चितवन प्रहरीको माइक चार्ली अभियानः मोटरसाइकल चोरीमा संलग्न गिरोह धमाधम पक्राउ पर्दै – Nepal Press

चितवन प्रहरीको माइक चार्ली अभियानः मोटरसाइकल चोरीमा संलग्न गिरोह धमाधम पक्राउ पर्दै

ह्विल तथा डिस लक लगाउन चालकलाई सुझाव

चितवन । चितवन प्रहरीले पछिल्लो साता चोरीको मोटरसाइकलको कारोबार तथा प्रयोग गर्ने १४ जनालाई पक्राउ गरेको छ । चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले मोटरसाइकल चोरीमा संलग्न पाँचौँ तहसम्मका गिरोहलाई पक्राउ गर्न सफल बनेको बताए ।

उनले मोटरसाइकल चोरीमा संलग्न सबै गिरोहलाई छिटै कारवाहीको दायरामा ल्याइने बताए । चितवन प्रहरीले मोटरसाइकल चोरीविरुद्ध ‘अप्रेशन माइक चार्ली’ सञ्चालन गर्दै आएको छ ।

अभियान भदौ ७ गतेदेखि सञ्चालन गरिएको हो । १ महिनाको अवधिमा बुलेट, पल्सरलगायतका १३ वटा चोरीका माटरसाइकलसहित चोरीमा संलग्न १६ जनालाई पक्राउ गरी कानूनी कारवाहीको दायरमा ल्याइएको एसपी अधिकारीले जानकारी दिए ।

नक्कली बीलबुक बनाएर चोरीका मोटरसाइकलको कारोबार हुँदै आएको उनले बताए ।

पक्राउ पर्नेमा चितवनका ११ जना र बाराका ३ जना छन् । खैरहनी–४ का सरोज खतिवडा, मिनबहादुनर पुन, भरतपुर–१५ का हिमाल पुन, अरुण पुन, भरतपुर–१६ का सज्जन बुढाथोकी, भरतपुर–२१ का टेजन पुन, भरतपुर–४ का अरुण कँडेल, भरतपुर–११ का अनिष श्रेष्ठ, अशोक कुमाल छन् ।

प्रहरीले भदौ २७ र २८ गते ३–३ जना पक्राउ परेका हुन् । टेजन पुन, अरूण कँडेल, अनिष श्रेष्ठ, अशोक कुमाल चोरीका मोटरसाइकल खरिदबिक्रिमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

असोज ३ गते भरतपुर–९ पारसबसपार्कमा पार्कीङ गरेको बुलेट बाइक चोरी भएको सूचना प्रहरीलाई पुगेपछि प्रहरी चोर पक्राउ गर्न सक्रिय बनेको थियो । प्रहरीले ०३–००४ प ४७४८ नंको खरानी रंगको बुलेट मोटरसाईकल चोरी गरेको आरोपमा भरतपुर–१ का रविन गुरुङलाई पक्राउ गरेको छ । सो मोटरसाइकल बिक्री कार्यमा संलग्न भरतपुर–२ का उदय गुप्ता, बारा–६ सिहसनीका राजेश चौधरी समेत पक्राउ परेका छन् ।

यस्तै प्रहरीले बारा करैयामाई–९ का सुनिल चौधरी, जितपुर सिमरा–११ का लक्की चौधरीलाई समेत पक्राउ गरेको छ । प्रदेश २–०३–०१५ प २१२३ नं को ड्यूक मोटरसाइकल सुनिल र लक्की चौधरीले चोरी गरेर राजेश चौधरी र उदय गुप्ता मार्फत ९५ हजार रुपैयाँमा रविन गुरुङलाई बिक्री गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले वाग्मती प्रदेश ०२–०१८ प ७२६०, वागमती प्रदेश ०२–०१८ प ३५२७, बा ९५ प २८००, प्रदेश–३ –०२–०२५ प ४२५९, प्रदेश ३–०२–०२१ प १४५६, प्रदेश ०३–०२–०१५ प ६७८९, वागमती प्रदेश ०३–००४ प ४७४८, प्रदेश २–०३–०१५ प २१२३ नम्बरका मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

चोरीमा संलग्न व्यक्तिबाट ९१ हजार रुपैयाँ नगद, २ थान मोबाईल समेत प्रहरीले बरामद् गरेको छ । कसुर प्रमाणित भएमा ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरीवाना हुनेछ ।

एसपी अधिकारीले ह्याण्डिल लक तोडेर मोटरसाइकल चोरी भएकाले ह्विल लक र डिस लक गर्न सुझाव दिएका छन् । ग्राहकले माग गरेबमोजिमका कलर र ब्राण्डका मोटरसाइकल चोरी गरी कारोबार हुने गरेको पाइएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर