प्रधानमन्त्री देउवा स्काउट सिध्याउने र सम्पत्ति कब्जा गर्ने गिरोहका फन्दामा परेको भण्डारीको आरोप (भिडिओ) – Nepal Press

प्रधानमन्त्री देउवा स्काउट सिध्याउने र सम्पत्ति कब्जा गर्ने गिरोहका फन्दामा परेको भण्डारीको आरोप (भिडिओ)

काठमाडौं । सरकारले खारेज गरेको नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले अहिलेको सरकार असक्षम र अदूरदर्शी रहेको भन्दै स्काउट सिध्याउन खोज्ने गिरोहको फन्दामा प्रधानमन्त्री परेको आरोप लगाएका छन् ।

सोमवार काठमाडौंमा आयोजित नेपाल स्काउट विशेष पत्रकार सम्मेलनमा भण्डारीले संस्थामा आफूले पूरा जिम्मेवारी निभाएको तर स्काउटको ऐन, कानून बनाउने कुरामा सरकार असक्षम र अदूरदर्शी रहेको बताए ।

स्काउटलाई अघि बढ्नै नसक्नेहरुले आफूलाई निकाल्नकै लागि निकालेको भन्दै उनले सरकारको यो निर्णय स्काउटलाई अघि बढ्नै नदिने झुन्डहरुलाई खुशी बनाउनका लागि भएको समेत दावी गरे ।

भण्डारीले सरकारले गैरकानूनी ढंगले खारेज गरेकोमा अब कसरी जाने भन्ने कानूनी सल्लाह भइरहेको बताए ।

भण्डारीले भने– मैले मागेको त्यो ऐन क्याबिनेटको विधायन समितिमा गएर अड्किएर बसेको छ, यो केही कार्यकर्तालाई देखाउने, हिजोदेखि स्काउटलाई बढ्नै नदिने केही झुन्डहरुलाई खुशी बनाउन गरिएको निर्णय हो, अहिलेसम्म यत्रो शंकट पर्दा फेसबुकमा लेखेर बस्नेहरु छन् तर बाहिर निस्केर सहयोग गरेका छैनन्, अहिले आउन खोज्ने लिडरहरु बालबालिकाकै चरित्रलाई टर्चर दिन खोज्ने गरिरहेका छन्, म अब कानूनि सल्लाह लिन्छु, यसमा जे ठहर्छ त्यही अनुसार अघि बढ्छु ।

भण्डारीले प्रधानान्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जिम्मेवारी पूरा गर्न नसकेर कार्य समिति खारेज गरेको भन्नु अस्वभाविक र आश्चर्यजनक रहेको बताए । देशको प्रधानमन्त्रीले तथ्यहीन आधारमा निर्णय लिनु दुःखद् भएको समेत उनले बताए ।

भण्डारीले भने–‘७० वर्षको इतिहासमै सबैभन्दा बढी कार्यप्रगति र तुलनात्मक रुपमा परिणाममुखी एवं ऐतिहासिक महत्वका कार्यहरु गर्दै नेपाल स्काउटलाई एउटा नयाँ उचाइमा पुर्याउने हालको मेरो नेतृत्वको राष्ट्रिय तदर्थ समितिलाई नेपाल स्काउटका संरक्षक एवं प्रमुख स्काउट समेत रहनुभएका सम्माननीय प्रधानमन्त्रीज्यूले जिम्मेवारी पूरा गर्न नसकेकाले जिम्मेवारीबाट अलग गरिएको भन्ने निर्णय गर्नु अस्वभाविक र आश्चर्यजनक छ, म सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, तपाईको आँखामा छारो हालिएको छ, तपाईलाई मिथ्यांकको गाथा सुनाएर म र मेरो नेतृत्वमा रहेको समितिलाई केवल राजनैतिक पूर्वाग्रहमा हटाउन खोजिएको हो ।

आफूलाई सामाजिक सञ्जालमा आक्रमण भइरहेको र व्यक्तिगत जीवनको विषयवस्तुलाई जोडेर आफूमाथि प्रहार भइरहेको भण्डारीले बताए ।

लामो समयदेखि नेपाल स्काउटको सम्पत्ती कब्जा गरेर भाडा समेत नतिरिरहेको खड्का ल्याण्ड डेभलपमेण्ट प्रा.लि.लाई नियमित भाडा तिराउन र गैरकानूनिरुपमा कब्जा गरेको जग्गा फिर्ता गराउन खोज्दा विभिन्न प्रलोभन देखाएको र आफू प्रलोभनमा नपरेपछि खड्का ल्याण्ड डेभलपमेण्ट प्रा.लि. र स्काउटकै केही व्यक्ति आफूविरुद्ध लागेको समेत भण्डारीले खुलासा गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *