कांग्रेस राजनीतिमा रिचाको डेब्यू- को हुन् कोइराला परिवारकी यी कान्छी सदस्य ? – Nepal Press

कांग्रेस राजनीतिमा रिचाको डेब्यू- को हुन् कोइराला परिवारकी यी कान्छी सदस्य ?

कोइराला परिवारका एकमात्र कम्युनिस्ट नेताले दिए छोरीलाई कांग्रेस बनेको शुभकामना

काठमाडौं । कोइराला परिवारको रगतमै कांग्रेस बगेको छ भनिन्छ । पिताजी कृष्णप्रसाद कोइरालापछिको दोस्रो पुस्ताका तीन भाइ छोरा एकैघरबाट नेपालको प्रधानमन्त्री र नेपाली कांग्रेसको सभापति बने ।

तीनैमध्येका एक प्रधानमन्त्रीकी नातिनीले कांग्रेस राजनीतिमा डेब्यु गरेकी छन् । कांग्रेसका संस्थापक तथा सभापति एबमु पूर्व प्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाकी नातिनी रिचा कोइराला परिवारलाई सरप्राइज दिँदै कांग्रेस राजनीतिमा प्रवेश गरेकी हुन् ।

सरप्राइज यस अर्थमा कि, कोइराला परिवारका एकमात्र कम्युनिस्ट हुन् उनका पिता कमल प्रसाद कोइराला । बुबा मात्रिका प्रसाद कोइराला प्रधानमन्त्री भएका बेला कम्युनिस्ट गतिबिधिमा लागेर कमल कोइराला जेल परेका थिए ।

तीनै कमल कोइरालाकी एकमात्र छोरी रिचाले कांग्रेसको १४ औं महाधिवेशनका लागि भएको वडा अधिवेशनमा भाग लिएर क्षेत्रीय प्रतिनिधि निर्विरोध चयन भएकी छन् ।

विहीवार काठमाडौं क्षेत्र नम्बर १ अन्तर्गत वडा नम्बर १० बाट उनी सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि चयन भएकी हुन् । उनले क्रियाशील सदस्य समेत यसैपटक लिएकी हुन् ।

आफू महत्वाकांक्षी नभई कोइराला परिवारको विरासत कायम राख्ने हिसाबले कांग्रेसको राजनीतिमा जोडिएको उनले नेपाल प्रेससँग बताइन् । हजुरबुबा र बुबाको राजनीति आदर्श आफूले नजिकबाट देखेको भन्दै उनले त्यतिको हुन नसके पनि ‘लिजेण्ड फ्यामिली’को विरासत बोक्ने बताइन् ।

रिचाले केही वर्षअघिदेखिनै मातृका प्रसाद कोइराला प्रतिष्ठानको अध्यक्ष भएर सामान्य कार्यक्रमहरु गर्दै आएकी छन् । कांग्रेस राजनीतिमा वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको जति चर्चा मात्रिका प्रसाद कोइरालाको हुँदैन । जबकी मात्रिका उनीहरु दुबैका दाइ थिए र उनीहरु दुवैभन्दा पहिले नै प्रधानमन्त्री र पार्टी सभापति भएका थिए ।

पछि मात्रिकाले कांग्रेसको आन्तरिक विवादमा राजनीति छाडेपछि यो परिवार कांग्रेसमा उपेक्षित थियो । किनभने मात्रिकाका छोरा कमल कोइराला चर्चित कम्युनिस्ट नेता भइसकेका थिए ।

कमल कोइराला मनमोहन अधिकारी, पुष्पलालहरुको समूहमा थिए । कालान्तरमा एमालेको केन्द्रीय नेतृत्वमा रहे । २०५१ सालमा मोरङबाट उनले सांसद जिते । पछि कोरियाको लागि नेपाली राजदूत पनि भए ।

उमेरका कारण उनी अहिले सक्रिय राजनीतिमा छैनन् तर सक्रिय पत्रकारिता र लेखनामा छन् । छोरीलाई कम्युनिस्ट राजनीतिमा लाग्न उनले दबाब दिएनन् । बरु छोरी रिचा कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेकोमा खुसी हुँदै बधाइ दिए ।

रिचाका पति अनिल अधिकारी पनि सिन्धुलीको कांग्रेस परिवारका हुन् । उनका बुबा प्रेमनाथ अधिकारीलाई तत्कालीन माओवादीले हत्या गरेका थिए । उनका काका रिमनाथ कांग्रेसको जिल्ला सभापतिसम्म भए । फुपू पनि राजनीतिमै छन् ।

कांग्रेसको पर्याय परिवारकी पनातिनी पुस्ताकी कान्छी सदस्य रिचाको राजनीतिमा इन्ट्रीसँगै कोइराला परिवारमा तरंग सिर्जना भएको छ । रिचाकै पुस्ताका विपी कोइरालाकी नातिनी मनिषा र नाति सिद्धार्थ पनि राजनीतिमा सक्रिय हुन खोजेका छन् ।

यद्यपी मनिषा कांग्रेसले लिएको बाटोसँग सहमत छैनन् । कांग्रेसको नेतृत्व लिन काकाहरु सशांक, शेखर र फुपू सुजाता कोइराला कस्सिएका बेला रिचाले कांग्रेस स्कूलको सदस्य लिनुलाई करीव ८ दशकपछि पनि कांग्रेस राजनीतिमा कोइराला परिवारको विरासत कायमै रहन सक्छ भन्ने अर्थमा बुझ्न सकिन्छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर