संसारकै अग्लो ठाउँमा फेसन सो : सुपरमोडलदेखि इटालीका राजकुमारसम्म हिँडे हिउँले ढाकिएको र्‍याम्पमा (तस्बिरहरु) – Nepal Press
सगरमाथामा फेसन सो

संसारकै अग्लो ठाउँमा फेसन सो : सुपरमोडलदेखि इटालीका राजकुमारसम्म हिँडे हिउँले ढाकिएको र्‍याम्पमा (तस्बिरहरु)

काठमाडौं । सर्वाधिक उचाइमा आयोजना गरिने फेसन सोको रुपमा विश्व कीर्तिमान राखेको माउन्ट एभरेस्ट फेसन रनवेको दोस्रो संस्करण सगरमाथा आधार शिविरमा सम्पन्न भएको छ ।

विभिन्न १० मुलुकबाट आएका सुपरमोडलसहित इटालीका राजकुमार कोसिमो दे मेडिसीले नेपाली डिजाइन लगाएरै र्‍याम्प नापे । कासा डिजाइन र बुद्धिस्ट लाइनका डिजाइन लगाएर इटालेली प्रिन्सले नेपाली डिजाइनलाई प्रवद्र्धन गर्ने प्रयास गरे ।

५५०० मिटर उचाइमा आयोजना गरिएको हिउँले भरिएको र्‍याम्पको पृष्ठभूमिमा सर्वोच्च शिखर सगरमाथाको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाइसकेका पंकज गुप्ता, रमिला नेमकुल र रिकेन महर्जनले फेसन सोको आयोजना गरेका हुन् ।

संसारका कीर्तिमानहरुको सूची राख्ने गिनिज पुस्तकले पृथ्वीकै अग्लो स्थानमा आयोजना गरिने फेसन सोको रुपमा माउन्ट एभरेस्ट फेसन रनवेलाई केही वर्षअघि सूचीकृत गरेको छ ।

उक्त रनवेमा फेसन डिजाइनर रमिला नेमकुल र कासाले दिगो फेसनमा आधारित लाइन सार्वजनिक गरेका थिए । नेपाल पर्यटन बोर्डद्वारा प्रवद्र्धित सोमा कासाले बुद्धिस्ट फेसन लाइन पनि लन्च गरेको थियो । भगवान गौतम बुद्धको दार्शनिक सूत्र अहिंसा परम धर्मबाट उक्त लाइन प्रभावित रहेको जनाइएको छ ।

दुईवर्ष लामो अध्ययनपछि प्राप्त फेब्रिक र २१ देशहरुको छाता संस्था सेरिकल्चर अर्गनाइजेसनको सहकार्यमा रमिलाले बुद्धिस्ट फेसन लाइन सार्वजनिक गरेकी हुन् ।

आरबी डायमन्ड ज्वेलरीका रिकेन महर्जनले ताज डिजाइन गरेका थिए । नेपाली ढुंगा क्यानाइट प्रयोगमार्फत हिमालयलाई उतार्ने किसिमले उनले क्राउन डिजाइन गरेको जनाइएको छ । रनवेमा प्रयोग गरिएका एस्सेसरिज वातावरणमैत्री र दिगो फेसनमा आधारित रहेको जनाइएको छ ।

महामारीपछि पहिलोपटक आयोजना गरिएको यस्तो खालको कार्यक्रमलाई सगरमाथा आधार क्षेत्रका शेर्पा समुदायले पनि स्वागत गरेका छन् । आरोही कान्छा शेर्पाले यस्ता खाले कार्यक्रमले खुम्बु क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने बताए ।

गोक्यो हिमनदीको छेउमा आयोजना गरिएको फेसन सोलाई हेर्न ४७ जनाको समूह त्यहाँ उपस्थित थियो । आगामी नोभेम्बर १ देखि स्कटल्यान्डको ग्लास्गोमा सुरु हुने राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप२६)मा पनि हिमालय क्षेत्रमा जलवायुको असर र प्रभावबारे मुद्दा उठान हुँदैछ ।

यसैवर्ष नेपाल आएका कोप२६ का अध्यक्ष आलोक शर्माले पनि हिमालय क्षेत्रको दिगो विकास र जलवायु परिवर्तनको असरबारे चासो राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *