ईपीएलमा ब्याट नै नचलाइ अफ्रिदी आज फर्किँदै – Nepal Press

ईपीएलमा ब्याट नै नचलाइ अफ्रिदी आज फर्किँदै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौंथो संस्करणमा पाकिस्तानी स्टार शाहिद अफ्रिदीको ब्याटिङ हेर्न आतुर समर्थकहरु निराश बनेका छन् । ईपीएलमा एकचोटि पनि ब्याट नचलाइ उनी आज स्वदेश फर्किँदैछन् ।

अफ्रिदी आफ्नो फाउन्डेसनको व्यस्तताका कारण भन्दै सुरुआती दुई खेलमात्रै खेल्नेगरी नेपाल आएका थिए । उनले किङ्स ११ काठमाडौंबाट शनिबार पहिलो म्याच खेले ।

तर, आज बिहान तय भएको काठमाडौंको दोस्रो खेल मैदान चिसो भएका कारण स्थगित गरियो । पहिलो म्याचमा ब्याटिङ गर्न नआएका अफ्रिदी दोस्रो म्याच स्थगित भएपछि मैदानमा ब्याट नै नसमाइ फर्किन लागेका हुन् ।

सन्दीप लामिछानेको कप्तानीमा भएको काठमाडौले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्समाथि ७ विकेटको शानदार जित निकालेको थियो । उक्त खेलमा अफ्रिदीले चार ओभर बलिङ गरेका थिए । त्यसमा उनले ३६ रन खर्चिँदा कुनै विकेट लिन सकेनन् । बरु एउटा क्याच लिएर दर्शकलाई आफ्नो सिग्नेचर पोज देखाए ।

उक्त म्याचमा अफ्रिदी ब्याटिङ गर्न आएनन् । उनलाई मध्यक्रमबाट खेलाउने तयारी थियो । तर अगाडिका ब्याट्यम्सानहरुले नै टिमलाई जिततर्फ डोर्‍याएपछि अफ्रिदीको आवश्यकता नै परेन । उक्त म्याचमा अफगानिस्तान र जिम्वावेका ब्याट्सम्यानले विष्फोटक अर्धसतक प्रहार गरेका थिए ।

अफ्रिदीको आज अन्तिम खेल भएकाले उनको ब्याटिङ हेर्न त्रिवि मैदानमा पुगेका दर्शक निराश बनेका छन् । ईपीएलको चौंथो संस्करणमा सहभागी विदेशी खेलाडीमध्ये उनी सर्वाधिक चर्चामा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *