ईपीएलः विराटनगर र काठमाडौंको खेल अझै अनिश्चित – Nepal Press

ईपीएलः विराटनगर र काठमाडौंको खेल अझै अनिश्चित

काठमाडौं । आइतबारको भारी वर्षाका कारण एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सोमबार बिहान ९ बजे तय भएको विराटनगर वारियर्स र काठमाडौं किङ्ग्स-११ बीचको खेल अझै सुरू हुन सकेको छैन ।

शनिबारदेखि सुरू भएको ईपीएलको चौथो संस्करणको दोस्रो दिन आइतबार दिउँसो परेको पानीले पोखरा राइनोजर भैरहवा ग्लाडिएटर्सबीचको खेल स्थगित भएको थियो । स्थगित भएसँगै दुवै टोलीले १/१ अंक बाँडेका थिए ।

आइतबारको भारी वर्षाका कारण मैदान चिसो भएकाले आज बिहान तय भएको खेलका लागि ११ः ४० मा ग्राउन्ड इन्स्पेक्सन हुने र यसको टुङ्गो लाग्ने टेक्निकल कमिटीले बताएको छ ।

सन्दीप लामिछानेको कप्तानीमा भएको काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्समाथि ७ विकेटको शानदार जित निकालेको थियो । यस्तै आइतबार भएको खेलमा विराटनगर चितवन टाइगर्ससँग २ विकेटले पराजित भएको थियो ।

काठमाडौंमा अुनबन्धित पाकिस्तानी पूर्वकप्तान शाहिद अफ्रिदीको यो सिजनको अन्तिम खेल आज भएकाले त्रिवि मैदानमा पुगेका दर्शक अलमलमा परेका छन् । अफ्रिदीले काठमाडौं आएलगत्तै दुई खेलपछि आफू स्वदेश फर्किने बताएका थिए ।

सोही अनुरुप पहिलो खेलमा काठमाडौंबाट मैदानमा उत्रिएका अफ्रिदीले ब्याटिङमा पालो नआए पनि आफ्नो कोटाको पूरा चार ओभर बलिङ गरेका थिए । ३२ रन खर्चेर विकेट लिन असफल रहे पनि एउटा क्याच गरेका थिए ।

काठमाडौं र विराटनगरबीच अहिले हुने तय भएको खेल १२ः २० सम्म सुरु नभए स्थगित हुनेछ र दुवै टोलीले अंक बाँड्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *