निर्धारित समयमा १७ वटा दिगो विकास लक्ष्य पुरा गर्न चुनौती – Nepal Press

निर्धारित समयमा १७ वटा दिगो विकास लक्ष्य पुरा गर्न चुनौती

लक्ष्य नम्बर १६ को प्रगति चिन्ताजनक

काठमाडौं । सन् २०१५ बाट सुरु भएको दिगो विकास लक्ष्य ६ वर्ष हुन लाग्दा १७ वटा लक्ष्यमध्ये अधिकांश लक्ष्य ताेकिएकाे समयमा पुरा गर्न चुनौती देखिएको छ । महिला, कानून र विकास मञ्चले शुक्रबार काठमाडौंमा आयोजना गरेको दिगो विकास लक्ष्य कार्यान्वयनका सम्बन्धमा पत्रकारसँगको छलफलमा दिगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपालका संयोजक दयासागर श्रेष्ठले कोरोना महामारीसँगै राजनीतिक अपनत्व र प्रतिबद्धता पुरा नभएका कारण कार्यान्वयनमा समस्या भएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

१७ वटा लक्ष्यमध्ये अधिकांश लक्ष्यमा कोरोना महामारीले असर गरेको भन्दै तोकिएको समसयमा सबै लक्ष्य पुरा गर्न कठिन देखिएको श्रेष्ठले बताएका हुन् । कतिपय लक्ष्य भने सन्तोषजनक अवस्थामा पुगेको पनि उनले बताए । दिगो विकास लक्ष्य १६ मा रहेका शान्ति, न्याय र सबल संस्थालाइृ केन्द्रित गरेर गरिएको छलफलमा उनले १६ नं लक्ष्यको प्रगति सन्तोषजनक नरहेको संयोजक श्रेष्ठले बताए । उनका अनुसार नेपालमा मात्र नभएर दिगो विकास लक्ष्यमा हस्ताक्षर गर्ने विश्वका १ सय ९३ देशमध्ये धेरै देशमा लक्ष्य नं १६ को प्रगति सन्तोषजनक छैन ।

लक्ष्य नं १६ को १२ वटा परिमाणात्मक लक्ष्य र ३२ वटा अनुगमन सूचक तय गरिएको छ । सरकारले अहिलेसम्म दुईपटक गरेको समीक्षामा पनि १६ नम्बर लक्ष्यका विषयमा धेरै तथ्याङ्क समावेश नगरेको पाइएको छ । छलफल तथा अन्तरक्रिया कार्यक्रममा महिला, कानून र विकास मञ्चमा कार्यरत अधिवक्ता बिनु लामा, कार्यक्रम संयोजक कृतज्ञ राईलगायतले दिगो विकास लक्ष्य हासिल गर्न सवै तहका सरकार र सरोकारवाला एक जुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *