ओलीको कटाक्ष – महासभामा हिँडेका परराष्ट्रमन्त्री प्लेनमा घुर्दै, सोच्दै ! (भिडिओ) – Nepal Press

ओलीको कटाक्ष – महासभामा हिँडेका परराष्ट्रमन्त्री प्लेनमा घुर्दै, सोच्दै ! (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले हतारमा परराष्ट्रमन्त्री नियुक्त गरेर संयुक्त राष्ट्रसंघमा भाग लिन पठाएको विषयमा आलोचना गरेका छन् । बिनातयारी सुटकेसमा कपडा बोकेर हतारमा हिँडेका परराष्ट्रमन्त्रीले देशको सही प्रतिनिधित्व गर्न नसक्ने उनले बताए ।

काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा बोल्दै ओलीले भने, ‘तराईतिर भन्छन् नि, चट् मंगनी पट सादी । एउटा मन्त्री फ्याट्ट तोकिए । नियुक्त गरिए । हतार-हतार सपथग्रहण भयो । सुटकेस लिएर एयरपोर्ट । के ताल हो ? के प्रतिनिधित्व गर्ने, के बोल्ने ? के भन्न जाने ? कपडाको ब्याग बोकेर प्रतिनिधित्व हुन्छ ? खोइ तयारी ?’

उनले व्यंग्य कसे, ‘कपडा, टाइसुटले प्रतिनिधित्व हुन्छ ? प्लेनमा जाँदा सुतेर चिन्तन-मनन गर्ने हो ? विशिष्ट श्रेणीको सिटमा यसो ढल्केर, घुर्दै सोच्दै.. घुर्दै सोच्दै…। यो हालत छ देशको ।’

राष्ट्रसंघको महासभा छ भनेर सरकारले हिजोमात्रै थाहा पाएको ओलीले बताए ।

‘७५ दिनसम्म महासभा छ भन्ने थाहा नपाउने सरकार । हिजो झल्यास्स सम्झेछ । अस्ति सुरु भइसक्यो सरकारले हिजो बिहानै थाहा पाएछ । एकजना भाग्यमानीलाई च्याप्प समातेर नियुक्ति दिइयो, अनि सपथग्रहण… ’

एमालेसँग लड्नेहरूले एकताबद्ध भएर आउ पञ्चेगुट एकजुट भए आउ यत्तिकै लिरिखिरी पाराले । मन्त्रीमण्डल बनाउन नसक्ने एमालेसँग लड्ने धाक लाउने ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर