काठमाडौंका मेयरले सन्दीप लामिछानेलाई भने- अफ्रिदीसँग नआत्तिनू ! – Nepal Press

काठमाडौंका मेयरले सन्दीप लामिछानेलाई भने- अफ्रिदीसँग नआत्तिनू !

अर्कोपटक ईपीएलमा पूरा सिजन खेल्ने अफ्रिदीको आश्वासन

काठमाडौं । एभरेष्ट प्रिमियर लिग खेल्न आएका पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी ईपीएल खेल्न आउँदा नेपाली क्रिकेट समर्थकमा ठूलै उत्साह छ । तर, उनले जम्माजम्मी दुई म्याचमात्रै खेल्ने कुराले निराशा पनि ।

हिजो नेपाल ओर्लनासाथ पत्रकारहरूसँग अफ्रिदीले आफू दुई म्याच मात्रै खेल्ने खुलासा गरेका थिए । आज उनको टिम किङ्स ११ काठमाडौंले अफ्रिदीलाई समेत राखेर प्रिम्याच प्रेस मिट गर्‍यो । त्यसमा पत्रकारको चासो थियो- किन दुई म्याचमात्रै । जवाफमा अफ्रिदीले आफू व्यस्त रहेको बताएर टारे ।

‘म निकै व्यस्त थिएँ र छु, त्यसैले यसपाली दुई म्याच मात्रै खेल्ने भएँ,’ उनले भने, ‘तर, अर्कोपटक पनि आएँ भने पक्कै पूरा सिजन खेल्नेछु ।’

नेपाललाई सुन्दर देश भन्दै उनले परिवारसहित घुम्न आउने चाहना पनि व्यक्त गरे । आफू दुई म्याच खेल्न मात्र नभइ पाकिस्तान र नेपालबीच सम्बन्ध राम्रो बनाउनका लागि आएको उनको भनाइ छ ।

‘नेपालमा मैले न्यानो आतिथ्य पाएँ, यी दुई दिन खुशीसाथ बितेका छन्,’ उनले भने, ‘हाम्रो टिमको नेतृत्व गर्न लागेको सन्दीपलाई अल द बेस्ट भन्न चाहन्छु । मेरो साथ र समर्थन टिमलाई रहनेछ ।’

अफ्रिदीले नेपाली क्रिकेट टिमले आवश्यक सम्झेको खण्डमा जहिले पनि आउन तयार रहेको बताए ।

काठमाडौंका मेयर विद्यासुन्दर शाक्य पनि प्रेसमिटमा उपस्थित थिए । उनले टिभीमा हेर्दै आएको खेलाडीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले अफ्रिदीको उपस्थितिबाट नआत्तिन किङ्स ११ का कप्तान सन्दीप लामिछानेलाई सुझाव दिए ।

‘कहिलेकाहीँ आफूभन्दा तगडा खेलाडी देख्दा डराउने प्रवृत्ति हुन्छ,’ शाक्यले भने, ‘म सन्दीपलाई नआत्तिइकन खेल्न सुझाव दिन्छु । यसपाली जितेर आएपछि उनले अघिल्लो संस्करणमा आफूले टिमको जर्सी डिस्प्ले गर्दाको क्षण सम्झिए ।

‘त्यसबेला मैले जितेर आएपछि सँगै खुशीयाली मनाउनुपर्छ भनेर शुभकामना दिएको थिएँ । तर, खेलको नियम हो, सबैले जित्न सक्दैनन्, त्यसबेला सफल हुन सकिएन,’ उनले भने, ‘यसपाली मेरो र सिंगो महानगरपालिकाको तर्फबाट शुभकामना दिन्छु । जितेर आएपछि सँगै खुशीयाली मनाउने अधुरो इच्छा यसपाली पूरा हुने अपेक्षा छ ।’

किङ्स ११ का कप्तान सन्दीपले अफ्रिदीको उपस्थितिले आफ्नो टिममा धेरै फरक पार्ने बताए ।

उनले भने, ‘हाम्रो टिमले मात्र नभएर अरु टिमले पनि साहिद भाइबाट धेरै सिक्न पाउनेछन् । उहाँको उपस्थिति नै ठूलो कुरा हो हाम्रो लागि ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर