कपन दुर्घटनाः जिम्मेवारी कसैले लिएन, राज्यले सान्त्वनासम्म दिएन – Nepal Press

कपन दुर्घटनाः जिम्मेवारी कसैले लिएन, राज्यले सान्त्वनासम्म दिएन

खहरेमाथि बजार, स्थानीयका दु:ख हजार

काठमाडौं । कपनमा खुल्ला छोडिएको ढलमा खसेर एक बालकले ज्यान गुमाए । तर, राज्यको तर्फबाट भएको कमजोरीका कारण एक निर्दोष बालकको ज्यान गुम्दा पनि अहिलेसम्म कुनै पनि निकायले यो घटनाको जिम्मेवारी लिएका छैनन् । पीडित परिवारले क्षतिपूर्तिको कुरै छाडौं, राज्यका कुनै निकायबाट सान्त्वनासम्म पाएका छैनन् ।

विपन्न परिवारका बालक उज्ज्वल विश्वकर्माले ढलमा खसेर ज्यान गुमाएका थिए । हिजो उनको शव भेटिएको हो । तर, अहिलेसम्म पनि राज्यका कुनै प्रतिनिधि पीडित परिवारसम्म पुगेका छैनन् ।

गत शुक्रबार हामी दुर्घटनास्थलमा पुग्दा त्यहाँ अझै पनि कुनै छेकबार लगाइएको थिएन । कुनै संकेत चिन्ह पनि राखिएको छैन । दुर्घटनाको त्राश अझै कायम छ । स्थानीय प्रहरी, जनप्रतिनिधि, सिँचाइ विभाग कसैले पनि जिम्मेवारी लिएका छैनन् । रातको समयमा हिँड्नेहरू ढलमा खस्ने सम्भावना टरेको छैन ।

चाबहिलबाट घटनास्थल पुग्ने बाटो बजारभन्दा बगरजस्तो देखिन्थ्यो । खुल्ला छाडिएको ढल नजिक पुग्ने बाटोमा एउटा ट्रकमा हतारहतार घर भत्काएर निस्किएको ढुंगामाटो ल्याएर खनाइँदै थियो । स्थानीय आक्रोशित हुँदै भन्दै थिए, ‘यो माटो पनि आज रातिको पानीले बगाउँछ । आँखा छल्ने काममात्रै भयो ।’

बूढानीलकण्ठ नगरपालिका-१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार ढल निर्माण गर्ने जिम्मा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले पाएको थियो । ३ वर्षमा ३ पटक ठेक्का लागिसकेको छ । तर, अझै पनि काम भने सकिएको छैन ।

उनी भन्छन्, ‘३ वर्ष अगाडि तेन्जिङ चोकदेखि ढल राख्न थालिएको थियो । अहिलेसम्म ३ वटा ठेक्का लागिसक्यो । बर्खा लागेपछि रोकिएको थियो । यस विषयमा हामीसँग समन्वय हुँदैन । हामीलाई काम हेर्नु भनेको छ ।’

ढल बनाउने ठेक्का पछिल्लोपटक गत वर्ष थापा निर्माण सेवाले पाएको थियो । ठेकेदारले जेठमै काम सकाएर गइसकेकाले उसको लापरवाही भन्न नमिल्ने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख यादव सिग्देलले बताए । दुर्घटनामा ठेकेदारलाई कारबाही गर्न नमिल्ने उनको भनाइ छ ।

प्रमुख सिग्देल भन्छन्, ‘आफ्नो भागको काम गरिसकेपछि त उसको जिम्मेवारी सकियो नि । अब को ठेकेदार आउँछ त्यो पछिको कुरा भयो । यो ४ चार महिना त ठेकेदार हुँदैन । ठेकेदारले काम गरिरहेको समयमा भएको भए बीमा हुन्थ्यो । अहिले त हामी कानूनी हिसाबमा केही गर्न सक्दैनौ ।’

यसअघि उक्त ठाउँमा ढल हालिएको थियो, तर ढलको क्षमताले नधानेपछि त्यसलाई हटाएर दायाँबायाँ पर्खाल लगाई त्यहाँ स्लेप ढलान गर्ने काम शुरू गरियो ।

बजेट अभावका कारण वर्षैपिच्छे ठेक्का लगाउनुपर्ने बाध्यता रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख यादव सिग्देल बताउँछन् । उनले नेपाल प्रेससँग भने, ‘सीमित मात्रमा बजेट आउँछ, अनि बर्सेनि बजेट कुर्नुपर्ने बाध्यता छ ।’

गत वर्ष ढल निर्माणको लागि ७५ लाख बजेट परेको थियो । बजेटअनुसार ६५ मिटर सडक बनाइयो । अझै ४४ मिटर ढल निर्माणको काम बाँकी रहेको छ । यस वर्ष पनि ७० लाख बजेट विनियोजन भएको छ । तर, मागअनुसारको बजेट थोरै भएको प्रमुख सिग्देल बताउँछन् ।

यस वर्षको कामको लागि ठेक्का प्रक्रिया सुरू भएको छ ।

सिँचाइ कार्यालयका प्रमुख सिग्देलले भने, ‘अब हामी टेन्डर गर्छौ । टेन्डर प्रक्रिया सकाएर काम सुरू हुन दुई महिना लाग्छ । एक महिना नोटिसको समय हुन्छ । त्यसपछि अनलाइन प्रक्रिया शुरु हुन्छ । हामीले मात्रै टेन्डर गरेर हुँदैन सबै मिलेर गर्नुपर्छ । त्यो सबै छिटो सकियो भने एक महिनामा सुरू हुन्छ । ’

यस वर्ष आरम्भ टोलसम्म ४४ मिटर ढल हाल्ने काम बाँकी छ । त्यसपछिको पाइप राख्ने काम भने उपत्यका विकास प्राधिकरणले गर्छ । यस वर्ष पूरै बजेट आयो भने सकिने सिग्देलको भनाइ छ ।

उनी भन्छन्, ‘एक प्याकेज टेन्डर त भइ नै सक्यो । प्रकियामा गइसकेको छ । अर्को हुँदैछ ।’

दोषी को ?

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सिग्देल दुर्घटनास्थलमा दुर्घटना हुनसक्ने भन्दै बाँस-फलाम राखेको बताउँछन् । त्यहाँ ढल र ढलानको तालमेल नमिलेकाले समस्या भएको उनको बुझाइ छ ।

सिग्देल भन्छन्, ‘जोखिमपूर्ण ठाउँमा बाँस र फलामहरू राखेर छेकिएको थियो । त्यो बाढीले बगायो वा मान्छेहरूले लगे । मलाई मान्छेहरूले लगिदिए कि भन्ने लाग्छ ।’

पूरै छोप्दा झनै थाहा नहुने भएकाले छेकेर मात्र राखेको उनको भनाइ छ । अहिले दुर्घटनास्थलमा रेलिङ लगाइएको छ । डन्डी पनि कबाडीले लगिदिने गरेको सिग्देल बताउँछन् ।

त्यहाँ रेलिङ लगाउने काम भने त्यहीँका स्थानीय जनप्रतिनिधी र स्थानीयले मिलेर गरेका हुन् । तर, त्यो पनि भरपर्दो छैन । बालक ढलमा खसेर दुर्घटना हुनुमा कसैलाई दोष दिन नमिल्ने सिग्देलको भनाइ छ ।

‘कसैलाई दोष दिन मिल्दैन । दुर्घटना भइसक्यो, त्यो नराम्रो भयो । त्यसमा हाम्रो कमजोरी भन्न पनि मिल्दैन ।’

खहरेमाथि बस्ती, बाह्रैमास सास्ती

बूढानीलकण्ठ नगरपालिका-१२ र काठमाडौं महानगरपालिका-६ को सिमानामा रहेको कपनमा आधा घण्टा पानी पर्नेबित्तिकै सडक जलमग्न हुन्छ । सडकमा भेल बग्नु त्यहाँका बासिन्दालाई नौलो कुरा होइन ।

केही वर्ष अगाडिसम्म अहिले ढलान गरेर बनाएको सडकमा खहरे खोला बग्थ्यो । घनाबस्ती बढेसँगै घरको ढल व्यवस्थापन गर्न ठाउँ नभेटेपछि खहरे खोलामा नै ढल मिसाउन थालियो । त्यसपछि ढल बगाउन खहेरमा ठूला-ठूला ह्युम पाइप हालियो ।

यहाँ हिउँदमा ढल बग्थ्यो भने बर्खामा खहरे उर्लिएर आउँथ्यो र कपन नै डुबानमा पर्थ्यो । खहरे खोलाले दु:ख दिएको भन्दै यसलाई सडकमुनिबाट लैजाने योजना बनाइयो । हिउँदमा ढल बगाउने र बर्खामा पनि दु:ख नहुने भएपछि खहरेमाथि सडक बनाएर ढलान गर्न ३ वर्षअघि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ठेक्का लगाएको थियो ।

ठेक्का लगाएर काम सुरू भएको ३ वर्ष भइसक्यो । तर, काम भने अधुरै छ । गत असारदेखि ढल निर्माण कार्य नै ठप्प भएको छ । ठेकेदारले ढल निर्माण गर्ने कार्य अधुरै छाडेर छेकबारसमेत नगरी खुल्ला नै छाडिदिएकाले दुर्घटना घट्न पुग्यो ।

बजारको बीचमा पासो थापेजसरी माथिबाट ढलान गरिएको छ भने तल ढल ह्वांगै बनाएर छाडिएको छ । बीचमा ढल बगाउनको लागि ह्युम पाइप राखिएको छ । रातको समयमा माथिबाट आइरहेका मानिसले तल ढल खुलै भएको पत्तै पाउँदैनन् । यही धरापमा परेर उज्जवलको ज्यान गएको थियो ।

त्यतिमात्र होइन, कपन क्षेत्रमा खहरे खोला मासेर बस्ती बसाइएको छ । त्यहाँ पुग्ने कसैलाई लाग्दैन कि यहाँ खहरे थियो भनेर । खहरे बग्ने ठाउँमा बजार बनेको छ । खहरे कहाँ छ पत्ता लगाउनै मुस्किल पर्छ । खरिबोट हुँदै त्यही घटनास्थलबाट रातको समयमा आउने हो भने दुर्घटना निम्तिने जोखिम कायम छ ।

याे पनि पढ्नुहाेस्

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *