छ भनेर ठ्याक्क भन्न नसकिने भएपनि अहिलै वियरिसको ट्रेन्ड आइनसकेको विश्लेषक अर्याल बताउँछन् ।

‘नेप्सेमा सूचिकृत कम्पनीले धमाधम लाभांस घोषणा गर्दैछन्, साथै असोजको अन्तिमा कम्पनीको पहिलो त्रैमासिक विवरण पनि आउने भएकाले बजार विस्तारै अघि बढ्ने छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर