रुपन्देही कांग्रेसः सबै स्थानीय तहमा दुवै पक्षका उम्मेदवार सार्वजनिक, कहाँ को–को भिड्दैछन् ? (सूचीसहित) – Nepal Press

रुपन्देही कांग्रेसः सबै स्थानीय तहमा दुवै पक्षका उम्मेदवार सार्वजनिक, कहाँ को–को भिड्दैछन् ? (सूचीसहित)

खाँण समूहसँग शाह समूह असन्तुष्ट, अलग्गै उम्मेदवारी

रुपन्देही । नेपाली काँग्रेसको असोज ९ गते हुने स्थानीय तहको अधिवेशनमा रुपन्देही सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहले अलग–अलग उम्मेदवार तयार गरेका छन् ।

रुपन्देहीको १६ वटा स्थानीय तहमध्ये धेरैमा केन्द्रीय रुपमा अलग समूह बनाएका देउवा र पौडेल समूहले आ–आफ्ना उम्मेदवार सार्वजनिक गरेका छन् । खासगरी बुटवल उपमहानगर र तिलोत्तमा, देवदह, सैनामैना, सिनपा, लुम्बिनी साँस्कृतिक नगरपालिकामा दुवै पक्षले जसरी पनि नेतृत्व हात पार्नेगरी अगाडि बढेका छन् ।

यहाँ एकैसमूहमा रहेका गृहमन्त्री बालकृष्ण खाँण र सार्वजनिक लेखा समितिका सभापति भरत शाहबीच उम्मेदवार छनोटको विषयमा ठाकठुक परेको बुझिएको छ ।

जिल्लामा उम्मेदवार र मतदाता स्पष्टरुपमा दुई गुटमा विभाजित भएका छन् । कांग्रेसमा नयाँ नेतृत्वका लागि केन्द्रदेखि वडासम्म दुई गुटमा उम्मेदवारी, भेला, बैठक र चुनावी प्रचार गर्ने काम भएको छ ।

यसैक्रममा बुटवल उपमहानगरपालिकासगै जिल्लाका तिलोत्तमा, सिद्धार्थनगर, लुम्बिनी, सैनामैना र देवदह नगरपालिकाका नगर सभापतिका आकांक्षीहरु चुनावी प्रचारमा लागेका छन् ।

बिहीबार साँझसम्म नगर समितिहरुले पत्रकार सम्मेलन तथा घोषणा सभाहरु गरेका छन् ।

बुटवलमा पाण्डे र केसी

बुटवल उपमहानगरपालिका दुवै समूहले आफू बलियो रहेको दावी गरेको र प्रतिष्ठाको बनाइएको नगर हो । यहाँ रामचन्द्र पौडेल लाइनबाट यसअघिका सभापति खेलराज पाण्डे नै पुन दोहोरिने भएका छन् भने उनीविरुद्ध देउवा समूहबाट रिता केसी क्षेत्रीले उम्मेदवारी घोषणा गरेकी छन् ।

पाण्डे प्यानलमा उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिव छायाँ पोखरेल र गंगा पन्थी, सहसचिव देवलाल अरगेली र पुरुषोत्तम खनालले उम्मेदवारी घोषणा गरेका छन् ।

यसैगरी केसी प्यानलमा उपसभापतिमा नरबहादुर रजाली मगर र हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल र जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बासकोटा र गणेश घिमिरे उम्मेबारी घोषणा गरेका छन ।
यो नगरका १९ वडाबाट ५ सय ८४ जना क्षेत्रीय प्रतिनिधि छनोट भएका छन् ।

सैनामैनामा खाँण र शाह समूहको लडाइँ

सैनामैना नगरपालिकाको नगर समितिको निर्वाचनका लागि देउवा समूहबाट नगर सभापतिमा कृष्णप्रसाद पोख्रेलको नेतृत्वमा उपसभापति नीलप्रसाद थापा र मिना श्रेष्ठ, सचिव कृष्ण प्रसाद कंडेल र सुभाष पौडेल, सहसचिव श्यामप्रसाद अधिकारी र सहसचिव सुरेश परियारको टिम घोषणा भएको छ ।

यहाँ देउवा समूहमै रहेका नेता भरत शाह पक्षबाट नै सभापति रणबहादुर खनालको नेतृत्वमा उपसभापतिमा लोकमणि भट्टराई र लक्ष्मी आचार्य पौडेल, सचिव पदमा चुणामणि घिमिरे र अर्जुन पौडेल, सहसचिव मनु काउचा र शारदा रौतारले प्रचार शुरु गरेका छन् ।

सैनामैनामा ११ वटा वडाका २ हजार ४ सय ४४ जना क्रियाशील सदस्य छन् । पहिलो चरणमा सम्पन्न महाधिवेशनबाट २ सय ३८ क्षेत्रीय प्रतिनिधि छनोट भएका छन् ।

खाँणको गृहनगरबाट को–को लड्दैछन् ?

कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर हो तिलोत्तमा । यहाँको नगर समितिमा शेरबहादुर देउवा समूहबाट हरिलाल पाण्डेको नेतृत्वमा उपसभापति कल्याण पौडेल र माया चौधरी, सचिव प्रदिप थापा र हुमप्रसाद पौडेल, सहसचिवमा दिपक थापा र रमेश पराजुलीको उम्मेदवारी घोषणा भएको छ ।

पौडेल समूहबाट नगर सभापतिको लागि नारायण न्यौपानेले पनि उम्मेदवारी घोषणा गरेका छन् । पार्टीका अग्रज र वरिष्ठ नेताहरुलाई साथमा राखेर उनले आफ्नो टिमको उम्मेदवार घोषणा गरे ।

न्यौपानेको प्यानलमा उपसभापति अशोककुमार क्षेत्री र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कुँवर थारु र केशरी उपाध्याय रहेका छन् ।

तिलोत्तमा नगरमा १७ वटा वडाबाट पहिलो चरणमा ३ सय ९२ क्षेत्रीय प्रतिनिधि छनोट भएका छन् ।

सिद्धार्थनगरमा पनि भिडन्त

सिद्धार्थनगरमा पनि दुई समूह चुनावी मैदानमा देखिएका छन् । शेरबहादुर लाइनमा सभापतिमा कोसिस खड्का र पौडेल लाइनमा अर्का सभापतिका उम्मेदवार संजीव रेग्मीको समूह खडा भएका छन् ।

सिद्धार्थनगरमा १३ वडाबाट २ सय ४० क्षेत्रीय प्रतिनिधि छनोट भएका छन् ।

देवदहमा भुर्तेल र पाण्डेको प्रतिस्पर्धा

देवदह नगरपालिकामा पनि सभापति पदमा दुई लाइन देखिएको छ । देउवा पक्षमा सभापति गुणाखर भुर्तेल र पौडेल पक्षमा झविन्द्र प्रसाद पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् ।

अन्य पदमा भने व्यक्तिगत उम्मेदबारी घोषणा गरेका छन् । देवदह नगरमा १२ वडाबाट करिब १ सय ८० जना क्षेत्रीय प्रतिनिधि छनोट भएका छन् ।

लुम्बिनी सांस्कृतिकमा सर्वसम्मत बनाउने प्रयास

लुम्बिनी सांस्कृतिक नगरपालिका हालका सभापति मोहम्द सईत खाँ नै सभापतिमा दोहोरिने भएका छन् । यो नगरमा नेतृत्व सर्वसम्मत हुने अवस्था छ । उनी भरत शाह समूहमा छन् ।

त्यहाँ सभापतिमा अन्यको चर्चा अहिलेसम्म नआएको कांग्रेस नेता विष्णु पोखरेलले जानकारी दिए । क्षेत्र नम्बर ५ मा नेता भरत शाहको प्रभाव बढी छ । रुपन्देहीमा नेपाली कांग्रेसले धेरै मतान्तरले जितेको क्षेत्र भएकाले यहाँ शाहको प्रभाव बढी रहेको र धेरै वडामा सर्वसम्मत बनाएको पोखरेलले बताए ।

फेरियो समीकरण, खाँडप्रति शाह असन्तुष्ट

यसपटक रुपन्देहीमा नयाँ समीकरण देखापरेको छ । स्रोतका अनुसार रुपन्देहीमा बालकृष्ण खाँणको खेमामा रहँदै आएका प्रभावशाली नेता भरतकुमार शाह यसपटक जिल्लामा आफूलाई सम्मानजनक सहभागिता नगरिएको भन्दै असन्तुष्ट छन् ।

भरत शाहको ५ नम्बर निर्वाचन क्षेत्रमा विशेष प्रभाव छ । त्यसैगरी अन्य नगरमा पनि खाँण समूहबाट पेलिएको महसुस गरेका कार्यकर्ता शाहको पछि लाग्ने देखिएको छ ।

नगर सभापति निर्वाचनमा मुख्यतः तिलोत्तमा, सैनामैना, लुम्बिनी र सिद्धार्थनगरमा शाहको भूमिका महत्वपूर्ण मात्र नभएर निर्णायक रहने कांग्रेस कार्यकर्ताहरुको भनाइ छ ।

केन्द्रमा देउवालाई समर्थन गरे पनि जिल्लामा यसपटक भरत शाह र बालकृष्ण खाँणमा विभाजन आउने अनुमान गरिएको छ । यसको फाइदा जिल्लामा पौडेल समूहले लिने योजना बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर