दसैँलक्षित टिकट बुकिङ खुल्दा काउन्टर सुनसान ! (तस्बिरहरू) – Nepal Press

दसैँलक्षित टिकट बुकिङ खुल्दा काउन्टर सुनसान ! (तस्बिरहरू)

व्यवसायी भन्छन्- कारण खोज्दैछौं

काठमाडौं । आजदेखि दसैँमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरिएको छ । चाडपर्वमा एकैपटक काडमाडौं छाड्नेको भीड बढ्ने भएकोले केही वर्षदेखि दसैँअघि टिकटको अग्रिम बुकिङ खुला गरिन्छ ।

बुकिङ खुल्नासाथ चापाचाप हुने काउन्टर आज पहिलो दिन भने सुनसान देखिएको छ । कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै रहेको कारण यो वर्ष काठमाडौं छाड्नेको संख्या कम हुने आँकलन गरिएको छ । गत वर्ष कोरोना संक्रमणका कारण अग्रिम टिकट बुकिङ खुला गरिएको थिएन ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनलाइन र काउन्टरमा नै आएर टिकट काट्ने यात्रु नभएकोमा आश्चर्य लागेको बताए ।

सिटौलाले भने, ‘पहिले अग्रिम टिकट खुलाएको दिन दसैँमा गाउँ जानका लागि टिकट काट्नेको भीड हुने गरेको थियो । तर, यस वर्ष अग्रिम टिकट खुला गरेको पहिलो दिन प्रत्यक्ष र अनलाइनबाट टिकट काट्ने यात्रु खासै छैन्न । हामीले के कारणले यात्रु भएन भन्ने विषयमा अध्ययन सुरू गरेका छौं । पहिले दसैंमा २२ देखि २५ लाख यात्रुको चाप हुन्थ्यो । तर यस वर्ष सुनसान छ ।’

कोरोनाको कारण पहिले नै मान्छे गाउँ गएर बसेकाले पनि यस वर्ष खासै यात्रु नदेखिएको हुनसक्ने सिटौलाले बताए ।

दसैँमा गाउँ जान अग्रिम टिकट खुलेको बेला बसपर्कमा यात्रु र टिकट काट्नेहरूको भीडभाड नै हुने गरेको थियो । तर, यस वर्ष भने काउन्टर सुनसान नै देखिएको छ ।

तस्बिरहरू : सरोज बैजु । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर