कांग्रेसको पालिका अधिवेशन, ६० भन्दा बढी जिल्लामा निर्वाचनको रन्को – Nepal Press

कांग्रेसको पालिका अधिवेशन, ६० भन्दा बढी जिल्लामा निर्वाचनको रन्को

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज ६० भन्दा बढी जिल्लामा गाउँ ÷ नगर पालिकास्तरीय अधिवेशन हुँदैछ । क्रियाशील सदस्यता टुंगो लाग्न बाँकी १३ जिल्ला र केही प्राविधिक कारणले अर्को मिति तोकिएका बाहेकका जिल्लामा आज पालिका अधिवेशन हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

आज हुने अधिवेशनमा यसअघि वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरु मतदाता हुनेछन् । उनीहरु गाउँ ÷ नगर कार्यसमिति चयनका लागि मतदान गर्नेछन् । कांग्रेसको विधान अनुसार सभापति, २ उपसभापति, २ सचिव र २ सह सचिवसहित सदस्यहरु आजको निर्वाचनबाट चुनिनेछन् । निर्वाचित सदस्यहरुमध्येबाट सभापतिले कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था रहेको छ ।
देशको सबैभन्दा ठूलो स्थानिय तहका रुपमा रहेको काठमाडौं महानगरपालिकामा भने आज अधिवेशने हुँदैछैन ।

निर्वाचन समितिले सहमतिकै आधारमा काठमाडौंमा असोज १६ गते पालिका अधिवेशन गर्ने निर्णय लिएको छ । सिन्धुपाल्चोकमा पनि निर्वाचन अधिकृत छविरमण निरौलाले अधिवेशन स्थगित भएको सूचना टाँस गरेका छन् । काभ्रेमा जिल्ला सभापति मधु आचार्यले निर्वाचन अधिकृत सम्पर्कमा नरहेकोले अधिवेशन स्थगित भएको सूचना जारी गरेका छन् । यद्यपि निर्वाचन अधिकृत राजेन्द्र लामिछानेले आफू अधिवेशनकै तयारीमा रहेको र पालिका अधिवेशन स्थगित नभएको भन्दै शुक्रबार राति सूचना संप्रेषण गरेका छन् ।

कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय अधिवेशन महत्वपूर्ण हुन्छ । क्षेत्रीय अधिवेशनको नतिजाले केन्द्रीय नेतृत्वको प्रतिस्पर्धामा को बलियो छ ? भन्ने स्पष्ट पार्छ । यद्यपि पालिका अधिवेशनमा पनि गुटगत प्रतिस्पर्धा भएकोले पालिकाको नतिजाबाट क्षेत्र, जिल्ला र महाधिवेशनको आँकलन सहज हुने बताइन्छ ।

पालिका अधिवेशनले आगामि स्थानीय तहको निर्वाचनलाई समेत प्रभावित पार्नेछ । कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर