चीनसँगको ‘सीमा समस्या’ अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझायाे – Nepal Press

चीनसँगको ‘सीमा समस्या’ अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझायाे

काठमाडौँ । नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणसमक्ष प्रतिवेदन पेश गरेको छ । समितिका संयोजकसमेत रहेका गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्यतथ्य पत्ता लगाइ तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले भने, ‘यहाँहरूले स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्यतथ्य जानकारी समेटेर प्रतिवेदन बनाउनुभएको छ । यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ । अध्ययनमा यहाँहरूले औल्याउनु भएका विषयबस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ ।’

मन्त्री खाणले विकट स्थानमा पुगेर सहज तरिकाले काम सम्पन्न गरेकोमा अध्ययन टोलीलाई धन्यवादसमेत दिएका छन् । अध्ययन प्रतिवेदन त्यस क्षेत्रको भू-भाग रक्षा गर्न र त्यहाँको जनजीवनबारे बुझ्न महत्वपूर्ण हुने उनले बताए ।

प्रतिवेदनबारे संक्षिप्त जानकारी दिँदै अध्ययन टोलीका संयोजकसमेत रहेका सहसचिव आचार्यले निष्कर्ष र सुझावबारे मन्त्री खाणलाई जानकारी गराएका थिए । अध्ययन समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएपी) उमेशराज जोशी, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सह-अनुसन्धान निर्देशक किशोरकुमार श्रेष्ठ रहेका छन् ।

मन्त्रिपरिषद् बैठकले भदौ १६ गते उक्त सीमा अध्ययनका लागि समिति बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर