कर्णालीका मन्त्रीको फेसबुकमा मनपरी स्टाटस – Nepal Press

कर्णालीका मन्त्रीको फेसबुकमा मनपरी स्टाटस

सुर्खेत । कर्णालीका कृषिमन्त्री कुर्मराज शाहीको अराजकताले सीमा नाघ्न थालेको छ । सेक्स स्क्यान्डलमा मुछिँदा पनि मुख्यमन्त्रीको संरक्षण पाएर पदमा बहाल रहेका उनले हिजो राति फेसबुकमा आपत्तिजनक स्टाटस लेखे ।

एमालेका दुई नेता घनश्याम भुषाल र गोकर्ण विष्टप्रति लक्ष्यित गर्दै मन्त्री शाहीले अमर्यादित शब्द प्रयोग गरेका थिए । राति करिब १० बजेतिर हालेका दुवै स्टाटसको अत्यधिक आलोचनापछि उनले हटाएका छन् ।

यसअघि पनि उनले सामाजिक सञ्जालमा जे पायो त्यही लेख्ने, एमालेका नेताहरुलाई गाली गर्नेदेखि कालिकोटकै स्थानीयलाई कमेन्ट गरेकै आधारमा थर्काउने गरेको पाइएको छ । नानाथरी गाली गलौजमा उत्रने गरेको पाइउको छ ।

‘कालिकोटका युवा पंक्तिमा कुर्मराज शाही एक आशालाग्दा नेताको रुपमा हामीले देखेका थियौं । उहाँलाई पार्टीले र पार्टीलाई उहाँले योगदान धेरै गर्नु भएको हो । तर पनि पछिल्लो समयमा उहाँ किन हो जे पायो त्यही गर्दै, बोल्दै हिँडनु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संरक्षण भएकै कारण हौसला बढेको हुन सक्छ,’ एमाले कालिकोटका एक नेताले भने ।

हिजोको स्टाटसमा कमेन्ट गर्दै धेरैले उनलाई ‘रक्सीको तालमा मनपरी नलेख्न’ सुझाव दिएका छन् । कतिले उनलाई मानसिक रुपमा विक्षिप्त बनेको भनेरसमेत टिप्पणी गरेका छन् ।

नेकपा एमालेका नेता मुगुका सांसद एवम पूर्वमन्त्री मोहन बानियाँले मन्त्री शाहीलाई ‘विना हैसियतको मान्छे’ संज्ञा दिए । उनले भनेका छन्, ‘कस्तो शिक्षा पढेको होला, कुर्मजीले छ्या… छ्या… विना लेवलको मान्छे ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर