अर्घाखाँचीका ६ पालिकामा यस्ता छन् कांग्रेसमा दुई समूहका उम्मेदवार – Nepal Press

अर्घाखाँचीका ६ पालिकामा यस्ता छन् कांग्रेसमा दुई समूहका उम्मेदवार

रुपन्देही । नेपाली कांग्रेसको शनिबार हुने पालिकाको अधिवेशनमा अर्घाखाँचीका ६ पालिकामा पार्टी सभापति शेरबहादुर देउवा समूह र नेता रामचन्द्र पौडेल समूहका अलग अलग उम्मेदवार मैदानमा आएका छन् ।

जिल्ला नेतृत्वमा स्पष्ट दुई समूह भएपनि पालिकामा केही फरक समूह पनि बनेका छन् । पौडेल समूह बलियो मानिएको अर्घाखाँचीमा धेरै पालिकामा यही समूहबीच नै लडाई शुरु भएको छ । देउवा समूहका कांग्रेस नेता पुष्पा भुसाल, मानबहादुर बिक तथा पौडेल समूहका डा. रामबहादुर बिसी, रेवती भुसाल, कमल भुसालले स्थानीय तहमा आफ्नै समूहका नेताहरूलाई अगाडि सारेका छन् ।

गत भदौ १८ गते वडा अधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेसले नगर तथा गाउँपालिका अधिवेशनको तयारी तीव्र बनाएको छ । १४औं महाधिवेशन अन्तर्गत वडा सम्पन्न भइसकेको छ भने शनिबार नगर तथा गाउँपालिका अधिवेशनको तयारी गरेको छ । शनिबार अर्घाखाँचीका ६ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

जिल्ला सदरमुकाम रहेको सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, पाणिनि गाउँपालिका, मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकामा ९ गते निर्वाचन हुँदैछ । हालसम्म सन्धिखर्क नगरपालिकामा ३ जना, भुमिकास्थान नगरपालिकामा २ जना, शितगंगा नगरपालिकामा ३ जना, पाणिनी गाउँपालिकामा ३ जना, मालारानी गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिकामा ४ जनाको सभापतिमा दाबी गरेका छन् ।

सन्धिखर्क नगरपालिकामा बाबुराम भुसाल, बिष्णुप्रसाद भुसाल र लिलाधर बस्यालले उम्मेदवारी घोषणा गरेका छन् । तिन जनाले उम्मेदवारी घोषणा गरेका र सहमतिमा नगर सभापति बनाउन पहल भइरहेको नगर संयोजक विनोद आचार्यले जानकारी दिए । सहमति हुने सम्भावना कम भएपनि आफूहरूले प्रयास जारी राखेको उनको भनाइ छ । उम्मेदवारी दर्ता गरेपछि पनि मनोनयन फिर्ता लिनेबेलासम्म सबै सम्भावना कायमै रहेको छ । १२ वडा रहेको नगरभित्र २९५ क्षेत्रीय प्रतिनिधि छन् ।

क्षेत्रीय प्रतिनिधिले मतदानमार्फत अध्यक्ष चुन्नेछन् । भूमिकास्थान नगरपालिकामा हाल कांग्रेस नगर संयोजक रहेका खिमकुमार श्रेष्ठ ‘अशोक’ र नगरपालिका उपप्रमुख खडानन्द बेल्वासेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दुवैले मैदान नछोड्ने उद्घोष गरिसकेका छन् । हाल नगर संयोजक रहेका श्रेष्ठले सहमतिको कुनै सम्भावना नरहेको बताए । उनले बेल्वासेले उम्मेदवारी फिर्ता लिए सहमति हुने तर आफू कुनै पनि हालतमा फिर्ता नहुने बताए । नगर सभापतिमा दुई जना मात्र उम्मेदवार भएको भुमिकास्थानका १० वटा वडामा १८७ क्षेत्रीय प्रतिनिधि रहेका छन् । त्यसमध्ये पनि १० नम्बर वडा (धनचौर)मा क्षेत्रीय प्रतिनिधिमा विवाद छ । विवाद कायमै रहे त्यहाँका १५ जना प्रतिनिधि घट्नेछन् ।

शितगंगा नगरपालिकामा सभापतीमा तिन जना मैदानमा आएका आएका छन् । हाल नगर संयोजक रहेका मोती बेल्वासे, नारायण सिंह बेल्वासे र मोहन पन्थीले नगर सभापतिमा दावीसहित अगाडि आएका हुन् । देशकै ठुलो नगरपालिका शितगंगा नगरपालिकामा १४ वडा रहेका छन् । त्यहाँ २५६ क्षेत्रीय प्रतिनिधिले सभापति चयन गर्नेछन् । नगर संयोजक बेल्वासेले सहमतिको सम्भावना उत्तिकै रहेको बताएका छन् ।

पाणिनि गाउँपालिकामा पनि तिन जनाले आफूलाई पालिका सभापतिको रूपमा प्रस्तुत गरेका छन् । हालसम्म सुरेन्द्रराज पोख्रेल, तुल्सी पौडेल र सालिकराम घिमिरेले पाणिनिमा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । पालिका संयोजक विष्णु अर्यालले सहमतिका लागि प्रयास भइरहेको बताए । उम्मेदवारहरु आआफ्नै तरिकाले तयारीमा लागेको र नतिजा आफ्नो पक्षमा ल्याउन कसरत गरिरहेको उनले जानकारी दिए । ८ वडा रहेको पाणिनिमा २२६ क्षेत्रीय प्रतिनिधि रहेका छन् ।

मालारानी गाउँपालिकामा दुर्गाप्रसाद खनाल, राजेन्द्र विक र गोपाल जिसीले उम्मेदवारी घोषणा गरेका छन् । पालिका संयोजक शोभाखर खनालले हालसम्म तिन जना भएपनि सहमतिको प्रयास भइरहेको बताए । ९ वडा रहेको मालारानीमा १८४ क्षेत्रीय प्रतिनिधिले पालिकामा मतदान गर्नेछन् ।

छत्रदेव गाउँपालिकामा सबैभन्दा धेरै चार जनाको पालिका सभापतिमा चर्चा चलेको छ । बालकृष्ण पोख्रेल, प्रकाशचन्द्र भट्टराई, शोभाखर न्यौपाने र प्रकाशराज पन्थीले पालिका सभापतिमा उम्मेदवारी घोंषणा गरेका छन् । उम्मेदवारहरूले आआफ्नो तयारी तीव्र बनाएका हाल पालिका संयोजक रहेका बालकृष्ण पोख्रेलले जानकारी दिए । यद्यपि राजनीतिमा असंभव केही नभएकाले सहमतिको वातावरण बन्नसक्ने उनले बताए । ८ वडा रहेको छत्रदेवमा २५९ क्षेत्रीय प्रतिनिधि रहेका छन् ।

शनिबार हुने नगर तथा गाउँपालिका निर्वाचनमा हालसम्म १८ जनाको नाम चर्चामा आएको छ । ६१ वडाका १४ सयभन्दा धेरै क्षेत्रीय प्रतिनिधि मतदानमा सहभागी हुनेछन् । एकातिर कांग्रेसलाई अधिवेशन गराउनुपर्ने बाध्यता छ भने अर्कोतर्फ स्थानियतहको निर्वाचन नजिकिएका बेला आन्तरिक निर्वाचनको परिणामले निम्त्याउने मतभेदको डर छ । सहमतिमा नेतृत्व चयन गर्नसके पार्टीलाई हित हुने अधिकांश प्रतिनिधिको राय छ ।

तर गुटउपगुटका रेखा जिल्लास्तरसम्मै कोरिएकाले सबै ठाउँमा सहमति हुने सम्भावना छैन । जिल्ला र केन्द्रियस्तरका नेताको आश्रय पाएका उम्मेदवारहरु पार्टी हित विपरीत गतिविधिमा संलग्न रहेको प्रष्ट देख्न सकिन्छ । जिल्लाका कार्यकर्ता गुटउपगुटको शिकार हुँदै आएका छन् ।

जिल्ला सभापतिको नेतृत्वका लागि देउवा समूहबाट पुष्पा भुसाल र मानबहादुर बिकको प्रस्तावमा यादव घिमिरे अगाडि सरेका छन् भने पौडेल समूहबाट वर्तमान सभापति विष्णु मुस्कान, केशव श्रेष्ठ, इन्द्रमणि पौडेल गरी ३ जना मैदानमा आएका छन् । नेता डा.रामबहादुर बिसीले केशव श्रेष्ठलाई अगाडि बढाएका छन् भने पूर्वमन्त्री रेवती भुसाल, पूर्वसभापति कमल भुसालले मुस्कानलाई अगाडि बढाएका हुन् ।

देउवा समूहबाट यादव घिमिरे एकल उम्मेदार भएकाले सहज मानिए पनि पौडेल समूहबाट वर्तमान सभापति मुस्कान बलियो उम्मेदार हुन् । ६१ वडा रहेको वडासभापतिमा ३९ वटामा मुस्कान, ४ जना केशव, ६ जना तटस्थ, १२ जना देउवा समूहबाट जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर