प्रचण्डको प्रश्न- मेरो निर्वाचन क्षेत्रमा केपीले राम, सीता र हनुमान राखिदिए, म कोसँग लड्नु ? (भिडिओ) – Nepal Press

प्रचण्डको प्रश्न- मेरो निर्वाचन क्षेत्रमा केपीले राम, सीता र हनुमान राखिदिए, म कोसँग लड्नु ? (भिडिओ)

'आउँदो चुनावमा जालझेल गर्ने र बाकस साट्नेलाई भ्याकुर लखेटे झैँ लखेट्नू'

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओली विचारको हिसाबले मार्क्सवादी र कम्युनिष्ट नभएको आरोप लगाएका छन् ।

विहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको भेलालाई सम्बोधन गर्दै उनले ओलीलाई ‘सामन्ती हिन्दू अतिवादी’ को संज्ञा दिए ।

‘तपाईंहरुले देख्नुभयो मैले १९ पृष्ठ लामो केपी प्रवृत्ति भनेको के हो भन्ने लेखेँ,’ प्रचण्डले भने, ‘विचारको हिसाबले यो मार्क्सवादी होइन, कम्युनिष्ट होइन । यो सामन्ती हिन्दू अतिवादी हो ।’

उनले थपे, ‘तपाईंहरूले जलहरी चढाएको त सुन्नुभयो । मेरो निर्वाचन क्षेत्रमा गएर राम, सीता, हनुमान राखिदिएका छन् । अब म राम, सिता, हनुमानसँग लड्न त जाने कुरा त आएन । अनि यो कम्युनिष्टले यस्तो काम गर्छ त ?’

वाईसीएललाई आक्रामक बन्न निर्देशन

प्रचण्डले वाईसीएललाई जाग्न र २०६४ सालको अवस्थामा सक्रिय हुन निर्देशन दिए । माओवादीलाई तर्साउन खोजिरहेको भन्दै उनले इँटको जवाफ पत्थरले दिनुपर्ने बताए । ‘जाइलाग्ने होइन, आइलागे पनि इँटको जवाफ पत्थरले दिने,’ उनले भने।

उनले अबको चुनाव २०६४ को जस्तै बनाउनुपर्ने बताए । ‘अबको चुनाव २०६४ को जस्तो बनाउनै पर्छ,’ उनले भने, ‘जालझेल गर्ने र बाकस साट्नेहरूलाई भ्याकुर लखेटेझैँ लखेट्नुपर्छ । सोझो हुँदै जाँदा हेपियो । गुण्डा र भ्रष्टहरुलाई ठोक्ने ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर