वागमती प्रदेशमा देउवाइतर पक्ष बलियो, कुन पालिका कसले जित्यो ? (सूचीसहित) – Nepal Press

वागमती प्रदेशमा देउवाइतर पक्ष बलियो, कुन पालिका कसले जित्यो ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वागमती प्रदेशमा अधिवेशन भएका स्थानीय तहको परिणाममा संस्थापनइतर पक्ष बलियो देखिएको छ । हालसम्म ८० स्थानीय तहको परिणाम सार्वजनिक भएकोमा देउवालाई इतर समूहले पछि पारेको हो ।

काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक र रसुवामा पालिकाको नेतृत्व चयन भइसकेको छैन । बाँकी ९ जिल्लाका अधिकांश स्थानमा सहमतिबाट नेतृत्व चयन गरिएको छ । नेपाल प्रेसलाई प्राप्त तथ्यांकअनुसार वागमती प्रदेशभित्र अधिवेशन सम्पन्न भई परिणाम घोषणा भएका ८० पालिकामध्ये ३१ मा सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहले जित हासिल गरेको छ ।

त्यस्तै देउवाइतर समूहका ४६ जनाले पालिकाको नेतृत्व हासिल गरेका छन् । पालिका सभापति निर्वाचितमध्ये ३ जना कुनै समूहमा खुलेका छैनन् वा दुवै समूहले आफ्नो पक्षमा रहेको दावी गरेका छन् ।

परिणामको जिल्लागत विवरण

१. भक्तपुर

चार नगरपालिका रहेको भक्तपुरमा संस्थापन र इतरसमूहबीच बराबरी भएको छ । संस्थापन समूहले २ र इतर समूहले २ नगरपालिकामा नेतृत्व हात पारेका छन् । संस्थापनतर्फबाट चाँगुनारायण नगरपालिकाको सभापतिमा शिवहरी केसी र सूर्यविनायक नगरपालिकाको सभापतिमा निशान ढुंगेल निर्वाचित भएका छन् । त्यस्तै संस्थापनइतर समूहबाट भक्तपुर नगरपालिका सभापतिमा राजेन्द्र तमखु र मध्यपुर थिमिमा हरिदास प्रजापति विजयी भएका छन् ।

२. धादिङ

धादिङका १३ पालिकामध्ये १० पालिकामा मात्रै अधिवेशन सम्पन्न भएको छ । निलकण्ठ नगरपालिका, नेत्रावती गाउँपालिका र रुवीभ्याली गाउँपालिकामा निर्वाचन हुन सकेको छैन । अधिवेशन भएका १० मध्ये २ मा निर्वाचन भएको थियो । जसमा संस्थापन पक्ष र इतर पक्षले १-१ पालिका जितेका छन् । नतिजा आएका १० मध्ये संस्थापन पक्षले २ पालिकामात्रै जितेको छ भने संस्थापनइतर पक्षले ८ पालिकामा सभापति पाएको छ । संस्थापन पक्षका मरिचमान तामाङ खनियाँवास गाउँपालिकाको सभापतिमा निर्विरोध भए भने सिद्दलेकमा संस्थापन पक्षका रामशरण गिरी सभापतिमा निर्वाचित भए ।

संस्थापनइतरबाट धुनिवेशी नगरपालिकामा सुरज उप्रेती, थाक्रे गाउँपालिकामा रामप्रसाद बिडारी, गल्छी गाउँपालिकामा दीपक कार्की , गजुरी गाउँपालिकामा भूमी कडेंल, बेनिघाट रोराङ गाउँपालिकामा ऋषिनाथ त्रिपाठी, ज्वालामुखी गाउँपालिकामा रेशमलाल काप्री, त्रिपुरासुन्दरी गाउँपालिकामा राजु उप्रेती र गंगाजमूना गाउँपालिकामा फैसिंह तामाङ सभापतिमा निर्वाचित भएका छन् । धादिङमा संस्थापन तर्फको नेतृत्व पूर्व मन्त्री दिलमान पाख्रिन र निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगानाले गरेका छन् भने संस्थापन इतर समूहको अगुवाई पूर्व सांसद रामनाथ अधिकारी र जिल्ला सभापति रमेश धमलाले गरेका छन् ।

३. नुवाकोट

नुवाकोटमा केन्द्रीय गुटको प्रभावभन्दा फरक ढंगले पालिका अधिवेशन सम्पन्न भएको छ । कांग्रेस नेता अर्जुननरसिंह केसी र जिल्ला सभापति जगदीश्वरनरसिंह केसी नेतृत्वको समूहविरुद्ध कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महत, पूर्वअर्थमन्त्री डा. रामशरण महत र केन्द्रीय सदस्य बहादुरसिंह लामाको समूह प्रतिस्पर्धामा थियो । जिल्लाका दुवै नगरपालिकामा संस्थापनइतर पक्षका उम्मेदवारले जित हासिल गरेका छन् । विदुरमा हरिलाल श्रेष्ठ र बेलकोटगढीमा लेखनाथ मुडभरी संस्थापनइतर पक्षबाट बिजयी भए ।

तारकेश्वर गाउँपालिका सभापतिमा केशव अर्याल, सूर्यगढी गाउँपालिकामा शंकर प्याकुरेल, लिखु गाउँपालिकामा विनोद पाठक , ककनी गाउँपालिकामा भाग्यश्री लामा र दुप्चेश्वर गाउँपालिकामा रोजलाल मोक्तान संस्थापनइतर समूहबाट निर्वाचित भए । तादी गाउँपालिकाको सभापतिमा निर्वाचित नारायणप्रसाद पाण्डे पनि डा.रामशरण महतनिकट भएकाले केन्द्रको राजनीतिमा संस्थापन इतर समूहमै रहेका छन् । संस्थापन पक्षबाट मेघाङ गाउँपालिकामा सिंहराज तामाङ, किश्पाङ गाउँपालिकामा रणबहादुर तामाङ, पञ्चकन्या गाउँपालिकामा माधवप्रसाद खनाल र शिवपुरी गाउँपालिकामा कविराज गुरुङ सभापतिमा निर्वाचित भएका छन् । निर्वाचित सभापतिमध्ये केन्द्रीय निकटताका आधारमा संस्थापन पक्षका ४ र इतरपक्षका ८ जना रहेका छन् ।

४. काभ्रेपलाञ्चोक

काभ्रेका १३ पालिकामध्ये १२ को अधिवेशन सम्पन्न भएको छ । महाभारत गाउँपालिकामा प्राविधिक कारणले अधिवेशन हुन सकेको छैन । परिणाम आएका १२ मध्ये संस्थापन पक्षले ९ पालिकामा सभापति जितेको छ । त्यस्तै संस्थापन इतर पक्षले ३ स्थानमा जित हासिल गरेको छ । काभ्रेमा सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्ण सिटौंला पक्षबीच सहकार्य भएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष प्रतिस्पर्धामा छ । संस्थापन पक्षबाट बनेपा नगरपालिकामा महेशकुमार कर्माचार्य, धुलिखेल नगरपालिकामा विदुरबहादुर बस्नेत,बेथानचोक गाउँपालिकामा प्रेमबहादुर तिमल्सिना, तेमाल गाउँपालिकामा ज्ञानबहादुर लामा, नमोबुद्ध नगरपालिकामा कुन्साङ लामा, पनौती नगरपालिकामा रामशरण भण्डारी, रोशी गाउँपालिकामा दुधराज तामाङ, भुम्लु गाउँपालिकामा दावा लामा र चौरीदेउराली गाउँपालिकामा शेरबहादुर तामाङ सभापतिमा विजयी भएका छन् ।

संस्थापनइतर समूहबाट पाँचखाल नगरपालिकामा सञ्जय तामाङ, मण्डनदेउपुर नगरपालिकामा कश्यप पौडेल र खानीखोला गाउँपालिकामा दोर्जेमान जिम्बा सभापतिमा निर्वाचित भएका छन् । काभ्रेमा देउवा-सिटौला समूहको नेतृत्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइँले गरेका छन् भने पौडेल पक्षको नेतृत्व जिल्ला सभापति मधु आचार्यले गरेका छन् ।

५. सिन्धुली

सिन्धुलीका ९ पालिकामध्ये ७ मा सर्वसम्मतरूपमा नेतृत्व चयन भएको छ । सर्वसम्मत नेतृत्व चयन भएका पालिकामा दुवै पक्षले निर्वाचित सभापति आफ्नो समूहको रहेको दावी गर्दै आएका छन् । परिणामअनुसार ९ मध्ये संस्थापनइतर भनेर चिनिएका ७ जना र संस्थापन पक्षका २ जना निर्वाचित भएका छन् । सिन्धुलीमा केन्द्रको संस्थापन पक्षको नेतृत्व माणिक ढकाल र प्रेमचन्द्र दाहालले गर्ने गरेका छन् । संस्थापनइतर समूहमा वर्तमान सभापति उज्ज्वल बराल र पूर्व सांसद मोहन बराल सक्रिय छन् ।

निर्वाचितमध्ये हरिहरपुरगढी गाउँपालिकामा बमबहादुर स्याङ्वा र मरिण गाउँपालिकामा रामबहादुर वाइवा केन्द्रको संस्थापन समूह निकट मानिन्छन् । दुधौली नगरपालिकामा निर्वाचित बलराम कार्की, कमलामाई नगरपालिकाका सभापति कमल पोखरेल, सुनकोशी गाउँपालिकाका सभापति चन्द्र श्रेष्ठ, गोलन्जोरका सभापति मोतीराज सापकोटा, तीनपाटन गाउँपालिकाका सभापति सोमप्रसाद घिमिरे र घ्याङखेल गाउँपालिकाका सभापति गणेश पुलामी संस्थापनइतरबाट निर्वाचित हुन् ।

६. रामेछाप

रामेछापका ८ स्थानीय तहमध्ये ५ मा संस्थापन इतर समूह विजयी भएको छ । दुई पालिकामा जितेका सभापतिहरू केन्द्रको गुटमा खुलेका छैनन् भने संस्थापन पक्षले एक पालिकामा सभापति जितेको छ । मन्थली नगरपालिका सभापतिमा निर्वाचित शंकर अधिकारी र गोकुलगंगा गाउँपालिकाको सभापतिमा निर्वाचित मणिकुमार लामा केन्द्रीय गुटमा दुवैतिर खुलेका छैनन् ।
रामेछापमा केन्द्रको भन्दा जिल्लाको प्रभावअनुसार प्रतिस्पर्धा भएको बताइन्छ । जसमा संस्थापन इतरका जिल्ला सभापति लवश्री न्यौपाने पक्षका ५ जनाले पालिका सभापति जितेका छन् । संस्थापन इतरबाट रामेछाप नगरपालिकामा कमलविक्रम कार्की, सुनापति गाउँपालिकामा जनक खड्का, खाँडादेवी गाउँपालिकामा तेज घिसिङ, लिखु तामाकोशी गाउँपालिकामा भोजराज खड्का र उमाकुण्ड गाउँपालिकाको सभापतिमा हिक्मत सुनुवार निर्वाचित भएका छन् । संस्थापन पक्षका केशव कुमार लामा दोरम्बा शैलुङ गाउँपालिकाको सभापतिमा निर्वाचित भए ।

७. दोलखा

दोलखाका ९ स्थानीय तहमध्ये ८ वटामा मात्रै पालिका अधिवेशन सम्पन्न भएका छन् । कालिन्चोक गाउँपालिकामा विवादका कारण अधिवेशन हुन सकेको छैन । परिणाम आएका ८ मा संस्थापन र इतर समूहबाट ४-४ जना पालिका सभापतिमा निर्वाचित भएका छन् । संस्थापन पक्षबाट बैतेश्वर गाउँपालिकाको सभापतिमा शमशेर घिसिङ, गौरिशंक गाउँपालिकाको सभापतिमा श्यामसुन्दर तामाङ, जिरी नगरपालिकाको सभापतिमा सोनाम शेर्पा र तामाकोशी गाउँपालिकाको सभापतिमा कृष्ण फुयाँल निर्वाचित भएका छन् । फुँयाललाई देउवा-सिटौला समूहको सहयोग रहेको बताइन्छ ।

संस्थापनइतर समूहबाट मेलुङ गाउँपालिकाको सभापतिमा नारायणबहादुर मगर, सैलुङ गाएापालिकाको सभापतिमा कृष्णध्वज योञ्जन, विगु गाउँपालिकाको अध्यक्षमा हेमराज तामाङ र भीमेश्वर नगरपालिकाको सभापतिमा शंकर कार्की निर्वाचित भएका छन् ।

८. मकवानपुर

मकवानपुरका १० मध्ये ५ पालिकामा संस्थापन पक्ष र ४ पालिकामा संस्थापनइतर पक्षले जितेको छ । इन्द्रसरोवर गाउँपालिकामा सर्वसम्मत सभापति बनेका विश्व लामालाई दूवै पक्षले आफ्नो दावी गरेको छ । उनी भने सहमतिमै सभापति भएकोले कतै खुलेका छैनन् । संस्थापन पक्षबाट हेटौडा उपमहानगरपालिकामा उत्सव इटनी, मनहरी गाउँपालिकामा प्रकाश बर्तौला, कैलाश गाउँपालिकामा राजेन्द्र घिसिङ, मकवानपुरगढी गाउँपालिकामा राजवीर लामा र बकैया गाउँपालिकामा दिलबहादुर बम्जन निर्वाचित भएका छन् ।

संस्थापनइतर पक्षबाट थाहा नगरपालिकामा प्रमोद जोशी, भीमफेदी गाउँपालिकामा सञ्जीव श्रेष्ठ, वागमती गाउँपालिकामा फणिन्द्र तिमल्सिना र राक्सिराङ गाउँपालिकामा वीरेन्द्र जिम्बा सभापतिमा निर्वाचित भएका छन् ।

९. चितवन

चितवनका ७ मध्ये ५ मा संस्थापनइतर समूह र २ मा संस्थापन समूहको नेतृत्व स्थापित भएको छ । संस्थापन पक्षका देवेन्द्र लामा राप्ती नगरपालिका र प्रल्हाद सापकोटा रत्ननगर नगरपालिकाको सभापतिमा विजयी भएका छन् ।

संस्थापनइतर पक्षबाट भरतपुर महानगरपालिकामा चित्रसेन अधिकारी, माडी नगरपालिकामा कोमल भूसाल, खैरहनी नगरपालिकामा गुणराज श्रेष्ठ, कालिका नगरपालिकामा दिव्यश्वर केसी र ईच्छाकामना गाउँपालिकामा कृतिकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर