डीआईजीको नाम लिएर प्रहरी विद्यालयका शिक्षकसँग ६ लाख ‘डिल’ गर्ने महिला पक्राउ – Nepal Press

डीआईजीको नाम लिएर प्रहरी विद्यालयका शिक्षकसँग ६ लाख ‘डिल’ गर्ने महिला पक्राउ

जनकपुरधाम । प्रदेश २ प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारको नाम लिएर रकम ‘डिल’ गर्ने एक महिला पक्राउ परेकी छन् । सर्लाही घर भएकी सुशिला दाहाललाई विहीबार रौतहट प्रहरीले पक्राउ गरेको हो ।

रौतहट गरुडामा रहेको नेपाल प्रहरी विद्यालयका शिक्षक उदासकुमार पाण्डेलाई स्थायी गरिदिने आश्वासनमा उनले ६ लाखको डिल गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेले नेपाल प्रेसलाई बताए ।

ती महिलाले प्रहरी विद्यालयका प्रिन्सिपल, डीआईजी र अर्का एक व्यक्ति मिलेर स्थायी गराइदिने त्यसका लागि ६ लाख लाग्ने भनेर फोनमा शिक्षक पाण्डसँग गरेको कुराकानीको अडियो रेकर्डसमेत छ । केही मिनेट कुरा गरिसकेपछि डीआइजी सा’पको कल आयो भन्दै उनले फोन काटेकी छिन् । फोनमा शिक्षक पाण्डेले दाहाललाई दिदी भनेर सम्बोधन गरेका छन् ।

शिक्षक पाण्डे र पक्राउ परेकी दाहालबीचको कुराकानीले घटनामा डिआइजी रञ्जितकारलाई पनि शंकाको घेरामा तानेको भन्दै स्रोतले उनी डीआईजीकै सम्पर्कमा रहेकी र सोही कारण शिक्षक पाण्डे उनीसँग स्थायी गराउन वार्गेनिङका लागि तयार भएको बताएको छ ।

प्रहरी विद्यालयमा ५ वर्षदेखि करारमा कार्यरत पाण्डेले गत चैत १६ मा शिक्षक पदपूर्तिको लिखित परीक्षामा नाम निकालेका थिए । त्यसपछि उनी अन्तर्वार्तामा सहभागी भए । प्रदेश २ प्रहरी कार्यालयका डीएसपी छेदिलाल कामती, इन्सपेक्टरद्वय सुरेश अधिकारी र राजन ढकालले अन्तर्वार्ता लिएका थिए ।

टेलिफोन रेकर्ड पाण्डेले नै सार्वजनिक गरेको प्रहरी अधिकारीको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *