माओवादी बैठक : अध्यादेश फिर्ता गरेर सरकार विस्तारलाई तिब्रता दिन पहल गर्ने निर्णय (भिडिओ) – Nepal Press

माओवादी बैठक : अध्यादेश फिर्ता गरेर सरकार विस्तारलाई तिब्रता दिन पहल गर्ने निर्णय (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्रले) अध्यादेश फिर्ता लिएर सरकारलाई शीघ्र पूर्णता दिने विषयमा पहल गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसबारे ‘ब्रिफिङ’ गरेका थिए ।

स्थायी समिति सदस्य गणेस साहले भने, ‘आज अध्यादेश फिर्ता प्रक्रिया संसदमा शुरू हुन्छ र कानूनमन्त्रीले फिर्ताको प्रस्ताव सुनाउनुहुन्छ भन्ने जानकारी प्रचण्डले हामीलाई दिनुभयो ।’

प्रचण्डको ब्रिफिङपछि अध्यादेश फिर्ता लिएर चाँडो सरकार विस्तार गर्न पहल गर्ने निर्णय बैठकबाट भएको साहले बताए । ‘सरकार बनाउनेतिर जोड दिएर लाग्ने भन्ने भएको छ,’ नेपाल प्रेससँग उनले भने, ‘जटिलताहरू सल्टाउँदै सरकार विस्तारमा तीब्ररूपमा लाग्ने निर्णय भएको छ ।’

‘सरकार विस्तार नभएर नकरात्मक सन्देश गएकाले मन्त्रालयको बाँडफाँट र मन्त्रिपरिषद् विस्तारमा केन्द्रित हुने भएको निर्णय भएको छ,’ उनले थपे ।

आजको बैठकमा जनार्दन शर्मा र देव गुरुङले पार्टी सम्मेलनको मिति हेरफेरबारे प्रस्तावसमेत राखेका थिए । प्रस्तावमा सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने, स्थानीय स्तरमा हुने वडा भेला कात्तिक १३ गते र मंसिर ४ गते पालिकास्तरीय भेला गर्ने उल्लेख छ।

यसबारे अर्का स्थायी कमिटी सदस्य गुरुङले भने, ‘पहिला भएको टाइम अलि टाइट भयो भ्याइएन, टाइम सानुपपर्‍यो भन्ने कुरा सिफारिस भएको हुनाले त्यही अनुसारको छलफल भयो, पार्टी सदस्यको नवीकरण असोज मसान्तसम्म जारी राख्ने, टोल भेलाहरू कात्तिक ६ गते गर्ने भन्ने कुरा भएको छ, कात्तिक १३ गते वडा सम्मेलन गर्ने र मंसिर ४ गते स्थानीय पालिकाहरूको सम्मेलन भन्ने कुरो छ ।’

राष्ट्रिय र प्रदेश सम्मेलन भने नसार्ने प्रस्तावमा उल्लेख छ । भोलि दिउँसो तीन बजे पुनः बस्ने स्थायी समिति बैठकले प्रस्तावबारे निर्णय लिनेछ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर