राष्ट्रसंघीय जलवायु दूतलाई प्रधानमन्त्रीको जवाफ : नेपालले तापक्रम वृद्धिदरलाई १.५ डिग्रीमा सीमित राख्छ – Nepal Press

राष्ट्रसंघीय जलवायु दूतलाई प्रधानमन्त्रीको जवाफ : नेपालले तापक्रम वृद्धिदरलाई १.५ डिग्रीमा सीमित राख्छ

नेपाललाई रेडलिस्टबाट हटाउन बेलायतलाई आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियसमा सीमित राख्न प्रतिबद्ध रहेको बताएका छन् ।

संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) का लागि एसिया प्रशान्त क्षेत्रीय राजदूत केन ओफ्लाहेर्टी नेतृत्वकोे प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न त्यहीरुपमा अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि हुनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले जलविद्युत, वनक्षेत्रलगायतका अपार सम्भावनाबाटै सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने ‘पेरिस सम्झौता’अनुसारको प्रतिबद्धता कार्यान्वयन गर्न नेपाललाई मद्दत पुग्ने स्पष्ट पारे । उनले नेपाल पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनका उच्च जोखिम रहेको र यसबाट हुने हानि तथा नोक्सानीको अन्तर्राष्ट्रियरुपमा सम्बोधन हुनुपर्ने उल्लेख गरे ।

कोप–२६ का प्राथमिकता, जलवायु वित्त र अनुकूलनलगायत विषयमा छलफल गर्नुका साथै उनले अनुकूलन कार्यक्रममा नेपाललाई थप सहयोगको खाँचो औंल्याएको परराष्ट्र मन्त्रालयका सहसचिव एवं युरोप अमेरिका महाशाखा प्रमुख निर्मलराज काफ्लेले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ का सन्दर्भमा बेलायतले नेपाललाई ‘रेडलिष्ट’मा राखेको सम्बन्धमा सूचीबाट हटाउन आग्रह समेत गरेका थिए । सो अवसरमा राजदूत ओफ्लाहेर्टीले ‘रेडलिष्ट’ बाट हटाउने सम्बन्धमा बेलायत सरकारको छुट्टै निकायले बेलाबेला विभिन्न विषयको विश्लेषण गरी पुनरावलोकन गरिरहेको बताए ।

उनले कोप–२६ का सन्दर्भमा नेपालको वस्तुस्थिति, तयारीलगायत विषयमा चासो राख्नुका साथै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नोभेम्बर १ देखि २ सम्म आयोजना गर्ने ‘ग्लोबल लिडर समिट’ र अन्य सम्मेलनमा नेपालको सक्रिय सहभागिताको अपेक्षा गरेका थिए ।

कोप–२६ आगामी कात्तिक १४ देखि २६ गतेसम्म (अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म) संयुक्त अधिराज्यको ग्लास्गोमा हुँदैछ । प्रधानमन्त्री देउवाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डले कोप-२६ मा सहभागिता जनाउने गरी वन तथा वातावरण मन्त्रालयले तयारी गरिरहेको सचिव डा. प्रेमनारायण कँडेलले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले ‘ग्लोबल लिडर समिट’मा सहभागिता जनाइएको बताइएको छ । समिटमा विश्वका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको सहभागिता हुनेछ । सम्मेलनमा प्रधानमन्त्री देउवाको सम्बोधन हुने र नेपालले उठाउने विषयका बारेमा पनि मन्त्रालयले गृहकार्य गरिरहेको छ ।

कोप-२६ मा हिमाली क्षेत्रका मुद्दा नेपालको प्राथमिकतामा

कोप–२६ मा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले तुलनात्मकरुपमा बढी असर पारेकोलगायत मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सम्मेलनमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरले समग्र हिमाली अर्थतन्त्र र सो क्षेत्रको पारिस्थितिकीय प्रणालीका साथै तल्लो तटीय क्षेत्रका पारिस्थितिकीय प्रणालीमा परेको प्रभाव नेपालको प्राथमिकताको विषय हुनेछ ।

विश्व तापमानमा एक डिग्री सेल्सियस वृद्धि हुँदा नेपालको हिमाली क्षेत्रमा त्यसको असर एक दशमलव पाँच डिग्री तापक्रमसम्म बढेको पछिल्लो अध्ययनले देखाएको छ । सम्मेलनमा नेपालले जलवायुजन्य हानीनोक्सानी, राष्ट्रिय योगदान प्रतिबद्धता (एनडिसी) प्रतिवेदन कार्यान्वयनका लागि स्रोतको खोजी, कार्बन वित्तलगायत विषयमा सशक्त रुपमा आवाज उठाउने तयारी गरेको वन मन्त्रालयले जनाएको छ ।

सन् २०१५ मा भएको पेरिस सम्झौताको सन् २०५० सम्ममा हरित ग्यास उत्सर्जन शून्यमा पु¥याउने रोडम्याप कार्यान्वयन गर्न विश्वका विभिन्न मुलुकसँगै नेपालले पनि आफ्नो एनडिसी प्रतिवेदन सन् २०२० को डिसेम्बरमा पेश गरिसकेको छ । प्रतिवेदन कार्यान्वयनका लागि आवश्यकपर्ने स्रोतको विषय पनि सम्मेलनको प्राथमिकतामा पर्ने वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा राधा वाग्लेले बताए ।

पेरिस सम्झौतामा मुख्य गरी सन् २०५० सम्म हरित ग्यास उत्सर्जन शून्यमा पु¥याउने प्रतिबद्धताका साथै र विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियसमा सीमित गर्ने तथा २.० डिग्री सेल्सियस भन्दा बढ्न नदिने सहमति भएको थियो ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हरेक वर्ष हुँदै आएको छ । यस्तो सम्मेलन गतवर्ष कोभिड–१९ का कारण हुन सकेन । पेरिस सम्झौताको पाँच वर्षभित्र गर्नुपर्ने विषयका लागि र आइपिसिसीको पछिल्लो प्रतिवदेनले औँल्याएका विषयका बारेमा छलफल गर्न यस पटकको सम्मेलन महत्वपूर्ण हुने उनको भनाइ छ । आइपीसीसी प्रतिवेदनले हिमालको सतह पनि घटेको र हिमाल पग्लिनेक्रम बढ्दो रहेको देखाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर