नेपाल र पाकिस्तानलाई क्रिकेट कुटनीतिले जोड्न चाहन्छु : शाहिद अफ्रिदी (भिडियाे) – Nepal Press

नेपाल र पाकिस्तानलाई क्रिकेट कुटनीतिले जोड्न चाहन्छु : शाहिद अफ्रिदी (भिडियाे)

काठमाडौं । पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कुटनीतिलाई स्थापित गर्ने बताएका छन् । काठमाडौंमा न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेकोमा जोड दिए ।

नेपालमा क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको अफ्रिदीको भनाइ छ । कुनै समय पाकिस्तानको १९ वर्ष मुनिको टोलीलाई नेपाली टीमले हराएको प्रसंग उल्लेख गर्दै अफ्रिदीले नेपाली क्रिकेट टीमलाई आफूले सक्दो सहयोग गर्ने आश्वासन दिए । आफूले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने पनि उनले बताए ।

अफ्रिदीसँग गरिएको कुराकानीको सम्पादित अंश :

नेपालको छोटो बसाई कस्तो भइरहेको छ ? अनुभव कस्तो छ ?

म एकदमै खुसी छु । अहिले नेपालमा छु । क्रिकेटको कारण अहिले म नेपालमा छु । यो सँगै अर्को महत्वपूर्ण कुरा नेपाल र पाकिस्तानबीच क्रिकेटको माध्यमबाट सम्बन्ध जोडिएको छ । तीन दिनको बसाईको क्रममा नेपालीहरुमा क्रिकेट प्रतिको लगाव निकै पाएको छु । क्रिकेटसँगको लगाव सँगैसँगै पाकिस्तानी क्रिकेट टोलीलाई माया गर्ने नेपालीहरु पाएको छु ।

मैले केही नेपाली खेल अधिकारीहरुलाई पाकिस्तान भ्रमणको निम्तो दिएँ । म पाकिस्तान पुगेर उहाँहरुलाई स्वागत गर्नेछु । जुनसुकै विषय होस, नेपाल र पाकिस्तानको सम्बन्ध जोडिनु आफैमा महत्वपूर्ण छ । यो प्रगाढ हुँदै जाओस् ।

तपाई त क्रिकेटर, नेपाली क्रिकेटलाई कसरी हेर्नु भएको छ र कसरी विश्लेषण गर्नु हुन्छ ?

नेपाली यु–१९ क्रिकेट टोलीले पाकिस्तानी टोलीलाई हराएको याद छ । यसको मतलब नेपाली खेलाडीमा प्रतिभा क्षमता छ भन्ने हो । इपिएलमा मैले एउटा म्याच खेलेँ, उक्त खेलमा मैले क्षमता भएका नेपाली खेलाडी देखेँ । सन्दिप लामिछाने लगाएतको खेलाडीहरुको टोली क्षमतावान छ । उनीहरुले नेपाललाई विश्वमा कहिँ पनि चिनाउन सक्छन् ।

नेपाली क्रिकेट विकास गर्नका लागि ग्रासरुटदेखि नै ध्यान दिनुपर्छ । सरकारको संलग्नता निकै महत्वपूर्ण हुन्छ । सरकारको सहयोग मिलेको अवस्थामा क्रिकेट एकेडेमी सञ्चालन गर्न सम्भव हुन्छ । खेलाडीहरुलाई सुविधा मिल्छ । सबैभन्दा राम्रो पक्ष भनेको नेपाल सरकार क्रिकेटप्रति सकारात्मक हुनु हो ।

नेपालको फ्रेन्चाइज लिगसँग जोडिनु भयो, तपाईंलाई कुन विषयले जोडिन प्रेरित गर्याे ?

म एक व्यवसायिक खेलाडी भएको नाताले मैले क्रिकेटको बारेमा कुरा गर्छु । कोही खेलाडी शान्ति, प्रेम र सद्भावको खोजीमा हुन्छ र खेल पनि त्यस्तै अवस्थामा होस भन्ने अपेक्षा राख्छ । क्रिकेट नै एउटा त्यस्तो खेल हो, जसले भारत–पाकिस्तानको सम्बन्ध राम्रो नहुँदा पनि भारत भ्रमण गरेर आफ्नो खेल र शान्तिको सन्देश दिएको थियो ।

पाकिस्तान आफ्ना मित्र राष्ट्र र छिमेकीहरुसँग सुमधुर सम्बन्ध राख्न चाहन्छ । हाम्रो क्षेत्र (दक्षिण एसिया) मा क्रिकेटलाई अलग्गै दृष्टिले हेरिन्छ । भारतमा त क्रिकेटलाई धर्म जस्तै भइसकेको छ । क्रिकेटको माध्यमबाट सम्बन्धहरुलाई प्रगाढ र घनिभूत बनाउन सकिन्छ । मलाई यस्तो लाग्छ । क्रिकेटकै माध्ययमबाट नेपाल र पाकिस्तानको सम्बन्धलाई पनि अझ बलियो बनाउन सकिन्छ ।

यसभन्दा अघि म नेपाल आएको थिइनँ, नेपाल देखेको पनि थिइनँ । मेरो खुट्टामा समस्या हुँदाहुँदै पनि मैले नेपाल भ्रमण गरेको छु । क्रिकेटको माध्यमबाट नेपालमा रहेका क्रिकेटप्रेमीहरुसँग प्रेम र सद्भावको सन्देश पनि लिएर आएको हुँ ।

पाकिस्तान र नेपाल क्रिकेटसँग जोडिनसक्ने विषयहरु के–के छन् ? कसरी जोडिन सक्छन् ?

दुई देशको राजनीति आफ्नो स्थानमा छ । क्रिकेट र क्रिकेट कुटनीति फरक छ । यो पनि एक प्रकारको राजनीति हो । यसबारेमा मेरो बुझाइ अलि फरक छ । यही क्रिेकटबाट जोडिन म नेपाल आएको हुँ ।

म यहाँ रहँदा जति पनि मानिसहरुसँग भेट भयो, मेरो लागि अविश्मरणीय रह्यो । नेपाल र पाकिस्तानलाई क्रिकेट कुटनीतिले जोड्न चाहन्छु । पाकिस्तान पुगेर मैले नेपाली टोलीलाई खेल्न आमन्त्रणका लागि प्रयास गर्छु । यसलाई नेपालस्थित पाकिस्तान दूतावास र नेपाल सरकारले सहजीकरण गर्नेछन् ।

तपाईले परिवारसहित फेरी नेपाल भ्रमण गर्ने भन्नु भएको छ । त्यस्तो के विषयले मोहित बनायो ?

यो भ्रमणमा मैले पुरै नेपाल राम्रो सँग घुम्न पाइनँ । छोटो भ्रमण छ । आज माउन्टेन फ्लाईट गएँ । सगरमाथा देखेँ । सँगै अन्य हिमालहरु हेरेँ । मेरो रोमाञ्चक अनुभव रह्यो । त्यसैले म परिवारलाई साथै लिएर आउन चाहन्छु । किनभने मेरो साथ परिवार भयो भने तुरुन्त फर्किने हतारो हुनेछैन । शहरभन्दा बाहिर गएर नेपाल हेर्न चाहन्छु । धन्यवाद ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर