काभ्रेमा प्रचण्डको उत्तेजक भाषणः हामी विजेता हौं, केपी हरुवा, भगौडा हो(भिडिओ) – Nepal Press

काभ्रेमा प्रचण्डको उत्तेजक भाषणः हामी विजेता हौं, केपी हरुवा, भगौडा हो(भिडिओ)

काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा उत्पन्न विवाद र विभाजनसँगै शिर्ष वामनेताहरुबीच सुरु भएको दन्तबझान आजका दिनसम्म पनि थामिएको छैन । यसमा नयाँ आयाम थप्नेगरी माओवादी अध्यक्ष प्रचण्डले आज काभ्रेमा ओलीमाथि चर्को गालीगलौज गरेका छन् ।

राजनीतिक शब्दकोषमा भेटिने-नभेटिने सबैखाले शब्दावलीहरुबाट प्रचण्डले ओलीलाई आरोपित गर्न भ्याए । उनले एक घन्टाभन्दा लामो भाषण गर्दा अधिकांस समय केपी ओलीलाई गाली गर्न खर्चिएका थिए । बचेखुचेको समय ‘आत्मप्रशंसा’ मा बिताए । सारमा उनको भाषण पूर्णतया अराजनीतिक प्रकृतिको थियो ।

प्रतिनिधिसभा विघटनको प्रसंग निकाल्दै प्रचण्डले ओलीमाथि आक्रमण यसरी सुरु गरेका थिए:

‘म कालको मुखमा गएर सबै त्यो देखेर आएको हुँ नि । जनयुद्धको बेलामा मलाई मार्ने भनेर घेरा हालिएकै हो । विदेशबाट अत्याधुनिक हतियार ल्याएर हामीमाथि दमनचक्र चलाइएको थियो नि, हो त्यस्तै उद्देश्यका साथ केपीले प्रतिनिधिसभा विघटन गरेका थिए । तपाईंहरुले सुन्नुभयो त्यतिबेला । डरलाग्दो सेटिङ देखिन्थ्यो केपी ओलीको ।’

अब उनले ओलीमाथि कम्युनिष्ट शब्दकोषका विभिनन जार्गनहरु प्रयोग गर्न थाले ।

‘केपी राष्ट्रिय आत्मसमर्पणवादी, तानाशाही, प्रतिक्रान्तिकारी, फासिस्ट प्रवृत्तिको प्रतिनिधि हो । साथै उनी चरम दक्षिणपन्थि, सामन्ति, अति हिन्दूवादी हुन् । उनी वरिपरी कसरी विदेशी शक्ति केन्द्रित हुँदा रहेछन् भन्ने मैले सबैभन्दा नजिकबाट देखेँ ।’

‘हामी विजेता हौं’

प्रचण्डले तत्कालीन नेकपा फुटेको नभइ आफूहरुले ओलीमाथि विजय प्राप्त गरेको बताए ।

‘पार्टी फुटेको भन्छन्, तर त्यसो होइन,’ प्रचण्डले भने, ‘हामीले केपी प्रवृत्तिमाथि विजय प्राप्त गरेको हौं, साथीहरु ख्याल गर्नुहोला । केपीजस्तो निरंकुश, अहंकारी, दम्भीलाई पार्टीबाट ७० प्रतिशत केन्द्रीय सदस्य मिलेर निकाल्दिएको हो । तपाईंहरुले यो कुरा गहिरो गरी बुझ्न जरुरी छ ।’

उनले थपे, ‘कोहीकोही भन्छन्- केपीले जालझेल गरेर फेरिं आउँछ । तर, मैले केपीजति बुद्धि नभएको नेता कोही पनि देखेको छैन । यति ठूलो अवसर थियो उसलाई । चुपो लागेर एकताको बेलामा भएका सहमति र समझदारी पालन गरेको भए नेपालको इतिहासकै महान व्यक्ति बन्ने अवसर थियो । तर गिदीभित्र गोबर भरिएपछि केही लाग्दैन ।’

ओली कुनै हालतमा पनि नसच्चिने र आफ्नै पार्टीभित्रका सहयोद्धामाथि अपमान र षडयन्त्र गर्ने कुरा उदांगो भएपछि आफूले पार्टीमा १९ पेजको प्रतिवेदन प्रस्तुत गरेको प्रचण्डले बताए ।

‘मैले केपीलाई मार्क्सवादी होइन, सामन्ति हिन्दू अतिवादी हो भनेर त्यतिबेला नै भनेको हो । पशुपतिमा जलहरी चढाएको त देख्नुभयो । अहिले मेरो चुनाव क्षेत्रमा राम-सीता, हनुमान ल्याएर राखिदेका छन् । मैले गर्ने के ? रामसीतासँग लड्न पनि भएन ।’ उनले गुनासो गरे ।

उनले अझै थपे, ‘तपाईंहरुलाई त्यो बेला लाग्यो कि प्रचण्डले गर्न त गर्यो, तर प्रधानमन्त्री त केपी रहिरह्यो नि । तर, मेरो दावी के छ त भने उसलाई हामीले ७० प्रतिशतको दुइतिहाई बहुमतसहित निस्कासन गरेको हो । बडो गम्भीरताका साथ, आत्मविश्वासका साथ, आक्रामक ढंगले गाउँ-गाउँमा गएर भन्नुहोला यो कुरा ।’

‘केपी हरुवा हो, भगौडा हो । कम्युनिष्ट आन्दोलनबाट, मार्क्सवादबाट भागेको हो । हामीले उसको मार्क्सवादविरोधि, समाजवाद विरोधि, राष्ट्रविरोधि चरित्र उदांगो पारेर पार्टी सदस्यबाट निस्कासन गरेका हौं । हामी विजेता हौं, उ हरुवा हो भन्ने कुरा दिमागमा राख्नुहोला ।’

एमाले फुटाउन मिहिनेत

आफूले एमाले फुटाएर नेकपा एस बनाउन निकै मिहिनेत गरेको प्रचण्डले खुलस्त पारे । तर, केही नेताहरु एमालेमै बसेकोमा दुखेसो गरे ।

‘झलनाथ, माधवहरुको पार्टी बनाउनमा हाम्रो कम्ता मिहिनेत परेको छैन, तपाईंहरु पनि सहज ढंगले ती साथीहरुसँग सहकार्य गर्नुहाला,’ प्रचण्डले भने, ‘योगेश, घनश्याम के–के नाम भएकाले चाहिँ केपीसँग आत्मसमर्पण गरे । बडो दया लाग्छ । ढिलो- छिटो ती पनि निस्किन्छन् । बस्ने ठाउँ नै छैन त्यहाँ उनीहरुलाई ।’

‘मैले केपीको एउटा अर्थमा क्षमता छ भन्ने गरेको छु । उनी झूटो बोल्न सिपालु छन् । नक्कली र काइते कुरा गरेर मान्छेलाई चक्मा दिन खप्पिस छन् । यस्तो क्षमता बुर्जुवाहरुमा हुन्छ । उनीहरु रुप चाहिँ बडो राम्रो देखाउँछन् । रक्सीको बोतलजस्तै । ब्ल्याक लेवल, रेड लेवलमा हुन्छ नि, राम्रो केटीको तस्वीर, हेरिरहुँ जस्तो । यो बर्जुवाहरुको विशेषता हो । रुप राम्रो देखाउन सिपालु । हामी सर्वहाराको रुपसँग त्यति मतलब हुँदैन । रुप सजाउनतिर त्यति धेरै ध्यान जाँदैन । हेर्नुस न बडा विचित्र क्या ।’

प्रचण्डले आफू दुईपटक प्रधानमन्त्री बन्दा नेपालको इतिहासमै स्वच्छ शासन चलाएको दावी गरे ।

‘म पनि दुईपटक प्रधानमन्त्री भएँ यो देशमा । पहिलोचोटि अलि झिलिमिली झिलीमिभली जस्तो भयो क्या । एकैचोटि बम्पर जितियो, स्वाट्टै बालुवाटार पुगियो । के हो कसो हो भनेर बुझ्दाबुझ्दै ९ महिना बित्यो । तर, मेरो पालामा कसैले पनि एक शब्द भ्रष्टाचार भन्ने शब्द उच्चारण गरेन कसैले । नेपालको इतिहासमा त्यति स्वच्छ शासन अहिलेसम्म भएकै छैन । अस्ति भर्खर पनि ९-१० महिना प्रधानमन्त्री भएँ । त्यसबेला ठूला–ठूला काम गरेँ, तर भ्रष्टाचार भयो भनेर कसैले उच्चारण गर्नै सकेन ।’

फेरि उनी ओलीमा फर्किए ।

‘केपी ओलीको बेलामा हेर्नुस त । भ्रष्टाचारबाहेक केही भएन । यस्तो ढोगीं… यस्तो पाखण्डी… । यस्तो गैरमार्क्सवादी, फासिस्टको मैले भण्डाफोर गरिनँ त ? हामीले गठवन्धन बनायौं । केपी ओलीलाई घोडाबाट पछारेउँ । बालुवाटारबाट निकालेर बालकोट पुर्यायौं । तर यी उल्टो बुद्धि भएका मानिस हुन् नि । मलामी जाँदा त हाम्रो सबैको अनुहार मलिन हुन्छ । आँखामा आँशु हुन्छ । चिन्तमग्न भएर गइन्छ होइन त ? मलामी जाँदा हास्दै गयो भने त अनौठो हुन्छ नि । बालुवाटारबाट बालकोट जाने भनेको त प्रधानमन्त्रीको लाश लिएर गएको जस्तै हो नि राजनीतकिरुपमा । तर,  केपी प्रवृत्ति भनेको कस्तो भने, करोडौं खर्च गरेर बाजागाजा, जुलुस लिएर  गए कत्ति न जन्त गएजस्तो गरी ।

‘पाँच वर्ष प्रधानमन्त्री बन्ने प्रस्ताव लत्याएँ’

प्रचण्डले आफूलाई चुनावअघि पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने प्रस्ताव आएको तर आफूले लत्याएको दावी गरे ।
‘पहिलोचोटि गठवन्धन गरेर चुनाव लडियो । पार्टी त अलगअलग थियौं । नेपाली कांग्रेसका शेरबहादुर र मधेसी समेतले भनेका थिए, तपाईंलाई पाँचै वर्ष प्रधानमन्त्री दिन्छौं भनेर । गठवन्धन छोड्नु्स, लिखित हस्ताक्षर गर्न तयार छौं भनेका थिए । तर मैले जनता सामु वामगठवन्धनका लागि भनेर लडेको हो, मलाई प्रधानमन्त्री चाहिएन भनेर पन्छाएँ । यो ऐतिहासिक तथ्य हो । जनतालाई धोका र विश्वासघात कल्पना पनि गर्न सक्दिनँ भनेँ । तर अहिले केपी निरंकुश र प्रतिक्रान्तिकारी राष्ट्रिय आत्मसपर्मणवादी भएर निस्किए ।’

‘दोस्रो विघटनमा मैले धेरै मिहिनत गरेको छु, कारेडहरु । पाँच वर्ष खानुस भन्दा म त्यसबेला मानिनँ । अहिले योपटक शेरबहादुरसँग आफैंले हात जोडेँ, प्रधानमन्त्री भइदिनुस, साथ दिन्छौं भनेर । माधव नेपाल र मैले हो गरेको । गठवन्धन बनाउँ, संसद विघटन गर्नेलाई परास्त गरौं भनेर हो । अहिले उहाँ साँच्चै गठवन्धनको प्रधानमन्त्री हुनुभएको छ । तानाशाहलाई बालुवाटारबाट बालकोट सारियो । यो पनि घेरा तोड्ने र प्रतिरोध गर्ने तरिका हो । हामीले अर्को चुनावसम्म गठवन्धन बनाएर चुनाव लड्ने संकल्प गरेका छौं ।

प्रचण्डले एमसीसीलाई अघि सारेर गठवन्धन फुटाउने षडयन्त्र भएको तर त्यो सफल नहुने बताए ।

‘गठवन्धनको बीचमा एमसीसी आउँछ फेरि । एमसीसी ल्याएर दिमाग खराब गर्ने, गठवन्धन टुटाइदिने सपना देखेका छ्न् र कसरत गरेका छन् । एमसीसीमा शेरबहादुर र प्रचण्ड झगडा गर्छन् र टुट्छ भनेका छन् । हामीले भनेका छौं, एमीसीलाई संसोधन गरेर राष्ट्रको हितअनुकुल परिमार्जन गरेर जान सकिन्छ । गठवन्धनमा के सहमति छ भने एमसीसी मुख्य होइन, गठवन्धन मुख्य हो । फुटाउने षडयन्त्रलाई परास्त गरेका छौं ।’

६४ साल दोहोर्याउने योजना

प्रचण्डले आगामी चुनावमा माओवादीका ४५ लाख मतदाता तयार पार्ने र ६४ सालको चुनाव दोहोर्याउने योजना यसरी सुनाएः

‘हामी अब समाजवाद निर्माणको महान अभियान चलाउने हो । आजका दिनसम्म आइपुग्दा त ४५ वटा पार्टी हामीसँग एकतावद्ध भएका रहेछन् । अब उनीहरु सबैका समर्थकलाई समेट्नेछौं । प्रत्येक वडामा समर्थकहरु बनाउनुपर्यो । एउटा वडामा सय देखि २ सयसम्म मान्छेको समर्थन गर्ने समिति बनाइन्छ । त्यसो गर्दा देशैभरि १५ लाख मान्छे संगठित हुँदा रहेछन् । त्यो २ सयलाई २-२ जना भोट तयार पार भनेमा ३० लाख भोटर भइहाले । ३-३ जना भनियो भने ४५ लाख हुन्छन् । अनि फर्स्ट पार्टी बन्न कसैले रोक्न सक्छ त ?’

‘यो राष्ट्रलाई बुझेको पार्टी त माओवादी नै रहेछ भन्ने जनतालाई थाहा भइसक्यो । जतिसुकै दवाव, धम्की, लोभ दिए पनि नझुक्ने र नचुक्ने नेता प्रचण्ड नै रहेछन् भन्ने थाहा भइसक्यो । फेरि एकपटक माओवादीलाई हेर्नुपरो भन्ने मुड बनेको छ जनताको ।’

‘६४ सालको चुनाव यादै छ, कांग्रेस, एमाले सबै जोड्दा पनि हाम्रो हाराहारी थिएनन् । त्योबेला जनयुद्धको रापताप त छँदैथियो, तर चुनाव जित्नुको एउटा प्रमुख कारण वाइसीएल थियो । प्रतिक्रियावादीको लागि आतंक नै बनेको थियो वाइसीएल। ती बस्नेतहरु त कहाँ लखेटिए कहाँ । जनताले वाइसीएल भनेपछि आफ्नाे सरक्षण गर्ने छोराछोरीजस्तै ठान्थे । बीचमा अलि गज्याङमज्याङ भएको छ क्या ।’

‘वाइसीएल फेरि ०६४ मा जानुपरो । बडो हामीलाई तर्साउन खोज्ने ? माओवादीलाई तर्साउन खोज्ने ? लाजैमर्दो होइन त ? कायर र दलालले जनताका छोराछोरीलाई तर्साउने ? वाइसीएल जागेर आउनुपरो । ईंटको जवाफ पत्थर दिनुस परिआएको हामी व्यहोर्छौं ।’

‘वाइसीएलका सबै कामरेडलाई मेरो विशेष आग्रह के छ भने विल्कुल भ्रम त्याग्नुस । डर हटाइदिनुस । अबको चुनाव ०६४ को जस्तो हुनुपर्यो । कुरा बुझ्नुभो त ? । जालझेल गर्ने, त्यहाँ गएर बाकस साट्ने, पुलिस कर्मचारी प्रयोग गरेर जित्नेलाई भ्याकुर लखेटेजस्तो लखेट्दिनुपर्छ । अनि न चुनाव जितिदोरैछ ।’

‘०६४ मा तपाईंहरुले कति गर्नुभाथ्यो सम्झिनुस त । गर्नु पनि गरियो नगर्नु पनि गरियो । र त जितियो । अहिले सोझो ह्ँदाहुँदा हामीलाई हेप्ने सबैले ? हामी किन हेपिने ? हामीले पनि शान्तिपूर्ण भन्ने हो, तर गुण्डालाई ठिक पार्ने हो । हामी बन्दुक लिएर नजाने, तर ठोक्ने । उनीहरु लठ्ठी लिएर आए भने लठ्ठीले नै ठोक्ने ।’

‘दिउसै रात पार्ने काम गरेका छन् नि त । तिनीहरुलाई ठीक गर्नुपर्छ भन्ने मलाई लाग्छ । अस्तिको पल्ट हामीलाई झण्डै मारेका । संसदै सिध्याउन खोजेका थिए सबै मिलेर । के खोज्या आउ जेल हाल भन्या हुनाले न जितियो । डराको भए त लखेट्थे । नडराइ अगाडि बढेर त जनयुद्धमा यत्तिको भएको हो । नडराइ सडकमा उत्रेको हुनाले त… ।’

हेर्दाहेर्दै तीनवटा मुुख्यमन्त्री
प्रचण्डले देशका तीन प्रदेशमा आफूहरुले मुख्यमन्त्री पाएको भन्दै खुशी व्यक्त गरे । थप दुई प्रदेशमा आफ्ना मन्त्रीहरु बन्ने उनले बताए ।

‘तीनवटा मुख्यमन्त्री भइयो हेर्नुस त हेर्दाहेर्दैै । अब दुईवटा बाग्मती र १ नम्बरमा एक हप्ताभित्र हाम्रा मन्त्री हुन्छन् । लडेपछि जितिदो रहेछ नि त । कुरा बुझ्न्ुभो त ?’

बादलसँग एलर्जी

प्रचण्डले एमालेमा रहेका पूर्वमाओवादी नेताहरुप्रति तिक्तता प्रकट गरे । उनीहरुको अनुहार सम्झिँदा पनि एलर्जी लाग्ने उनको भनाइ छ ।

‘आम तलका कार्यकता बिग्रेका छैनन् । ग्राउन्डमा बस्ने कार्यकर्ता कोही बिग्रेका छैनन् । टाठाबाठा चुनाव जितेकाहरु बिग्रेका हुन् । मैले जसलाई धेरै मन्त्री बनाएँ, उही सबैभन्दा ठूलो भगौडा भयो । त्यही धोकेवाज भयो । मन्त्री बनाएपछि ठिक हुन्छ भनेको के पो हुन्थ्यो ? त्यो टोपबहादुर भन्नेलाई मैले नै कतिचोटि मन्त्री बनाएँ, अहिले कहाँ हेर्नुस त ? त्यो बादल मेरो साथी, बढी त भन्दिनँ अहिले, तर सम्झिँदा पनि एलर्जी हुन्छ । धत् यस्तो पनि हुन्छ ? कहाँबाट ल्याएर सरकारको नेतृत्व तपाईं गर्नुस भनेर गृहमन्त्री बनाएको त माओवादीले, मैले हो नि । अहिले त ओहो … ।’

प्रचण्डले अन्त्यमा आफू अब समाजवादी क्रान्तिमा हाम्फाल्ने बताए ।

उनले भने, ‘मैले पहिले जनयुद्धमा हाम्फालेँ, त्यसपछि शान्तिप्रक्रियामा हाम्फालेँ, संविधानमा हाम्फालेँ । अब चाहिँ समाजवादी क्रान्तिको निम्ति हाम्फाल्दैछु । अब कति वर्ष बाँचिन्छ, समाजवादी क्रान्तिका निम्ति युवाहरुको नेतृत्व गर्छु म ।’


प्रतिक्रिया

One thought on “काभ्रेमा प्रचण्डको उत्तेजक भाषणः हामी विजेता हौं, केपी हरुवा, भगौडा हो(भिडिओ)

  1. राजनीतिक भाषण चाहिँ कस्तो हुन्छ सम्पादकजी? ओलीको जस्तो हो?

Leave a Reply to हरि Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर