कांग्रेस अधिवेशनः धरानमा पोखरेल र राई, इटहरीमा केसी र पौडेलबीच प्रतिस्पर्धा – Nepal Press

कांग्रेस अधिवेशनः धरानमा पोखरेल र राई, इटहरीमा केसी र पौडेलबीच प्रतिस्पर्धा

इटहरी । देशभरझैं प्रदेश १ का दुई उपमहानरमा पनि कांग्रेस महाधिवेशको सरगर्मी बढेको छ । यहाँको धरान र इटहरी उपमहानगरमा पनि केन्द्रमा जस्तै कांग्रेसका दुई समूह प्यानलै बनाएर चुनाव लड्ने तयारीमा छन् ।

यहाँ शनिबार हुने अधिवेशनका लागि दुवै समूहले उम्मेदवारी घोषणासँगै प्रचारप्रसारलाई तीव्र पारेका छन् ।

धरानको नेतृत्वमा पोखरेल र राईबीच प्रतिस्पर्धा

धरानमा पौडेल र देउवा खेमाबीच प्रतिस्पर्धा हुँदैछ । पौडेल खेमाबाट श्याम पोखरेल सभापतिका उम्मेदवार छन् भने देउवा खेमाबाट किशोर राई मैदानमा उत्रिएका छन् ।

पोखरेल वर्तमान कार्यसमितिका सचिव पोखरेल हुन् भने राई अखिल नेपाल फूटबल संघ (एन्फा)का वरिष्ठ केन्द्रीय उपाध्यक्ष हुन् ।

धरानका २० वडा सभापतिसहित ४९५ मतदाता छन् ।

पोखरेललाई हालका सभापति तथा धरानका मेयर तिलक राईको साथ छ । किशोर राईलाई धरानका देउवा पक्षका शक्तिशाली नेता मिन विश्वकर्मालगायतको साथ छ । चुनावमा दुवै पक्ष उत्तिकै आत्मविश्वासका साथ मैदानमा उत्रेको छ ।

इटहरीमा केसी र पौडेल मैदानमा

इटहरीमा ४८२ प्रतिनिधिले भोट गरेर नयाँ सभापति चुन्दैछन् । सभापतिमा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपसभापति विकास केसी र इटहरी कांग्रेसका वर्तमान सभापति हेमकर्ण पौडेलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

विकास शेरबहादुर देउवा पक्षमा हुन् भने हेमकर्ण रामचन्द्र पौडेल पक्षका हुन् । पौडेल पक्षबाट प्रकाश बस्नेतले समेत उम्मेदवारी दिएकोले केसी पक्ष आत्मविश्वासी देखिएको छ ।

पछिल्लो महाधिवेसनमा पौडेलसँग पराजित केसी पहिलेको तुलनामा अहिले बलिया उम्मेदवार हुन् । उनलाई नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति राजिव ढुंगाना, नेता रोहित प्रसाईलगायतको सहयोग छ ।

यस्तै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलदेखि विभिन्न कांग्रेस हेभिवेट नेताको केसीलाई सहयोग हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर