चितवन काङ्ग्रेसको स्थानीय तहमा ‘मिक्स प्यानल’, भरतपुर महानगरको सभापतिमा पाँचजनाको उम्मेदवारी – Nepal Press

चितवन काङ्ग्रेसको स्थानीय तहमा ‘मिक्स प्यानल’, भरतपुर महानगरको सभापतिमा पाँचजनाको उम्मेदवारी

उम्मेदवारी आजै, मतदान भोलि

चितवन । नेपाली कांग्रेसको १४ औं महाधिशन अन्तर्गत आज पालिकास्तरको चुनाव हुँदैछ । जिल्लातहका नेताहरूले चितवनका ७ स्थानीय तहमा पनि उम्मेदवारी दर्ता गर्दैछन् ।

भरतपुर महानगरबाहेकका स्थानीय तहमा दुई प्यानलमा प्रतिस्पर्धा हुँदैछ । केन्द्रमा जस्तो गुटको प्रभाव भने छैन । संस्थापन र संस्थापनइतर समूहका गाउँ-नगर सभापतिका उम्मेदवारले बलियो बन्न अर्को समूहका नेताहरूलाई प्यानलभित्र राखेर मिक्सअप गरेका छन् ।

७ वटै स्थानीय तहमा वर्तमान सभापति फेरी नेतृत्वका लागि उम्मेदवारी दिदैछन् । निकै कम मतान्तरले स्थानीय तहको चुनावमा पराजित माडी र रत्ननगरका मेयर उम्मेदवार नगरसभापति पदमा भिड्दैछन् । भरतपुर र कालिका नगरका एक-एक जना वडाध्यक्ष नगरसभापति पदमा उम्मेदवारी दिँदैछन् ।

भरतपुर महानगरमा सभापति पदमा ५ उम्मेदवारहरू देखिएका छन् । भरत अधिकारी, चित्रसेन अधिकारी, हिरामणि अधिकारी, वचन कार्की र अर्जुन रिजाल छन् । रत्ननगरमा रूपनराज घिमिरे र प्रल्हाद सापकोटा, खैरहनीमा शशिकुमार खनियाँ र गुणराज श्रेष्ठ, राप्तीमा नारायण उप्रेती र देवेन्द्र लामा प्यानल सहित उम्मेदवारी दिदैछन् ।

माडीमा कोमलनाथ भुषाल र खेमप्रसाद महतो, इच्छाकामनामा कृतिकुमार श्रेष्ठ र विष्णु कुँवर प्यानल सहित भिड्दैछन् । कालिकामा सभापति उम्मेदवार ६ जनाको चर्चा भएपनि लिलाबहादुर गुरुङ, दिपेश्वर केसी र राजु श्रेष्ठलेमात्रै उम्मेदवारी दिने चर्चा छ । श्रेष्ठ सर्वसम्मत नेतृत्व चयनका लागि लचक बन्न तयार छन् ।

शीर्षनेताहरूले समूह नबनाएपछि गुटभित्रै विभाजन देखिएका छन् । चितवनको पालिकास्तरको चुनावमा एउटै समूह भित्रबाटै धेरै उम्मेदवार देखिएका छन् । उम्मेदवारहरू मिलाउन केन्द्रीय तथा जिल्ला नेताहरूले हालसम्म पहल गरेका छैनन् । वडाअधिवेसनमा ८७ ठाउँमा सर्वसम्मत नेतृत्व चयन भए, तर पालीकास्तरको चुनावमा सर्वसम्मत गराउने पहल आज (शनिबार) बिहानसम्म भएको छैन ।

भरतपुरमा पौडेल समूहकै ३ र देउवा समूहका २ नेताहरू छन् । दुबै समूह विभाजित छन् । नगरसभापति उम्मेदवारले एउटै समूह बनाउने या नबनाउने उम्मेदवारी परेपछि टुंगो लाग्नेछ । माडीमा पौडेल समूहकै नेताहरू नगरसभापति पदको दौडमा छन् । इच्छाकामनामा पौडेल पक्ष र देउवा-पौडेल समूह मिलेर प्यानल बनेको छ । रत्ननगर, खैरहनी, राप्तीमा प्रतिस्पर्धा पौडेल भर्सेस देउवा समूह देखिन्छ । तर, पालिकास्तरको चुनावका लागि बनेका प्यानलमा तेस्रो धार मानिएको सिटौला पक्षधर नेताहरू मौन छन् ।

उम्मेदवारी दर्ता आजै, मतदान भोलि

जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलले आज चितवनका ७ वटै स्थानीय तहमा निर्वाचन प्रक्रिया सुरु भएको बताए ।

‘सर्वसम्मत हुने स्थिति नआए भोलि मतदान प्रक्रिया सुरु हुनेछ’, उनले भने, ‘आइतबार साँझै निर्वाचनको नतिजा प्रकाशन हुनेछ ।’ आज विहान ८ बजे निर्वाचन कार्यक्रम सुरु हुँदैछ । उम्मेदवारी दर्ता, फिर्ता लिने समय लगायतका निर्वाचन प्रक्रियामा समय लाग्ने भएकाले आजै मतदान हुने सम्भावाना कम रहेको जानकारी दिए । चितवनमा कांग्रेसको गाउँ नगरअधिवेसनबाट ५ सय ३९ जना नेतृत्वमा आउँदैछन् । जसमध्ये ४९ जना पदाधिकारीहरू चुनिदै छन् । २ सय ९४ जना प्रत्यक्ष र १ सय ९६ जना समानुपातिकबाट चयन हुनेछन् ।

उनका अनुसार भरतपुर महानगरमा १ सय ५२, रत्ननगरमा ८७, खैरहनी र राप्तीमा समान ७२, कालिकामा ६२, माडीमा ५२, इच्छाकामना गाउँपालिकामा ४२ जना चयन हुनेछन् । भरतपुरको २९ वडामा १ हजार ४ सय ७० जना, रत्ननगरको १६ वडामा ४ सय २३ जना, खैरहनीको १६ वडामा २ सय ९४ जना, राप्तीको १३ वडामा २ सय २५ जना, कालिकाको ११ वडामा २ सय २० जना, माडीको ९ वडामा १ सय ४८ जना र इच्छाकामना गाउँपालिकाको ७ वडामा १ सय ३३ जना मतदाताहरू छन् । वडाअधिवेशनबाट ९८ जना वडासभापति र २ हजार ८ सय १५ जना क्षेत्रीय प्रतिनिधिहरू चयन भएका थिए । ८७ वडामा सर्वसम्मत नेतृत्व चयन भएका थिए ।

निर्वाचन स्थल: स्कुलदेखि पार्टी प्यालेससम्म

पालिकाको कार्यसमिति निर्वाचनका लागि चितवनमा स्कुलदेखि पार्टी प्यालेसम्म निर्वाचन स्थल बनाइएको छ । भरतपुरका लागि वडा नम्बर १५ स्थित विश्वप्रकाश मावी, कालिकाका लागि भिमोदय मावि, राप्तीका लागि भण्डारा माविमा निर्वाचन स्थल बनाइएको छ । रत्ननगरका लागि होटल स्टार वैंक्युट, खैरहनीका लागि पर्सा बैंक्युटमा निर्वाचन स्थल राखिएको छ । माडीमा कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठान र इच्छाकामनामा मुग्लिन थकाली समाजको भवनमा निर्वाचन स्थल बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर