निर्धारित मितिभन्दा सात महिनाअघि नै तीन पुल निर्माण सम्पन्न – Nepal Press
विकास निर्माण

निर्धारित मितिभन्दा सात महिनाअघि नै तीन पुल निर्माण सम्पन्न

धनुषा । धनुषाको ढल्केबर–जटही सडक खण्डअन्तरगत मिथिला नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकाबीचमा पर्ने औरही नदीमाथि निर्धारित समयभन्दा सात महिना अगाडि नै तीनवटा पुल निर्माण सम्पन्न भएको छ । रसुवा निर्माण कम्पनीले सात महिना अगाडि नै तीनवटै पुल निर्माण गरी सरकारलाई हस्तान्तरण गरेको हो ।

ठेक्का सम्झौता अवधिमा काम सम्पन्न नगर्ने परिपाटी बढिरहेका बेला धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा रसुवा कन्स्ट्रक्सनले सात महिना अगाडि नै तीनवटा पुल निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको हो ।

ढल्केवर जनकपुर जटही सडकलाई ६ लेनको सडकमा स्तरोन्नति गरेपछि धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा सरकारले ६ लेनको सडकलाई मिल्ने गरी तीन वटा पुल निर्माण गरेको हो । सडक विस्तार भएदेखि सवारी साधनको चाप बढेको र भएको पुरानो पुलबाट आउजाउ गर्न समस्या भइरहेका बेला एकैचोटि तीनवटा पुल बनेपछि सवारी साधनलाई आउजाउ गर्न सहज भएको छ ।

सरकारसंग भएको सम्झौताअनुसार २०७८ चैत मसान्तमा तीनवटै पुल हस्तान्तरण गर्नुपर्ने भएपनि काम सम्पन्न हुनुपर्ने मिति भन्दा सात महिना अगाडि नै ७७ करोड २७ लाख रुपैयाँको लागतमा पुल निर्माणको काम सम्पन्न भएको हो ।

नेपाल सरकार र रसुवा कन्स्ट्रक्सनबीच २०७६ असोज ३० गते सम्झौता भइ मंसिरदेखि काम सुरु भएका तीन वटै पुल सवारी साधनका लागि खुला गरिएको छ । औरही खोलामा निर्माण सम्पन्न तीन वटा पुलमध्ये दुई वटा पुल ६ लेन सडकका लागि हुन् भने एउटा पुललाई सर्विस लेनको रुपमा राखिएको छ ।

पुलको लम्बाई १ सय ४३ दशमलब ५ मिटर र चौडाई ११ दशमलब ६ मिटर छ । सो पुलबाट एकतिरबाट एकपटकमा तिन वटा सवारी साधन चलाउन सकिने र छुट्टाछुट्टै लेनका लागि फरक फरक पुल नेपालमा पहिलो पटक यही निर्माण भएको रसुवा निर्माण कम्पनीका इन्जिनियर धिरेन्द्र साहनी बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर