गठबन्धन बैठक: अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति – Nepal Press

गठबन्धन बैठक: अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनमा राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तारअघि अध्यादेश निष्क्रिय पार्ने निर्णय गरेको हो ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित थिए ।

बैठकमा जसपाले राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काल निष्क्रिय बनाउन माग गरेको थियो । नेकपा एकीकृत समाजवादी विरुद्धको मुद्दामा पनि सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएकोले अध्यादेश निष्क्रिय पार्नु उपयुक्त हुने निष्कर्षमा गठबन्धनका नेताहरू पुगेका हुन् । बैठकमा सहभागि एक नेताले १/२ दिनमै सरकार विस्तार हुने दावी गरे ।

‘अध्यादेश निष्क्रिय बनाइहाल्ने र सरकार विस्तार गरिहाल्ने कुरा भएको छ’, ती नेताले भने । बैठकमा सरकार विस्तारमा ढिलाइ हुँदा गठबन्धनको आलोचना भइरहेको भन्दै नेताहरुले जतिसक्दो चाडो अगाडि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर