टीकटकमा भिडेका पुण्य गौतमः दुई दिन लाइभ बस्दा दुई लाख कमाए ! (कुराकानीसहित) – Nepal Press

टीकटकमा भिडेका पुण्य गौतमः दुई दिन लाइभ बस्दा दुई लाख कमाए ! (कुराकानीसहित)

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् ।

टीकटक लाइभमा बसेकै भरमा मनग्गे आम्दानी गर्न सकिने चाल पाएपछि गौतम अरु सबै कामधन्दा (प्राय फोगटका) छाडेर यसमा होमिएका हु्न् । उनलाई छोटो समयमै फलिफाप भएको छ । तीन दिन लाइभ बस्दा करिब २ लाख रूपैयाँ आम्दानी भएको उनले बताए ।

कञ्चनपुरका अंशु बर्मा नाम गरेका युवकले १५ महिनामै टीकटकबाट करोड कमाएको भनेर सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको थियो । उनलाई फ्लप पार्ने गरी पुण्य गौतम उदाएका छन् ।

गौतम पहिलोपटक गत शुक्रबार बेलुकी श्रीमतीसँगै लाइभमा बसेका थिए । ९ बजेबाट लाइभ बसेका उनी बिहान साढे ५ बजेमात्र उठे । आफ्नो लाइभमा एकैपटकमा १२ हजारसम्म प्रयोगकर्ताहरू जोडिएको गौतमले बताए ।

‘त्यसपछि त मलाई रस पसिहाल्यो,’ उनले भने, ‘अब समय मिलेसम्म बसिन्छ ।’

श्रीमतीको प्रेरणाले आफू टीकटक लाइभमा बस्न थालेको गौतमले बताए । उनले भने, ‘यसभित्रका प्राविधिक पक्षहरुबारे मलाई धेरै जानकारी थिएन । श्रीमतीले नै सबै सिकाएकी हुन् ।’

डलर कमाउनकै लागि निद्रा मारीमारी टीकटकमा लाइभमा बस्न थालेको भनेर उनको ट्रोल पनि भइरहेको छ । गौतम भने डलर कमाउने भन्दा पनि संसारभरका मानिसहरूसँग जोडिने उद्देश्य लिएको बताउँछन् ।

‘यो टीकटकको दुनियाँ गजबको रहेछ,’ उनले भने, ‘यसमा अल ओभर द वर्ल्ड जोसँग पनि जोडिन सकिन्छ । यही कुराले मलाई लोभ्याएको हो ।’

गौतमसँग गरिएको थप संवादः

– युट्यूवमा छाइरहनुभएकै थियो, एक्कासी कसरी टीकटक लाइभको भुत चढ्यो तपाईंलाई ?

इमान्दारितापूर्वक भन्नुपर्दा म योजनाबद्ध तरिकाले आएको होइन । अस्ति शुक्रबार के भयो भने श्रीमतीजीले ‘एकछिन फ्रेस हुनुपर्‍यो लाइभमा बसौं’ भन्नुभयो । ल न त भनेर बसेँ । म देखिनासाथ एकैचोटि ४-५ हजार जोडिन आउनुभयो ।

लाइभमा आउनेहरूले धमाधम उपहारहरू फ्याँक्नुहुने रहेछ । मलाई त यस्तो हुन्छ भन्ने पनि थाहा थिएन । गजबै लाग्यो । अनि त म ९ बजेदेखि लाइभ बसेको मान्छे बिहान साढे पाँच बजे मात्रै उठेँ । त्यतिञ्जेलमा मरोमा ३ लाखजति लाइक आएछ । एकचोटिमा १२ हजारसम्म जोडिन आउनुभयो । तपाईंले हेर्नुभएको होला त्यो बेला निद्राले आँखा पनि राताराता भएका थिए ।

त्यसदेखि यता लगातार बसिरहेको छु । गजब मजा आइरहेको छ ।

– तपाईंप्रति टीकटकमा मान्छेहरूको यतिविधि आकर्षण चाहिँ किन होला त ?

हेर्नुस्, अरुले हेर्दा जाबो लाइभ बस्ने त हो नि भनेजस्तो देखिन्छ । तर, यो सजिलो काम होइन । यसमा धेरै दु:खकष्टहरू छन् । धैर्यता चाहिन्छ । लगातार बोलिरहने सामर्थ्य चाहिन्छ । र, सबैभन्दा मुख्य कुरा त सेन्स अफ ह्यूमर चाहिन्छ ।

मेरो सेन्स अफ ह्यूमर तपाईंलाई थाहा नै छ । मान्छेहरूले भन्ने गर्छन् कि भरतमणि पौडेल कमेडी च्याम्पियन भए पनि पुण्य गौतमले जति हँसाउन सक्दैन । म आफ्नो सेन्स अफ ह्यूमरले सबैलाई लाइभमा अड्याएर राख्न सक्छु । सबैमा यस्तो क्षमता कहाँ हुन्छ भन्नुस् त ?

एकजना विदेशमा बस्ने इशा गुरुङ भन्ने बैनी हुनुहुन्छ । सामाजिक सञ्जालमा धेरै फलोअर्स छन् उहाँका । उहाँले पनि लाइभमा बस्छु भनेर तात्नुभएछ । तर, धेरैले सुझाव दिएछन् कि तपाईंले सक्नुहुन्न किनकी तपाईंसँग पुण्य गौतमजस्तो बोल्ने र हँसाउने क्षमता छैन । त्यसपछि हच्किनुभयो ।

– लाइभ बसेर दिनमै लाखौं कमाइरहनु भएको चर्चा छ, वास्तविकता के हो ?

इमान्दारितापूर्वक भन्नुपर्छ पैसा त कमाइँदो रहेछ । तीन दिनमा म दुई दिनमात्रै लाइभ बसेँ । बीचमा एक दिन ब्रेक लिएँ । दुई दिन ४८ घण्टामा शौचालय जाने, खाने र सुत्नेबाहेक सबै समय लाइभमा बिताएको छु । यसरी लाइभ बस्दा झण्डै १८/१९ सय डलर जति आम्दानी भएको छ । यद्यपि, पैसा साट्न चाहिँ भ्याएको छैन ।

– तपाईं डलर कमाउने लोभले मात्रै टीकटक लाइभमा भिडिरहनुभएको हो कि अरु पनि कारण छन् ?

इमान्दारितापूर्वक भन्नुपर्दा मैले चाहिँ सामाजिक सेवामा खर्च अलिकति गरौं भनेर हो । मुख्य उद्देश्य यो हो । अर्को कुरा, टीकटकमा अशिक्षित अल्पशिक्षित र आलाकाँचा मान्छेहरु हावी भए । यहाँ शिक्षित बौद्धिक राजनीतिक बुझेको मान्छे पनि चाहिन्छ भनेर हो ।

मलाई अहिले अंशुबर्मा भन्ने भाइसँग पनि तुलना गरिरहेका छन् । तर, उनको र मेरो कुनै तुलना हुँदैन । उनी मेरो लागि त छोराजस्तो हो । मैले र उनले बोल्ने प्रस्तुति स्तर नै अर्को हुन्छ । जे भए पनि म त पीएचडी स्कलर हो नि । म राजनीतिबाट उदाएको मान्छे । ती केटाकेटीसँग प्रतिस्पर्धा गर्नु नै छैन । तर, मान्छे के भन्न लागेका छन् भने अंशु बर्माको मार्केटको सटर पुण्य गौतमले बन्द गराइदिन लाग्यो पनि भन्छन् ।

– तपाईंहरूले लाइभ बसेर कमाउने पैसा त आखिर नेपालीहरुकै हो नि होइन ?

मेरो लाइभमा विदेशीहरू पनि आउनुहुन्छ । उहाँहरूले पनि मलाई उपहार पठाउनुभएको छ । आज लाइभ बस्दा एकजना यूरोपको व्यक्ति आउनुभएको थियो । अल ओभर द वर्ल्डबाट आउनुहोस् भन्ने चाहन्छु ।

– तर अरु देशका मान्छेहरूसँग अन्तरक्रिया गर्न त भाषाको समस्या आउँदैन ?

अंग्रेजी नजान्ने हो भने त समस्या आउन सक्छ । तर, म त पीएचडी स्कलर मान्छे हो । मेरो श्रीमतीले पनि पोलिटिकल साइन्समा मास्टर गरिसकेकी छन् । हामीलाई भाषाको समस्या छैन । म अंग्रेजी माध्यमबाट आउने अल ओभर द वर्ल्डका मान्छेहरूलाई स्वागत गर्छु ।

– यसरी दिनरात लाइभमा बस्दा तपाईंले बोल्ने विषय चाहिँ के हुन्छ ?

म अलिकति मोटिभेसनल कुराहरू भनिरहेको हुन्छु । तर, टीकटक लाइभमा जोडिन आउनेहरुको मुख्य उद्देश्य हुन्छ आफ्नो फलोअर्स बढाउने । कसैका १०० जना पनि फलोअर्स हुँदैनन् भने मेरो लाइभमा बसेपछि १०००-२००० जना पुग्छन् । यसैका लागि उहाँहरूले उपहारहरू पठाउनुहुन्छ । कसैले चश्मा, कसैले घडी कसैले के । जसले उपहार दिन्छ, उसको नाम माथि चढ्छ अनि उसलाई मैले फलो गर्छु । त्यो देखेपछि अरुले पनि फलो गर्छन् । त्यसैले यसमा दोहोरो स्वार्थ छ । उहाँहरूले फलोअर्स कमाउनुहुन्छ, मैले उपहार ।

– भनेपछि अब तपाईं युट्यूवरलाई अन्तर्वार्ता दिन छोडेर रातदिन टीकटकमै रमाउने हुनुभयो ?

म खासमा सोखले टीकटकमा बसेको हो । प्रोफेसनल तरिकाले त जान सक्दिन होला, मेरो त्यस्तो स्वभाव छैन । अहिले चाहिँ इन्जोइ गरिरहेको छु । यो कहिलेसम्म जान्छ यसै भन्न सक्दिनँ ।

मेरो योजना चाहिँ के छ भने बिहान ८ बजेदेखि अराउन्ड १२ बजेसम्म लाइभ बस्छु । दिउँसो अरु काममा हिँड्छु । अनि राति ७-८ बजेदेखि १२-१ बजेसम्म लाइभ बस्छु । अघि बिहान पनि ३ हजारजना लाइभमा हुँदा-हुँदै छोडेर बाहिर निस्केको हुँ । मलाई त बसेपछि हत्पत्ति छोड्नै दिँदैनन् । तर, अरु काम पनि त गर्नुपर्‍यो नि ।

– अब टीकटकबाट कमाएको पैसाले के गर्ने त ?

मेरो मुख्य उद्देश्य त समाजसेवा नै हो । अरु तपसिलका कुराहरू त छँदैछन् नि ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर