जीवन राईलाई केन्द्रीय सदस्य दिएर माधव नेपालले नेकपा एकीकृत र कलम चिह्न लिने ! – Nepal Press

जीवन राईलाई केन्द्रीय सदस्य दिएर माधव नेपालले नेकपा एकीकृत र कलम चिह्न लिने !

काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृतबीच एकीकरणको प्रस्ताव अघि बढेको छ । नेकपा एसका नेता राजेन्द्र पाण्डेले नेकपा एकीकृतका अध्यक्ष जीवन राईसमक्ष पार्टी एकताको प्रस्ताव राखिसकेका छन् ।

एमाले विवादको बेला माधव नेपाल समूहमा रहेका राईले त्यसबेला नेपालसहितका नेताहरुकै सल्लाहमा निर्वाचन आयोगमा नेकपा एकीकृत दर्ता गराएका थिए । अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएपछि पार्टीको राजनीतिमा लागेका उनी माधव नेपाल निकट मानिन्छन् ।

नेकप एकीकृतको चुनाव चिन्ह कलम छ । माधव नेपाल निकट खिमलाल देवकोटा राष्ट्रियसभाको उपनिर्वाचनमा कलम चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए । नेकपा एसले चुनाव चिह्न कलमसहित जीवन राईलाई समेट्न खोजेको छ ।

नेकपा एसको जारी केन्द्रीय कमिटी बैठमा पार्टीको नाम समेत परिवर्तन गर्ने विषय उठेको छ । नेकपा एकीकृत समजवादी अप्ठेरो हुने भन्दै एकीकृतमात्र राख्ने र जीवन राईलाई पार्टीमा उपयुक्त जिम्मेवारी दिनेबारे समेत नेताहरुबीच छलफल चलेको स्रोतले जनाएको छ ।

नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जारी केन्द्रीय कमिटी बैठकमा चुनाव चिन्हकाम विभिन्न विकल्पहरु प्रस्तुत भएको बताए । पार्टीको नामका बारेमा पनि कुराहरु आएको तर कुनै निर्णय नभएको उनको भनाइ छ ।

यता नेकपा एकीकृतका अध्यक्ष जीवन राईले भने आफू समक्ष पार्टी एकीकरणका लागि औपचारिक प्रस्ताव नआएको बताए । अनौपचारिक रुपमा आफू पनि हिजो एमालेमै रहेको र अहिले दुवै पक्षमा नरहे पनि माधव नेपाल निकट भएकाले विभिन्न ढंगले कुरा हुनु स्वभाविक रहेको बताए ।

राईले भने–माधव कमरेडसँग कुरा भएको छैन । अहिले म एमालेमा पनि छैन,नेकपा एकीकृत समाजवादीमा पनि छैन ।

स्रोतका अनुसार जीवन राईले नेकपा एसमा केन्द्रीय सदस्यको सुनिश्चितता खोजेका छन् । राईलाई केन्द्रीय सदस्य बनाउन नेताहरु पनि सकारात्मक छन् । त्यसो हुँदा पार्टीको नाम र चुनाव चिन्ह दुवै जीवन राईकै हुनसक्ने नेताहरुले बताएका छन् ।

संखुवासभा घर भएका राई विद्यार्थी आन्दोलनबाट स्थापित जुझारु नेता हुन् । उनको प्रभाव काठमाडौं क्षेत्र नम्बर ४ मा समेत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर