न्यूयोर्क टाइम्स अखबारविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, करबारेको सूचना चुहाएको आरोप – Nepal Press

न्यूयोर्क टाइम्स अखबारविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, करबारेको सूचना चुहाएको आरोप

न्यूयोर्क । कर सूचनाबारेका आफ्ना विवरण चुहाएको आरोप लगाउँदै अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफनै भतिजी पर्ने म्यारी ट्रम्पसहित द न्यूयोर्क टाइम्स अखबारका पत्रकारविरुद्ध न्यूयोर्क राज्य अदालतमा बुधबार मुद्दा दायर गरेका छन् ।

मेरी ट्रम्पले न्यूयोर्क टाइम्सलाई उपलब्ध गराएको भनिएको उक्त विवरणमा केही गैरकानूनी सम्झौता समेत संलग्न भनिएको छ । साथै, सन् २००१ मा भएको भनिएको ट्रम्प परिवारको एउटा पारिवारिक व्यवसायिक सम्झौताको पनि उल्लंघन भएको भनिएको छ ।

न्यूयोर्क टाइम्सका पत्रकारहरु सुसन क्रेग, डेभिड बास्र्टो र रस बिटनरलाई उक्त मुद्दामा विपक्षी बनाइएको छ । यसबारे उक्त अखबारले प्रकाशित गरेको समाचारले ट्रम्पको पारिवारिक सम्झौताहरुमा हस्तक्षेप गरेकाले क्षतिपूर्ति हुनुपर्ने माग गरिएको छ ।

आफूविरुद्ध नियतवश नै सूचना चुहाएको आरोप ट्रम्पले लगाएका छन् । साथै ट्रम्पले न्यूयोर्क टाइम्सका पत्रकारले आफूहरुको ब्यैक्तिक, व्यवसायिक र आर्थिक चरित्रलार्ई बदनाम गराउने प्रयास गरेको आरोप पनि ट्रम्पले लगाएका छन् ।

न्यूयोर्कको डचेज काउन्टीमा दायर गरिएको मुद्दाबारे पहिलोपटक डेली बिस्ट नामक अखबारले समाचार लेखेको थियो । न्यूयोर्क टाइम्सले एक विज्ञप्ति जारी गर्दै डोनाल्ड ट्रम्पको करबारेको समाचार कभरेज जनचासोको विषय भएको र समाचार एजेन्सीलाई मौन तुल्याउन उक्त मुद्दा दायर गरिएको जनाएको छ ।

ट्रम्पको आरोपको डटेर प्रतिवाद गर्ने पनि उक्त अखबारले उल्लेख गरेको छ । १८ महिना लामो ट्रम्पबारेको खोजमूलक पत्रकारिता गरेपनि तीन पत्रकारले पुलित्जर पुरस्कार पनि प्राप्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर