नेवानी महाप्रबन्धक पौडेलको टिप्पणी- अमुक स्वार्थप्रेरितको इसाराको आन्दोलनले निगमको हित गर्दैन – Nepal Press

नेवानी महाप्रबन्धक पौडेलको टिप्पणी- अमुक स्वार्थप्रेरितको इसाराको आन्दोलनले निगमको हित गर्दैन

काठमाडौं । नेपाल वायुसेवा निगममा आन्दोलनरत कर्मचारीले बुधबार साँझ अर्थ विभागका निर्देशक र महानिर्देशकलाई कार्यकक्षमा थुनी निगमको कोष अनधिकृत खर्च गर्न जबर्जस्ती हस्ताक्षर गर्न लगाएकोमा महाप्रवन्धक डिमप्रसाद पौडेलले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

तीन महिनादेखि निगममा अन्दोलित कर्मचारीले दुई महिनाको तलव नपाएको भन्दै हिजो बलजफ्ती कोषको रकम कर्मचारीको तलबका लागि बैंकमा ट्रान्सफर गर्न निर्देशक र उपनिर्देशकलाई दबाब दिएका थिए ।

पौडेलले विज्ञप्ति निकालेर यसरी रकम जबरजस्ती निकाल्न लगाउनु निगमको संगठनात्मक पद्धतिमाथि नै गम्भीर प्रश्न खडा भएको बताएका छन् ।

आफू मुख्य पदमा भएको संस्थामा काम गर्ने कर्मचारीको तलब कुनै पनि हालतमा भुक्तानी गराउने कुरामा प्रतिबद्ध भएको र दसैँअगाडि नै भुक्तानी गर्ने विषयमा छलफलसमेत भइरहेको पौडेलले बताएका छन् ।

तीन महिनादेखि निगममा भएको तीनवटा कर्मचारी संगठनको आन्दोलनले निगमको महत्वपूर्ण कामहरू ठप्प भएकोसमेत निगमको भनाइ छ । ‘सम्मुखमा आइरहेका नेपालीहरूका महान चाडपर्वहरूमा तलब वितरण गर्ने बजेटसमेत पारित हुन नदिने गरी गरिएका यस्ता आन्दोलनबाट कर्मचारी वर्गमा गम्भीर मर्का पर्न गएको त छ नै निगमको सेवालाई अविच्छिन्न राख्न अत्यावश्यक कामहरूसमेत ठप्प भएका छन्’, पौडेलले विज्ञप्तिमा भनेका छन् ।

‘कर्मचारी आन्दोलनका न्यूनतम मापदण्डसमेत ख्याल नगरी कार्यलयभित्र कर्मचारीहरु रहेको अवस्थामा बिजुली, पानी, टेलिफोन, इन्टरनेट काटिदिने जस्ता अमानवीय तथा अपराधजन्य कामहरू गर्ने, व्यवस्थापनको उच्च तहका कर्मचारीहरूलाई समेत कार्यलय प्रवेशमा रोक लगाइ निगमको दैनिक कार्य सन्चालनमा समेत वाधा पुर्‍याउनेजस्ता कारणहरूले यो आन्दोलन निगमको हितभन्दा पनि अमुक स्वार्थप्रेरित व्यक्तिहरुको इसारामा संचालित र कुण्ठाबाट प्रेरित भएको कुरा स्पष्ट हुन्छ’, पौडेलको टिप्पणी छ ।

आन्दोलनकारीले हिजो साउन र भदौको तलब निकासाका लागि निर्देशक र उपनिर्देशकलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएका थिए । आन्दोलनका कारण अहिले निगममा सञ्चालनक समितिको बैठक बस्न सकेको छैन । बैठकले नीति कार्यक्रम तथा बजेट पारित गर्न बाँकी छ । निगमका कर्मचारीले तलबवापत हाल मासिक करिब १७ करोड बुझ्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर