पवन सर्राफको अर्धशतकमा काठमाडौंलाई १५८ रनको लक्ष्य – Nepal Press

पवन सर्राफको अर्धशतकमा काठमाडौंलाई १५८ रनको लक्ष्य

काठमाडौं । पवन सर्राफको अर्धशतक प्रेरित ललितपुर प्याट्रिओट्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उद्घाटन खेलमा काठमाडौं किङ्ग्स–११ लाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साविक विजेता ललितपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ५७ रनको योगफल तयार गर्‍यो ।

खराब सुरुआत गरेको ललितपुरका लागि पाँचौं नम्बरमा ब्याटिङमा आएका पवनले योगेन्द्रसिंह कार्कीसँग ६२ रनको साझेदारी गर्दै ४४ बलमा ५ चौका र ४ छक्कासहित ६१ रनको महत्त्वपूर्ण इनिङ खेले । ललितपुरका लागि योगेन्द्र कार्कीले २० बलमा ३ छक्कासहित ३३ रन जोडे ।

ललितपुरका ओपनर कुशल भुर्तेल गोल्डेन डक हुँदा सान्डुन भिराक्कोडी २ रनमा पेभेलियन फर्केका थिए । यस्तै शंकर राना १४, मिक्यो दोर्जी १७ र ललित राजवंशी शून्यमा अविजित रहँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

काठमाडौंका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए । आफ्नो कोटाको पूरा चार ओभरमा १८ रन मात्रै खर्चेका जितेन्द्रले काठमाडौंका लागि किफायती बलिङ गरे । त्यस्तै, रायन बुर्लले २ तथा गुल्शन झाले २ विकेट लिए ।

काठमाडौंका कप्तान सन्दीप ४ ओभरमा ४४ रन खर्चेर विकेटविहीन रहे । पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदीले ४ ओभर बलिङ गरेर ३२ रन खर्चिँदा विकेट लिन सकेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *