टीकटकका लागि ज्यानै दिने पुस्ता ! – Nepal Press

टीकटकका लागि ज्यानै दिने पुस्ता !

भाइरल मोहमा जस्तोसुकै जोखिम मोल्न तयार छन् किशोरकिशोरी

काठमाडौं । पाँच दिनअघि मात्रै वैवाहिक जीवनमा बाँधिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका-८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल दुल्हन फर्काउन माइती आएकी थिइन् । भदौ २९ गते दिउँसो टीकटक बनाउन पुल्चोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा उनी दुई साथीलाई लिएर पुगिन् ।

साथीहरूसँग टीकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेर बेपत्ता बनिन् । उनी चिप्लिएर नदीमा खसेपछि साथीहरूले तत्काल प्रहरीलाई खबर गरे । प्रहरी तत्काल खोजीकार्यमा जुटे पनि केही पत्ता लगाउन सकेन । तर, साता दिनपछि उनको शव भेटियो ।

प्रहरीका अनुसार टीकटकमा भाइरल हुने चाहनामै उनले आफ्नो जीवन दाउमा राखेकी थिइन् । उनी भाइरल त भइन् तर भाइरल बनेको आफैंले देख्न पाइनन् । न त उनको भिडिओले हाइहाइ नै पायो । प्रतिक्रिया दिनेमध्ये थुप्रैले उनको मुर्खतापूर्ण कार्यका लागि खेद व्यक्त गरेका छन् ।

टीकटकमा भाइरल भएको भिडिओमा पवित्राले आफ्नो ज्यान जोखिममा राखेको स्पट देखिन्छ । उनी उर्लेको भेल नजिकै ढुंगामा उभिएर बेफिक्री रमाएकी छन् । सँगै गएका साथीहरूले खोलानजिक नजान अनुनय गर्दा पनि उनले अटेर गरेको देखिन्छ ।

०००

पुस ५, २०७७ । बबई नदीको झोलुङ्गे पुलमा एक युवक लुत्रुङ्ग झुण्डिइरहेका थिए । उनको उद्देश्य पनि त्यही नै थियो, खतरनाक काम गरेर भाइरल हुने ।

दाङको तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ बर्षीय रमेश थापा बबइ गाउँपालिका ५ पुरन्धारा झरना नजिकैको झोलुङ्गे पुलमा टीकटक बनाउने क्रममा पुलको सपोर्ट तारमा झुण्डिएका थिए ।

तर, जति प्रयास गर्दा पनि उनी पुलमाथि उक्लिन सकेनन् । निकैबेरपछि उनको हात गल्यो त बगरमा खसे । गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल पुर्‍याइयो । तर, उनको ज्यान जोगिन सकेन ।

थापा शनिबारको दिन रमाइलो गर्ने भन्दै २५/३० जना साथीहरूसँग झरनामा पिकनिक खान गएका थिए । पिकनिकको रमाइलोले नपुगेर उनी बबईको झुलुङ्गे पुलमा झुण्डिन पुगे । साथीहरूले चाहेर पनि उनलाई जोगाउन सकेनन् । त्यसबेला पुलमा धेरै मानिसहरू रमिता हेरिरहेका थिए ।

०००

२४ माघ २०७७ मा कञ्चनपुरमा टीकटक भिडिओ बनाउन खोज्दा एक किशोरीको ज्यान गयो । भीमदत्त नगरपालिका-१५ गोबरियाकी १३ बर्षीया करुणा चन्दले टीकटक भिडिओकै लागि पंखामा झुण्डिएकी थिइन् ।

७ कक्षामा पढ्दै गरेकी करुणा आत्महत्याको अभिनय गरेर टीकटकमा भाइरल हुन चाहन्थिन् । उनी कोठाभित्रै टुलमा चढेर पङ्खामा झुण्डिइन् । उनले घाँटीमा बेरेको कपडा दुर्घटनाबस कसिन पुग्यो । सानो भाइको आँखा अगाडि नै उनको ज्यान गयो ।

०००

गत वैशाखमा उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीरमाथि टीकटक बनाउने क्रममा नै लडेर एक किशोरको मृत्यु भयो । धरान-५ का १८ वर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टीकटक बनाउने क्रममा भीरबाट लडेका थिए।

गम्भीर घाइते भएको परियारको उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

यस्तै, गत चैतमा कैलालीको कर्णाली पुलबाट टीकटक बनाउन हाम फाल्दा १ जना बेपत्ता भएका थिए । नदीमा हाम्फालेका तीनजना मध्ये लम्कीचुहा नगरपालिका-२ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात नै छ ।

उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका-१ का १८ वर्षीय लोकेश प्याकुरेल र १७ वर्षीय वीरेन्द्र सिंहलाई सकुशल उद्धार गरिएको थियो । उनीहरू तिनैजना कक्षा १० मा अध्यनरत हुन् ।

०००

आजकाल टीकटक युवापुस्तामा अत्यधिक लोकप्रिय छ । यस प्लेटर्फममार्फत धेरैले आफूमा लुकेका कला प्रस्तुत गर्ने अवसर पाएका छन् । नेपालमा पनि टीकटकबाटै लोकप्रियता कमाए र करिअर बनाएकाहरू धेरै छन् । तर, त्यसरी लोकप्रिय वा भाइरल हुन सजिलो भने छैन ।

टीकटकमा सरल र सीधा तरिकाले भाइरल भइँदैन । कि तपाईंसँग गज्जबका प्रतिभा चाहिन्छ कि असामान्य हर्कत गर्नुपर्छ । सिर्जनात्मक प्रतिभा जोसित छैन, उनीहरू भाइरल हुने मोहमा अनौठा र जोखिमपूर्ण हर्कत गर्न पुग्छन् । माथिका घटना यही प्रवृत्तिका उपज हुन् । उनीहरूले १५ सेकेन्डको भिडिओबाट चर्चित हुने सपना देख्दा आफ्नो जीवन अनाहकमा गुमाए ।

टीकटककै कारण ज्यान गुमाएका यी प्रतिनिधिमूलक घटना मात्र हुन् । यस्तो संख्या धेरै हुन सक्ने अनुमान गरिन्छ । तर, वास्तविक तथ्यांक प्रहरीसँग छैन ।

टीकटक बनाउने क्रममा अहिलेसम्म कतिले ज्यान गुमाए भन्ने तथ्यांक नभएको प्रहरी बताउँछ ।

नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी वसन्तबहादुर कुँवर टीकटकका लागि ज्यान फाल्न खोज्नेहरूलाई केही गर्न नसकिने बताउँछन् । टीकटक बनाउँदा जोखिम हुने सम्भावित ठाउँहरू प्रहरीले सचेतना भने गराइरहेको उनको भनाइ छ ।

कुँवरले नेपाल प्रेससँग भने, ‘टीकटक बनाउनकै लागि ज्यान फाल्नेहरूलाई प्रहरीले के नै गर्न सक्छ ? बढीभन्दा बढी सचेतना गराउने हो । त्यो हामीले सामाजिक सञ्जालहरूबाट पनि गराइरहेकै छौं ।’

टीकटक बनाउँदा जोखिम हुने सम्भावित ठाउँहरू, जस्तै नदीकिनार वा पुलहरूमा सार्वजनिक सूचना बोर्डहरू राख्ने काम गरेको उनले जानकारी दिए ।

‘नारायणी नदी किनारमा पनि त्यस्ता घटना घटे, त्यहाँ पनि सूचना राखिएको थियो । अरु ठाउँहरूमा पनि सचेतनाको कुराहरू त राखेकै छौं,’ उनले भने ।

यस्ता घटनामा प्रहरीको भन्दा व्यक्ति आफैंले बुझ्नुपर्ने कुँवर बताउँछन् ।

उनले भने, ‘ज्यान जान सक्छ अथवा अन्य शारीरिक जोखिम हुन सक्छ भनेर सम्बन्धितले बुझ्नुपर्छ । सचेतनाको कुरामा प्रहरीले अन्य निकायलाई पनि सहकार्य गरेर अगाडि बढेकै छ ।’

युवामा टीकटकको कुलत लागिसक्योः मनोविद्

सामाजिक सञ्जालमा भाइरल हुने मोह बढ्दै गएर जस्तोसुकै जोखिम उठाउनुलाई मनोविद् करुणा कुवँर कुलतको संज्ञा दिन्छिन् । यस्तो कुलत नशालु पदार्थको कुलतजस्तै हुन सक्ने उनको भनाइ छ ।

कुँवरको भनाइ जस्तो तस्तैः

यो एउटा कुलत जस्तै हो । मान्छेले आफ्नो कुलत पूरा गर्न जस्तो पनि जोखिम लिन तयार हुन्छ । त्यस्तै टीकटकको कुलतमा फँसेपछि बढी लाइक र कमेन्टहरू पाउनका लागि ज्यान जोखिममा राख्नसमेत पछि पर्दैनन् ।

आफूलाई कसैले प्रशंसा गरोस्, मन पराइदियोस् भन्ने सबैको चाहना हुन्छ । युवायुवतीको अझै धेरै । त्यही भएर पनि टीकटकमा आफू देखिन मन लाग्ने हो । देखिएपछि लाइक रकमेन्ट धेरै आओस भन्ने हुन्छ । त्यही चाहनाले कसैले सिर्जनात्मक कामहरू पनि गर्छन् । तर, कसैले चाहिँ नचाहिँदा हर्कत गर्न पुग्छन् । यसो गर्दा कतैबाट खस्ने, चोटपटक लाग्ने, दुर्घटना हुनेलगायत खतरा हुन्छ ।

जे सोच्यो त्यो गर्नैपर्ने जस्तो प्रवृत्ति पनि कतिपयमा हुन्छ । उनीहरूको दिमागमा यसरी टीकटक बनाउँछु भनेर भन्यो भनेर नबनाएसम्म मन पोल्ने, छटपटी हुने, गाह्रो हुने, निन्द्रा नलाग्ने हुन्छ । टीकटक बनाइसकेपछि आनन्द महसुस हुने गर्छ ।

टीकटकको लतमा परेकाहरूले हरेक दिन नयाँ-नयाँ भिडिओ राखिरहेका हुन्छन् । कतिले दिनमै ३-४ वटा पनि राख्छन् । आफूले पोस्ट नगरे पनि अरुले बनाएको हेरेको हेर्‍यै गर्ने लत पनि कतिपयमा छ । यो अवस्थामा भनेकै लगभग एडिक्टेट नै हो । टीकटकमा भिडिओ नराख्दा खानै मन नलाग्ने, दिक्क लाग्ने जस्ता समस्या पनि देखिन्छ। ’

युवा पुस्ताले धेरै टीकटक प्रयोग गर्ने हुदाँ अभिभावक एकदमै सचेत हुनुपर्छ । उनीहरूलाई अरु नै काममा व्यस्त राखन अभिभावकले ध्यान दिनुपर्छ ।

दुर्घटनामात्र होइन टीकटकका केही कन्टेन्टहरूले अरु खालको क्षति पुर्‍याइरहेको छ । यसबाट बच्न अभिभावकहरू तथा स्कुलहरूले निगरानी गर्नुपर्ने हुन्छ । अहिले अहिले ३५ वर्ष मुनिका व्यक्तिमा टीकटकको लत पाइन्छ । त्योभन्दा माथिकोमा न्यून छ ।

मैले नजिकबाट केही केस हेर्दा केटाकेटीलाई बोर लाग्ने, आमाबुबासँग समय नहुने, साथीभाइसँग भेटघाट नहुने गरेका कारणले पनि टीकटकमा झुम्मिएका छन् । त्यसैले बुबाआमाले बच्चाहरूसँग बढीभन्दा बढी समय बिताउनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *