नेकपा एसको नेतृत्व अनावरणः पाका अनुहारकै वर्चश्व – Nepal Press

नेकपा एसको नेतृत्व अनावरणः पाका अनुहारकै वर्चश्व

काठमाडौं । एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाएका माधव नेपालतिर सबैको नजर थियो- कस्तो पार्टी बनाउलान् ? २ भदौमा दर्ता निवदेन दिएर ९ भदौमा निर्वाचन आयोबाट दर्ता प्रमाणपत्र पाएको नेकपा (एकीकृत समाजवादी)ले करिब एक महिनापछि आफ्नो आकार ग्रहण गरेको छ ।

५ भदौदेखि शुरु भइ तीन दिनसम्म चलेर आज सकिएको पहिलो केन्द्रीय कमिटीले बैठकले पार्टीलाई पूर्णता दिएसँगै नेकपा एसको अनुहार अनुमान योग्य बनेको छ । पदाधिकारीबाट पार्टी अनुहार केलाउँदा माधव नेपालले सबैलाई समेट्न खोज्दा नेकपा एसको पदाधिकारी टिम निकै ठूलो बन्न पुगेको छ । ७ उपाध्यक्षसहित १८ जनाको पदाधिकारी रहने भएका छन् ।

यसलाई कटाक्ष गर्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ‘पदाधिकारी पार्टी’ भने । काठमाडौंका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीको टिप्पणी थियो- पदाधिकारी पार्टी हुने भएछ । पार्टी बन्दै छ, अहिल्यै ७ जना उपाध्यक्ष हुनुपरेको छ ।

पार्टीको पदाधिकारीमा पाकादेखि युवासम्मको प्रतिनिधित्व छ । समुदायगत प्रतिनिधित्वलाई पनि सन्तुलित बनाउन खोजिएको छ । केही नयाँ अनुहार पनि समेटिएका छन् । उपमहासचिवमा रहेका प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेल अलिक नयाँ अनुहार हुन् । त्यस्तै युवा पुस्ताबाट जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

उपाध्यक्षमा भने अधिकांश पुरानै अनुहार छन् । एमाले राजनीतिमा पहिले योगदान पुर्‍याएका तर हाल पर्दापछाडि रहेकाहरु नै बढी छन् । राजेन्द्र पाण्डे बाहेकका उपाध्यक्षहरु खरोरुपमा उत्रिरहेका पात्रहरु होइनन् ।

उपाध्यक्षहरु प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह र जयन्ती राई पाका पुस्ताका हुन् । राजनीतिका उनीहरु अनुभवी हुन् तर उमेरकै हिसाबले पनि उनीहरुले धेरै दौडधुप गर्ने अवस्था छैन ।

पुरानो र नयाँ पुस्तालाई समेटर पदाधिकारी बनाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा बताउँछन् ।

‘पुरानो योगदान, इतिहास, योग्यता र क्षमता सबैलाई आधार बनाइएको छ,’ पदाधिकारी छनोटको मापदण्डबारे उनले भने, ‘पुरोनो केन्द्रीय कमिटी सदस्य, पुरानो पोलिटब्युरो सदस्यहरुलाई नै अगाडि बढाइएको छ ।’

स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी पनि ठूलो बनाइएको छ । केन्द्रीय कमिटी सदस्य (पूर्ण र वैकल्पिक गरी) ३०१ सदस्यीय रहने भएका छन् । ३५ सदस्यीय स्थायी कमिटी बन्दा ७१ सदस्यीय पोलिट्व्युरो गठन गरिएको छ ।

कतिपयले पार्टी भन्दा कमिटी ठूलो भन्दै कटाक्ष पनि गरेका छन् । तर, खतिवडा कमिटी ठूलो हुँदैमा कार्यक्षमतामा प्रभाव नपार्ने दावी गर्छन् । ‘भद्दा कमिटी-ठूलो कमिटी भएको हुनाले बैठक बस्न सक्दैन भन्ने कुरा सहि होइन,’ उनको भनाइ छ, ‘समयमा बैठक राख्ने इच्छाशक्ति नेतृत्वमा हुनुपर्छ । हामीसँग त्यो इच्छाशक्ति छ ।’

उर्जाशीललाई उपेक्षा !

हुन त माधव नेपालहरु नेकपा एसलाई नयाँ पार्टी गठन गरेको भनेर स्वीकार गर्दैनन् । उनीहरु एमालेको पुर्नगठन गरेको र असली एमाले आफूहरु भएको दावी गर्छन् ।

तर, तर्क जे गरिए पनि नेकपा एस नयाँ पार्टी नै हो । यसलाई देशभर स्थापित गर्नुपर्ने चुनौती छ । यसको संगठन गाउँ-गाउँमा फैलाउने चुनौती छ । त्यसका लागि उर्जाशील, खटिनसक्ने र मासलाई कमाण्ड गर्न सक्ने नेताको खाँचो छ । गतिलो संगठक नभइ नयाँ पार्टी सस्थापना गर्ने भन्ने कुरा चुनौतीपूर्ण छ ।

यस्तो कुरामा माधव नेपाल चुकेको नेकपा एस भित्रकैका नेता कार्यकर्ताहरु गुनासो गर्छन् । महासचिव र सचिवमा रहेका नेताहरुप्रति सन्तुष्ट हुन सकिए पनि उपाध्यक्ष र महासचिवमा सन्तोष गर्ने ठाउँ नभएको उनीहरुको भनाइ छ ।

पदाधिकारी छनोट नहुँदै नेकपाका नेता कार्यकर्ता र भातृ संगठनका नेताहरुको जोड पदाधिकारीमा कमसेकम उर्जाशील र संगठनका लागि देशदौडाह गर्न सक्ने नेतृत्व ल्याउनुपर्नेमा थियो ।

अलिकति फरक देखिन र युवा पुस्तालाई आकर्षण गर्न पनि युवा नेतालाई पर्याप्त ठाउँ दिनुपर्छ भन्ने सुझाव थियो । दोस्रो पुस्ताका नेताहरुले साथ नदिँदा युवाहरुको अनुहार हेरेरै माधव नेपालले पार्टी विभाजनको हिम्मत गरेका थिए ।

युवालाई प्राथमिकता दिनुपर्छ भनेर नेकपा एस निकट अनेरास्ववियूका नेताहरु त्यसका लागि लिखित सुझाव तयार पार्दै थिए । तर, उनीहरुको सुझाव खासै काम लागेन । खासगरि महासचिवको छनोटमा नेकपा एसभित्र गहिरो असन्तुष्टि छ । महासविचमा धेरै युवा नेताहरुको दावी थियो । उपाध्यक्ष बनेका राजेन्द्र पाण्डे प्रमुख आकांक्षी थिए । महासचिव नपाउँदा उनी असन्तुष्ट बनेका छन् ।

महासचिवलाई संगठक पनि मानिन्छ । देशदौडाहा पनि गर्नुपर्छ पार्टी संगठन विस्तारका लागि । पाका र बौद्धिक नेता बेदुरा भुसाल महासचिव चयन भएका छन् । उनको अनुभव र राजनीतिक त्याग आफ्नो ठाउँमा छ । तर, उनी कुशल संगठक होइनन् । उमेरका कारण पनि धेरै दौडधुप गर्न सक्दैनन् । महासचिवमा राजेन्द्र पाण्डेलाई नै धेरैले चाहेका थिए ।

पदाधिकारी मात्रै होइन, प्रदेश इन्चार्जहरु तोक्दा पनि त्यसमा माधव नेपालले ध्यान पुर्‍याउन नसकेको देखिन्छ । सातैवटा प्रदेशमध्ये धेरैमा उनले पाका नेताहरुलाई इन्चार्जको जिम्मेवारी दिएका छन् । प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत तोकिएका छन् । उनी उपाध्यक्ष समेत बनेका छन्। पूराना नेता बस्नेत दुई पटक सांसद भइसकेका छन् ।

त्यस्तै प्रदेश २ को इन्चार्ज धर्मनाथ प्रसाद साह तोकिएका छन् । उनी एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा केपी ओली प्यानलबाट उपाध्यक्षको उम्मेदवार भई पराजित भएका थिए ।

वागमती प्रदेशको इन्चार्जमा केदार न्यौपाने तोकिएका छन् । एकपटक राष्ट्रियसभा सदस्य भएका न्यौपाने पनि पुराना नेता हुन् । उनी नेकपा एसका ‘नेता’ बनाइएका मुकुन्द न्यौपानेका भाइ हुन् ।

गण्डकी प्रदेशको इन्चार्जमा केशवलाल श्रेष्ठ तोकिएका छन् । वामदेव गौतम निकट श्रेष्ठ नवौं महाधिवेशनमा केपी ओली प्यानलबाट सचिव उम्मेदवार थिए ।

माथि उल्लेखित सबै प्रदेश इन्चार्ज पार्टी उपाध्यक्ष पनि बनेका छन् । उनीहरुको पुरानो योगदान राम्रो भए पनि पछिल्लो समय खासै सक्रियता छैन । मिडियामा देखिइरहने र खासै जनाधार भएका नेताहरु पनि उनीहरु होइनन् ।

त्यस्तै लुम्बिनी प्रदेश इन्चार्जमा भागवत विश्वासी तोकिएका छन् । उनी भने पदाधिकारीमा परेका छैनन् ।

कर्णाली प्रदेशको इन्चार्जमा प्रकाश ज्वाला तोकिएका छन् । ज्वाला नेकपा एमालेमा विद्रोहको शुरुवात गर्ने पहिलो नेता हुन् । उनी उपमहासचिव समेत बनेका छन् ।

सुदूरपश्चिम प्रदेशमा भने इन्चार्ज तोकिन बाँकी छ । प्रदेश इन्चार्जहरुमध्ये ज्वाला मात्रै अलि युवा, खटिन सक्ने र जनतामाझ परिचित व्यक्तित्व हुन् ।

एमालेभन्दा फरक देखिने चुनौती

नेकपा एस बैचारिक र सांगठानिक दुवै हिसाबले नेकपा एमालेभन्दा खासै फरक छैन । तर, चाँडै स्थापित हुनलाई एमालेभन्दा फरक देखिनुपर्ने चुनौति नेकपा एसलाई छ । रुपमा र सारमा अर्को एमाले स्थापित हुन गाह्रो छ ।

तर प्रचार विभाग प्रमुख खतिवडा आफूहरु नीति र कार्यक्रमहरुमा भिन्न हुने दावी गर्छन् ।

‘हाम्रा केही नीतिहरु र कार्यक्रमहरुमा भिन्ता हुनेछन्,’ उनको भनाइ छ, ‘राजनीतिक दृष्टिकोणहरुमा भिन्नता हुने छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेले नेपालको कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवाद र विर्सजनवादतर्फ धकेलेको र कम्युनिष्ट पार्टीको चरित्र नै समाप्त पारिसकेको परिस्थितिमा हामीले कम्युनिष्ट आन्दोलनको रक्षार्थ विद्रोह गरेको कुरा धेरै पहिलेदेखि भन्दै आएका छौं ।’

नेकपा एस कत्तिको पृथक रहन्छ, यो भने अवको व्यवहारबाटै परिक्षण हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर