संवैधानिक इजलास विवादको टुंगो लाग्दै, ढुंगाना र शर्माको संयुक्त इजलासमा पेसी तोकियो – Nepal Press

संवैधानिक इजलास विवादको टुंगो लाग्दै, ढुंगाना र शर्माको संयुक्त इजलासमा पेसी तोकियो

काठमाडौं । प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन सक्ने कि नसक्ने भन्ने मुद्दाको सुनुवाइका लागि संयुक्त इजलास तोकिएको छ । न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोज कुमार शर्माको इजलासले यस मुद्दाको टुंगो लगाउने भएको छ ।

अधिवक्ता दीपकविक्रम मिश्र र डा.गणेश रेग्मीले दायर गरेका छुट्टा-छुट्टै रिटको सुनुवाइ हुने गरी सो इजलासमा पेसी तोकिएको हो । यो संयुक्त इजलासमा आज अरु कुनै मुद्दा छैनन् ।

न्यायाधीश हरि फुँयालको एकल इजलासले यसबारेमा लिखित जवाफ प्राप्त भएको ३ दिनपछि पेसी तोक्न दिएको आदेश बमोजिम आज पेसी तोकिँदैछ ।

संवैधानिक परिषद्ले गरेका संवैधानिक नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइमा प्रधानन्यायाधीश बस्न नमिल्ने विवादपछि यो प्रकरण अदालतमा मुद्दाका रूपमा छ । प्रधानन्यायाधीशले सो मुद्दाको सुरू र फैसलाको दिन आफू नबस्ने भनेको भन्दै उक्त निर्णय संविधानविपरीत भएको दावीसहित अधिवक्ता गणेश रेग्मीले रिट दर्ता गराएका थिए ।

सर्वोच्च अदालतले भने लिखित जवाफमा संविधानबमोजिम प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन नसक्ने र रिक्युजलको निर्णय न्यायाधीशको विवेकको कुरा भएको भनेको छ ।

प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्ने कि नबस्ने भन्ने मुद्दाको टुंगो लागेपछिमात्र संवैधानिक नियुक्तिहरूविरुद्धको रिटमाथि सुनुवाइ अघि बढ्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *